सिंगापुरबाट फर्केपछि प्रदेश २ मा किन जाँदै छन् प्रधानमन्त्री ?

PM_KP_Oli
लाेकपाटी न्यूज

काठमाडौं, १७साउन। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ को बाढी प्रभावित क्षेत्रको भ्रमणमा जाने भएका छन्। राहत र पुनर्स्थापनामा प्रभावकारी काम हुन नसकेको गुनासो आएपछि प्रधानमन्त्रीले उक्त क्षेत्रको भ्रमण गर्ने भएका हुन्। साथमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल पने जाने बताइएको छ।

बाढी पीडितका गुनासो बोकेर बालुवाटर पुगेका प्रदेश २ का सांसदहरुले त्यहाँको स्थितिबारे प्रधामन्त्रीलाई जानकारी गराएका थिए। उनीहरुका गुनासा सुनेपछि प्रधानमन्त्री ओलीले बाढी प्रभावित क्षेत्रको भ्रमणमा जाने आश्वस्त पारेका थिए।

उक्त टोलीमा रहेका नेकपा प्रदेश २ का सहसंयोजक विश्वनाथ साहले भने, ‘प्रदेश २ मा बाढी र कटानले धनजनको बढी क्षति पुर्‍याएको तर प्रभावकारी रुपमा राहत र पुनर्स्थापना हुन नसकेको गुनासो प्रधानमन्त्रीसमक्ष राखेका छौं। सिंगापुरबाट फर्केपछि उहाँले प्रदेश २ को स्थलगत भ्रमण गर्ने बताउनु भएको छ।’

प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य जाँचको लागि सिंगापुर जान लागेका छन्। सिंगापुरबाट फर्केपछि प्रदेश २ को बाढी प्रभावित क्षेत्रमा पुग्ने प्रधामन्त्रीले आश्वासन दिएको साहले बताए। उनका अनुसार नेकपाका अर्का अध्यक्ष दाहाललगायत पार्टीका नेता पनि स्थलगत भ्रमणमा सामेल हुनेछन्।

शनिबार बिहान साहसहित प्रदेश २ का संयोजक सुमन प्याकुरेल, अध्यक्ष प्रभु साह, कल्याणी खडकालगायत आधा दर्जन बढी सांसद बालुवाटार पुगेका थिए। बाग्मती, बकैया, कमलालगायतका ठूला नदीले बर्सेनी कटान गर्ने गरेको तर दीर्घकालिन सोच नराखी तटबन्ध गर्दा नदी नियन्त्रण हुन नसकेको गुनासो नेकपाका प्रदेश नेता तथा सांसदको टोलीले गरेको थियो।

प्रदेश सरकारले बाढी पीडितलाई राहत दिन नसकेको तथा राहतमा तराई मधेसकेन्द्रित दलका नेता कार्यकर्ताले हिनामिना गरेकोसमेत टोलीका नेताहरुले गुनासो गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्