“खेत बेचेर पाइलट बनेका छन् तर हवाइजहाज छुन पनि पाउँदैनन् ” : प्रधानमन्त्री ओली

KP Sharma Oli-1
रासस न्यूज

काठमाडौं, १७ असार । “खेत बेचेर पाइलट बनेका छन् तर हवाइजहाज छुन पनि पाउँदैनन्। पढेको प्रमाणपत्र काम नलागेपछि ऊ समाजमा हेपिन्छ।”

मुलुकका शैक्षिक बेरोजगारी र जनशक्ति प्रक्षेपणबीचको तालमेलन नमिलेकामा लक्षीत गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भने, “हलो जोतेर खाने खेत पनि छैन। हवाइजहाज पनि छैन।”पाइलटका लागि मुलुकमा आवश्यकभन्दा बढी जनशक्ति भएकाले उनीहरुले तत्कालै रोजगारी नपाउने स्थिति नभएको प्रधानमन्त्री केपी शर्मा ओलीको जिकिर थियो।

शिक्षाशास्त्र धेरैले पढे पनि उत्पादित जनशक्ति शिक्षण पेशामा खपत नभएको उल्लेख गर्दै उनले भने, “तालीमहरु चलाउँदा कामसँग जोडेर दिनुपर्छ। रोजगारी, उत्पादन र आवश्यकतासँग नजोडिएको शिक्षा काम लाग्दैन। काम लाग्ने दक्ष जनशक्ति उत्पादनमा हाम्रा विश्वविश्वविद्यालयहरु लाग्नुपर्छ।” पोखरा विश्वविद्यालयको २० औं साधारणसभालाई सम्बोधन गर्र्दै विश्वविद्यालयका कुलपति प्रधानमन्त्री ओलीले राष्ट्रिय नीति र योजनानुसार विश्वविद्यालयले नीति, कार्यक्रम र योजना अघि सारेर समृद्धिको लक्ष्यलाई सघाउनुपर्नेमा जोड दिए।

विश्वविद्यालयका पदाधिकारीलाई उनले निर्देशन दिँदै भने, “अन्धाधुन्ध सम्बन्धन नदिनुस् । जहाँ नाफा हुन्छ, त्यहाँ कलेज खोल्ने होइन, कहाँ के विषय आवश्यक छ भन्ने आधारमा निर्णय गर्नुस्। शिक्षाशास्त्रको स्वीकृति माग्न आए नदिनुस्। सम्झाएर पठाउनुस् । अर्को विषय पढ्न भन्नुुुस्। प्राविधिक विषयमा जानुुस्।” कतिपय विश्वविद्यालयले आर्थिक चलखेलका आधारमा आवश्यकताको पहिचान नगरी सम्बन्धन दिएको पाइन्छ।

जनशक्ति प्रक्षेपणसम्बन्धी कार्यदलले आइतबार मात्रै प्रधानमन्त्री ओलीलाई प्रतिवेदन बुझाएको थियो।उनले सो प्रतिवेदन अध्ययन गरी लागू गरिने जानकारी दिँदै त्यसैका आधारमा विश्वविद्यालयको शैक्षिक कार्यक्रम आउनुपर्ने बताए। उनले उन्नत परिपाटी अपनाएर आजको दुनियाँको प्रतिस्पर्धी स्तरमा विकास गर्ने प्रकारको पद्धति र नीतिका आधारमा राष्ट्रिय आवश्यकता र आकाङ्क्षा पूरा गर्ने शैक्षिक पात्रो र विधि लागू गर्न पनि आग्रह गरे। “कृषि पढाउने हो भने खेतबारीमा पढाउनुस् । मत्स्यपालन पढाउनु छ भने पोखरीमा विद्यार्थीलाई लानुस् ।”

प्रधानमन्त्री ओलीको प्रश्न छ, “भारी बोक्नेले भारी बोकेर खान्छ, जब ऊ विश्वविद्यालय जान्छ, गिटी कुट्न छाड्छ। मैले एक पटक प्राध्यापकहलाई भनेको थिएँ, तपाईँहरुका हातमा परेपछि विद्यार्थी बेरोजगार हुन्छन्। यस्तो अवस्था किन हुन्छ ?”कुलपति ओलीले लाखौं जनशक्ति विदेश गइरहेको तर शिक्षा, सीप र दक्षताको आवश्यकता भएको युवाशक्तिको समुचित रुपमा प्रयोग हुन नपाएको जनाउँदै सस्तो श्रम बजारमा युवा जानु दुःखद् भएको उल्लेख गरे। “यसलाई बदल्ने योजना बनाउने ठाउँ विश्वविद्यालय नै हो। नेपाल विश्वविद्यालय स्थापनामा केही पछि परेको छ तर विश्वमा विश्वविद्यालय खुल्नुभन्दा अगाडि नेपाल नै ज्ञानको केन्द्र थियो। त्यस्ता ज्ञान र सीपलाई राष्ट्र निर्माणमा उपयोग गर्न सकिएको छैन। अब यो बदल्नुपर्छ ।”

सो अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति गिरिराजमणि पोखरेलले पनि जनशक्तिको प्रक्षेपण र प्राविधिक शिक्षाको प्राथमिकताका आधारमा नीति ल्याउन विश्वविद्यालयलाई आग्रह गर्दै अव्यवस्थित जनशक्ति उत्पादन हुने प्रकारले नजान आग्रह गरे।विश्वविद्यालयका उपकुलपति चिरञ्जिवी शर्माले प्रस्तुत गरेको विश्वविद्यालयको आगामी आर्थिक वर्षको नीति कार्यक्रमलाई सहकुलपति पोखरेलको निर्देशनानुसार आउँदो कार्यकारी परिषद् बैठकले पारित गर्ने भएको छ। उपकुलपति शर्माको कार्यकाल दुई महिना बाँकी छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्