Spread the love
  • 47
  •  
  •  
  •  
  •  
    47
    Shares

साम्राज्यवाद के हो, ढल्छ कसरी ?

0

दिनेश लिम्बु

नेपालीमा किम्वदन्ती छ, ‘ब्रह्माजीले सृष्टिमा सबैभन्दा सुन्दर मानव बनाउनु भयो । तर, मानवभन्दा अझै सुन्दर बनाउन खोज्दा ऊँट बन्यो ।’ नवउदारवादलाई एकमात्रैै निर्विकल्प र अपराजित लोकतन्त्र वा प्रजातन्त्र भएको खुवै प्रचार गर्दै भजन–किर्तन गर्ने साम्राज्यवाद अन्ततः ‘टाइटानिक’ पानीजहाज जसरी दुर्घटनाको सम्भावित यात्रा तय गरिरहेको छ ।

संविधानको सर्वोच्चता, विधिको शासन, शक्ति पृथकीकरणको सिद्वान्त, मानवअधिकार, प्रेस स्वतन्त्राजस्ता लोकतान्त्रिक मूल्य र प्रजातान्त्रिक राजकीय निकायहरूलाई फाँसीवादीकरण गरिँदैछ । स्वतन्त्र व्यापार नीति, संरक्षण नीति, डब्लुटिओ, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्राकोष लगायत संस्थाहरूलाई ब्याजको कुपन काटेर गरीब देशहरूलाई लुट्ने दलालहरूको यूनियन बनाएका छन् । (क्योटो सन्धि) र आणविक हातहतियार निस्शस्त्रीकरण सम्बन्धी कानून अमेरिकाले मान्नु पर्दैन । किनकि उसको खिलाफ दुनियाँको ‘दैव’ पनि निरीह छ ।

अब नवउदारवादको राजनीतिक, आर्थिक, वैचारिक र सांस्कृतिक अवयवहरू विश्वका ८० प्रतिशत मानिसका लागि काम नलाग्ने भएको त छ नै, स्वयं साम्राज्यवादीका लागि पनि बेकामे भएको छ । सायद यही नवउदारवादको प्रणालीगत संकटको भयले हुनसक्छ, डोनाल्ड ट्रम्पले एडम स्मिथको (लेसेज फेयर नीति) फेरि पनि फालेर सन् १९८० तिरको किन्सको (संरक्षणवाद) को थोत्रो औजार बोकेर मित्रदेश र शत्रुदेशसँग एकैपटक तथाकथित ‘व्यापार युद्ध’ लड्दैछन् । यो युद्धले साम्राज्यवादको उत्थान होइन, पतन निश्चितप्रायः छ ।

हरेक विज्ञानले प्रमाणित गरेको तथ्य के भने भौतिक संसार वा वस्तुको ‘कन्भर्ट’ हुन्छ । तर, ‘रिबर्थ’ हुँदैन । जस्तै, आदिम मानव समाज दास समाजमा रूपान्तरण भयो, दास समाज सामन्ती समाजमा र सामन्ती समाज फेरि पूँजीवादी समाजमा रूपान्तरण भएको पाँच सय वर्षको अवधिमा वर्तमान पूँजीवादले साम्राज्यवादी चरित्र ग्रहण गरिसकेको छ । यो भनेको पूँजीवादी व्यवस्थाको बृद्वाअवस्था हो ।

मिति पुगिसकेको सारा वस्तुले आफ्नो अस्तित्व र आवश्यकतााको अधिकारबाट हात पखाल्नै पर्छ । वस्तुगत आवश्यकताले उ मृत्युको घाटमा जानैपर्छ । अजम्बरी वा पुनर्जीवन केही पनि छैन, मात्रै रूपान्तरित जीवन छ । माक्र्सवादी कम्युनिष्टहरूको चाहाना भनेको बुढो साम्राज्यवादी व्यवस्था विना संघर्ष, शान्तिपूर्ण तरीकाले मृत्युको घाटमा जाओस्, यसो भएमा पूँजीवाद सहज ढंगले समाजवादमा रूपान्तरण हुन्छ । यद्यपि, इतिहासमा कतै पनि यस्तो अपवाद भएको पाइँदैन ।

वर्गीय स्वार्थ, बल प्रयोगको सिद्वान्त र वर्गीय अधिनायकत्वबाट नै उत्पादन सम्बन्ध र उत्पादन शक्तिको रूपान्तरण भएको छ । यो नियम दास, सामन्ती, पूँजीवादी र समाजवादी सबै युगको हकमा अनिवार्य शर्त हो । हरेकले एक–अर्काविरूद्व बल प्रयोग गरेका छन् । यसर्थ, पनि यसले के प्रमाणित गरिदिएको छ भने, दुई सय वर्ष अगाडि माक्रसले गरेका पूँजीवादी संकटबारे सैद्वान्तिक विश्लेषण र लेनिनले साम्राज्यवादबारे गरेका विश्लेषण झनै वस्तुवादी सावित भएको छ । यसकारण पनि मार्क्सवादी विज्ञान वर्तमान विश्व राजनीतिक, आर्थिक तथा सांस्कृतिक संकटबारे विश्लेषण गर्न सबैभन्दा यथार्थपरक छ ।

