अमेरिका र तालिबानबीच वार्ता जारी, यी विषयमा हुँदैछ छलफल

pic 1
लाेकपाटी न्यूज

एजेन्सी। संयुक्त राज्य अमेरिका र अफगानी विद्रोही समूह तालिबानबीच आइतबार कतारको दोहामा वार्ता हुँदैछ। अफगानिस्तानमा १८ वर्षदेखि जारी सशस्त्र एवं हिंसात्मक द्वन्द्वको शान्तिपूर्ण समाधान खोज्न केही महिनादेखि अमेरिका र तालिबान समूहबीच वार्ता जारी छ।

अमेरिकी फौजले सन् २००१ मा अफगानिस्तानको तालिबान सरकार पदच्यूत गरेयता अफगानिस्तानमा भिषण युद्ध भइरहेको छ। शान्ति सम्झौता पश्चात् अमेरिकाले अफगानिस्तानमा तैनाथ आफ्नो फौज फिर्ता लैजाने तयारी गरिरहेको छ।

अमेरिकाले तालिबान समूहले आतंकवादी संगठन अल–कायदा त्याग्नु पर्ने तथा इस्लामिक स्टेटजस्ता आतंकवादी संगठनका सदस्यहरुका लागि तालिबानले संरक्षण गर्न नहुने पूर्वशर्त राखेको छ। अमेरिका र तालिबानबीच शनिबार शुरु भएको यो आठौं चरणको वार्ता हो। अमेरिकी र तालिबानी स्रोतले यस पटकको वार्ता शनिबार र आइतबार बस्ने जनाएको छ।

तालिबानी एक स्रोतले अफगानिस्तानका लागि अमेरिकी विशेषदूत जाल्मे खलिलजाद र तालिबानका सहसंस्थापक मुल्लाह बरादरबीच प्रत्यक्ष भेटवार्ता गराउने तयारी भइरहेको बताएको छ। बरादरले तालिबानको राजनीतिक फाँटको नेतृत्व गरिरहेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै वार्तामा धेरै प्रगति भएको र वार्ता अझै जारी रहेको बताएका छन्।

अमेरिकी विशेषदूत खलिलजादले पनि शुक्रबार नै ट्वीट गरी तालिवानी समूहसँग शान्ति सम्झौताका लागि प्रयास भइरहेको बताएका छन्। उनले तालिबानसँग तत्कालै अमेरिकी सेना फर्कने बारेमा सम्झौता नहुने पनि स्पष्ट गरे। तर शान्ति सम्झौता पश्चात अमेरिकी सेना फर्कन थाल्ने उनले बताए।

दोहा वार्ता शुरु हुनुअघि विशेषदूत खलिलजाँदले पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग इस्लामाबादमा भेट गरी छलफल गरेका थिए। अर्कोतर्फ तालिबानसँग वार्ताका लागि अफगान सरकारले पनि अलग्गै वार्ता टोली गठन गरेको छ।

अमेरिकी अखबार वासिङ्टन पोष्टका अनुसार अमेरिका र तालिबानबीच अफगानिस्तानमा तैनाथ अमेरिकी फौजको संख्या तत्कालै १४ हजारबाट घटाएर ८ हजार बनाइने तयारी भएको छ। यसको बदलामा तालिबानले अल–कायदा संगठनसँगको आबद्धता त्याग्ने, युद्धबिराम गर्ने र अफगान सरकारसँग वार्ता थालनी गर्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्