रमेश भुषाल / नवलपरासी, ६ भदौ। कृष्णजन्माष्टमीको अवसर पारेर पश्चिम नवलपरासी सुनवल ४ रमवापुर स्थीत श्रीकृष्ण धाममा महायज्ञ तथा मेला अयोजना गरिएको छ। भक्तजनहरुको घुँइचो नै लाग्ने विश्वकै अग्लो कृष्ण मुर्ति रहेको श्रीकृष्ण धाम सुनवलमा कृष्णजन्माष्टमीको दिन श्रीकृष्ण भगवानको विशेष पुजाआरधाना हुने भएकाले सम्पुर्ण भक्तजनहरुलाई पुजआराधनाको निम्ती निमन्त्रणा समेत गरिएको महायज्ञ तथा मेला आयोजक समितका अध्यक्ष वालकृष्ण पंगेनीले बताए।
कृष्णजन्माष्टमीलाई सातम, आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती र साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ। भगवान विष्णुको आठौं अवतारको रूपमा श्री कृष्णको जन्मदिनको अवसरमा हिन्दूहरूले मनाइने वार्षिक पर्व हो। कृष्णा जन्माष्टमीमा हिन्दूहरूले भगवान श्री कृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक मनाउँछन्।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले श्रीकृष्णजन्माष्टमीको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ।जन्माष्टमीका दिन अधिराज्यका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा आराधना, प्रवचन, भजन कीर्तन गर्नुका साथै विशेषगरी महिलाहरू व्रत बसी रातभर जाग्राम बस्ने चलन छ।