माक्र्सवादी विश्लेषणलाई लिएर वर्तमान राजनीतिक अर्थशास्त्रको क्षेत्रमा नाम कहलिएका अर्थशास्त्रीहरू एस.मिल, अल्फेड, मार्शल, हेलब्रोनर, अमात्र्य सेन र किन्सजस्ता विख्यातहरूले सैद्वान्तिक गल्ती सावित गर्न सकेनन् । बरू, माक्र्सको प्रशंसा गरिरहेका छन् । सोभियत समाजवादको अस्थायी हार हुँदा ‘विचारधाराको मृत्यु’, ‘इतिहासको अन्त्य’ भएको घोषणा गर्दै उत्सव मनाउनेहरू अहिले संकटग्रस्ट साम्राज्यवादी व्यवस्था कसरी बचाउन सकिन्छ भनेर रातदिन उपचारको विधिमा सक्रिय भएका छन् । तर, अहँ, मक्किएको तरबार रेटेर शरीर थकाउनेभन्दा अरू ‘माखोे’ मारेका छैनन् ।

जहाँसम्म ‘सोभियत समाजवाद असफल हुनु भनेको मार्क्सवाद असफल हुनु हो भनिँदैछ, यो गलत हो । यो चार दशकमा धेरै वैज्ञानिक प्रयोगहरू असफल भए । जस्तै, सन् १९०५ सापेक्षतावादको सिद्वान्तसँगै आइन्स्टाइनको समीकरण अगाडि आयो । तर सन् १९४२ को दशकतिर मात्रै ‘जुलियस’ वैज्ञानिक अणुलाई ऊर्जामा रूपान्तरण गर्न सफल भए । यो सापेक्षतावादको शुत्र गलत भएर होइन, मात्रै प्रयोगमा जटिलताहरू थिए ।

त्यस्तै सोभियत समाजवाद पनि तीन सय पचास वर्षको पूँजीवादसँगको हार थिएन, त्यो त केवल करीब पाँच हजार वर्षदेखि अस्तिस्वमा रहेको निजी स्वामित्वसँग संघर्षको जटिल मोड मात्रै थियो । प्रारम्भिक अभ्यासहरू प्रायः असफल नै भएका छन् । क्रामबेलको क्रान्ति पनि सुरूमा असफल नैै भएको थियो । अब २१ औं शताब्दीमा नेपालबाट फेरि समाजवादको परीक्षण हुँदैछ ।

मूख्य चीज सोभियत समाजवाद ढालेपछि पूँजीवादले समाजवादले दिन नसकेको कुन चाहिँ नयाँ विश्व व्यवस्थाको मुल्य मान्यता र आदर्श दियो त ? के युद्वबिहीन नयाँ मानव सभ्यता दियो त ? संयुक्त राष्ट्रसंघ मानव विकास प्रतिवेदनअनुसार अविकसित देशहरूमा विश्व जनसंख्याको ७५ प्रतिशत मानिस बसोबास गर्दछन् र यो मानिससँग संसारको कुल धनको २० प्रतिशत धन मात्रै छ । बाँकी ८० प्रतिशत धन २५ प्रतिशत महाजन बस्ने विकसित देशहरूमा दोहन गरेर थुपारिएको छ ।

श्रम र पूँजी, अन्तरसाम्राज्यवादी देश बीचको अन्तरविरोध कहाँ समाधान भयो ? उत्पीडित राष्ट्र र साम्राज्यवादी देश बीचको अन्तर्विरोध कहाँ हल भयो ? स्थिरता, समानता, स्वतन्त्रता मानवधिकार र शान्तिको बाचा गरेर समाजवादी व्यवस्था ढाल्ने साम्राज्वादी देशहरूले नै दुनियाँमा लोकतन्त्रको नाममा जनसमुदायको नरसंहार, हत्या, हिंसा, आतंक, लुट र दमनका विभिषिका चलाएका छन् ।

अब यो दोहनकारी युद्वको रणक्षेत्र दक्षिणपूर्वी एसिया हुने निश्चित छ, जवकि अहिले रसियनहरू पनि पूँजीवादले आफ्नो आयु ५८ वर्षमा खुम्च्याई दिएकोमा दुखी हुँदै, पूर्वसमाजवाद सम्झिरहेका छन् । यसर्थ, अबको विश्व व्यवस्थाको विकल्प समाजवाद अनिवार्य सर्त हो । ब्यालेटको अवसर दिइन्छ भने ‘ब्यालेट’ बोकेर, त्यस्तो हैन, ‘बुलेट’ बोक्न बाध्य पारिन्छ भने बुलेट बोकेरै भएपनि साम्राज्यवादलाई समाजवादमा रूपान्तरण गरेर पृथ्वी र प्राणी जगतको रक्षा गर्दै विश्व व्यवस्थाको पुनर्संरचना गरेर वास्तविक समानता, स्थिरता, शान्ति, सुखी र समृद्व समाज, उन्नत वैज्ञानिक चेतनायुक्त वैज्ञानिक समाजवाद निर्माण गर्नु कम्युनिष्टहरूको मात्र दायित्व होइन, आम मानव जातिको ऐतिहासिक आवश्यकता हो ।

सामाजवादले धनीहरूको सम्पत्ति खोसेर गरीबहरूलाई बाँडफाँड गर्दैन । किनभने मार्क्सले सबै धनसम्पति, पैसा, उत्पादनका भौतिक साधनहरू ‘पूँजी’ हुँदैनन् भन्नुभएको छ । अतिरिक्त मुनाफाबाहेक, सबै सम्पत्ति मानवीय आवश्यकताका वस्तु हुन्छन् । सामाजिक माग र पूर्तिका आधारमा उत्पादन बढाउने हो, खोस्ने होइन । निजी स्वामित्व खोसेर मजदुर सर्वहारा वर्गले हडप्दैनन्, सार्वजनिक स्वामित्वमा बदल्छन् ।

(लेखक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कास्की जिल्लाका नेता हुन् ।)

Spread the love
  • 47
  •  
  •  
  •  
  •  
    47
    Shares
You might also like
Comments
Loading...