सरकारी कार्यालयमा बादँर पुगेपछि…

लाेकपाटी न्यूज
0 Shares

पछिल्लो समय भारतको केन्द्रीय सरकारी कार्यालय बाँदर आतङ्कले हैरान भएको छ। प्रधानमन्त्री भवनदेखि सबै प्रमुख मन्त्रालयहरुमा बाँदरका सेनाले कब्जा जमाउन थालेपछि सरकारी अधिकारीहरुलगायत सर्वसाधारण समेत त्रासमा बस्नु परिरहेको बताइएको छ।

यसरी बाँदरहरुले दिनहुँ खानेकुराहरु खोस्नेदेखि पावर लाइनहरु भाँच्ने र झ्यालबाट महत्वपूर्ण डक्युमेन्ट समेत खोसेर च्यात्ने अनि भाग्ने गरेको गृह मन्त्रालयका एक कर्मचारीले बताएका हुन्। वास्तवमा तीव्र शहरीकरणले नै बाँदरहरुलाई विस्थापित गराइरहेको हुँदा उनीहरु खानाका निम्ति मानव वस्तीमा पस्न बाध्य भएको बताइएको छ।

 यस्तोमा भारतीय निकायले यस समस्याबाट राहत पाउनकै लागि बाँदरहरु डराउने लंगुरको प्रजातिको भेष बदल्ने मानिसलाई समेत राख्ने गरेको छ। तर जस्तोसुकै उपाय अपनाएपनि तिनीहरु केही समयमै फेरि फर्केर आउने गरेको पाइएको छ। वास्तवमा हिन्दु धर्म मान्नेहरुले बाँदरलाई भगवान हनुमानका रुप मान्ने हुनाले तिनलाई खुवाउने गरेका छन्। यस्तोमा बाँदरहरु मानिससँग डराउन छाड्ने हुँदा तिनलाई धपाउन झन कठिन बन्दै गएको बताइएको छ।

यसरी बाँदरको जनसङ्ख्या बढ्दै जानुले तिनीहरु र मानिसबीचको झडप पनि उत्तिकै बढाइरहेको छ। गत नोभेम्बरमा मात्र एउटा १२ दिने शिशुको बाँदरको टोकाइकै कारण मृत्यु भएको थियो। त्यस्तै अक्टोबरमा पनि एक ७५ वर्षीय वृद्धले बाँदरको आक्रमणकै कारण ज्यान गुमाएका थिए। -एजेन्सी

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्