रवि र अस्मिताकाे मत बाझियो, म्याद अझै थपिन सक्ने

Rabi-Lamichhane-1
लाेकपाटी न्यूज

चितवन, ७ भदाै । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीको हिरासत बसाइ अझै लम्बिन सक्ने देखिएको छ ।

अनुसन्धानका बाँकी काम नसकिएकाले फेरि तेस्रो पटक म्याद थप हुने सम्भावना बढिरहेको स्राेतले जनाएकाे छ।  स्राेतका अनुसार फेरि म्याद थप हुने सम्भावना ९० प्रतिशत रहेको छ । अभियोगपत्र समेत तयार नभएकाले तिनै जनाको म्याद थपिने सम्भावना रहेको छ ।

सरकारले २५ दिनभित्र सम्बन्धित विषयको अनुसन्धान अनिवार्य सकाउनुपर्छ । घटनास्थल वरपरका व्यक्तिहरुको बयान, डोरी किनेको पसल सञ्चालकको बयान लिइरहेको साथै अन्य प्रमाणहरु संकलन गर्ने र अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले बताएको छ ।

पोष्टमार्टम रिपोर्ट, डोरी किनेको सीसीक्यामराको फुटजलगायतका विभिन्न कारणले आत्महत्या नै हो भन्ने पुष्टि हुने अवस्था रहेको छ । यसलाई अदालतले फाइनआउट गर्न मात्रै बाँकी रहेको बताइएकाे छ।

यसैबीच न्यायिक हिरासतमा रहेका रवि लामिछाने र अस्मिता कार्कीले दिएकाे बयानमा उनीहरुबीचकाे मत बाझिएको छ । उनीहरुले दिएको बयानमा दुई जनाको मत आपसमा बाझिएको चितवन वार एशोसिएसनका पूर्वअध्यक्ष समेत रहेका अधिवक्ता गोपीलाल देवकोटाले बताए।

उनका अनुसार अस्मिताले आफ्नाे कारणले नभई रवि र युवराजका कारण आत्महत्या गरेको हो भनी बयान दिएकी छन्। देवकाेटाका अनुसार बयानमा अस्मिताले मेरो कारणबाट शालिकरामले आत्महत्या नगरेको जिकिर गरेकी छन् । अस्मिताले बयानमा आफ्नाे र शालिकरामको सम्बन्ध राम्रो रहेको र आफूले शालिकरामलाई विवाहित हुनुहुँदो रहेछ भनेर एक पटक मात्रै सोधेको बताएकी छन्।

रविले पनि बयानमा आफ्नाे कारणले घटना नघटेको दावी गरेका छन्। रविले आफूले अस्मितालाई प्रहरी नियन्त्रणमा आएपछि मात्रै देखेको बताएका छन् भने अस्मिताले यसअघिबाटै चिनजान रहेको बयान दिएकी छन् । रवि र अस्मिताकाे फरक–फरक मत रहेको अधिवक्ता देवकोटाले बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्