रोजिना श्रेष्ठको अनुभव, ‘कुन सेलिब्रेटी कति, फेसन कन्सस ?’

लाेकपाटी न्यूज
0 Shares

रोजिना श्रेष्ठ, यो नामलाई चिन्ने अर्को उपमा हो, कायरा बुटिक । शहरका चल्तापूर्जा ब्रान्ड हो, कायरा बुटिक । तर, ७ बर्षअघि फेसनको दुनियाँमा प्रवेश गरिरहँदा रोजिनालाई लागेको थिएन, फेसनको संसार यति आयमिक छ । जसै उनी फेसनवृत्तमा छाइन्, यसका लम्बाई-चौडाई राम्ररी अनुभव गर्ने मौका पाइन् ।

जहाँ पनि बुटिक, जस्तो पनि बुटिक । हरेक सटरमा बुटिक । एउटा स्विङ मेशिन राखेर बोर्ड झुन्ड्याए भो, फलानो बुटिक । यस्तो भिडभाडमा एउटा नयाँ ब्रान्डलाई वास्तवमै बुटिकको रुपमा स्थापित गर्न सजिलो छैन । त्यही असजिलो काम गरेर रोजिनाले आफ्नो ब्रान्ड चिनाइन् ।

सेलिब्रेटीका डिजाइनर

रोजिनाको हातबाट तयार पहिरन नलगाउने नेपाली सेलिब्रेटी सायदै होलान् । खासगरी चल्तापूर्जा सेलिब्रेटीले उनको डिजाइन रुचाए । कलाकर्मीको संगतबाट उनले के थाहा पाइन् भने, कसलाई कस्तो डिजाइन खुल्छ ? कस्तो रंग सुहाउँछ ?

नेपाली सेलिब्रेटीको नाम लिएर, कुन सेलिब्रेटीलाई कस्तो पहिरन उपयुक्त हुन्छ भनेर सोधौं, जवाफ उनको मुखमै झुन्डिएको छ । उनी फटाफट भन्न सक्छिन्, भूवन दाईलाई यस्तो कलर खुल्छ, दीपा श्री दिदीलाई यस्तो स्टाइल राम्रो देखिन्छ, दीपिकालाई (प्रसाईं) यस्तो डिजाइन राम्रो देखिन्छ ।

हुन पनि उनले सात बर्षे करियरमा सबैजसो सेलिब्रेटीको आङ नाप्ने मौका पाइन् । यसबीचमा उनले सेलिब्रेटीको फेसन सेन्स कस्तो छ भन्ने कुराको भेउ पाइन् । उनी भन्छिन्, ‘सेलिब्रेटीलाई फेसन सेन्स हुनुपर्छ, तर कतिपय सेलिब्रेटी फेसनमा त्यती ख्याल राख्दैनन् ।’

सेलिब्रेटीहरु फेसनको पारख त गर्न खोज्छन्, तर ढंग पुग्दैन । भुवन केसीको हकमा भने कुरा फरक छ । उनी यस्ता अभिनेता हुन्, जसलाई फेसनको बारेमा अधिक ज्ञान छ । रोजिना भन्छिन्, ‘भुवन दाई कुनै डिजाइनको कुरा गर्न आउनुभएको छ भने पुरा माइन्ड मेकअप गरेर आउनुहुने । जब उहाँ यस्तो डिजाइन बनाउनुपर्छ है भन्दै मलाई कन्सेप्ट सुनाइरहनुभएको हुन्थ्यो, ‘वाउ’ भन्ने लाग्थ्यो ।’

भूवन परिहनको बारेमा यति ख्याल राख्छन् कि, उनलाई कस्तो डिजाइन, कसलाई सुहाउँछ, कसरी लगाउनुपर्छ भन्ने कुराको एकदमै ख्याल छ । यो कुरा त भुवन पुत्र अनमोल केसीले पनि अनलाइनखबरसँग भनेको थियो । अनमोलले सुनाएको थियो, ‘मलाई भन्दा बढी उहाँलाई स्टाइल थाहा हुन्छ । कुन लुगा कसरी लगाउने भन्ने कुरा उहाँले नै सिकाउनुहुन्छ ।’

पछिल्लो समयकी चल्तीकी अभिनेत्री दीपिका प्रसाईं पनि फेसनको मामलामा निकै सचेत रहेको रोजिनाको बुझाई छ । ‘दीपिका फेसन कन्सस छिन्’ रोजिना भन्छिन्, ‘उनको जिउडाल पनि छरितो र राम्रो छ ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्