विश्वको सबैभन्दा ठूलो जंगलमा आगलागी, सबै सहर धुवाँले ढाकिए

Amejan
लाेकपाटी न्यूज

एजेन्सी । विश्वको सबैभन्दा ठूलो अमेजन जंगलमा एक आगलागी भइरहेको छ । एक सातादेखि अमेजन जंगलमा आगलागी भइरहेको छ। आगलागीका कारण दक्षिण ब्राजिलका सहर धुवाँले ढाकिएका छन्।

आगलागी हालसम्म नियन्त्रणमा लिन सकिएको छैन। आगलागी नियन्त्रणका लागि ब्राजिलले प्रयास जारी राखेको छ। ब्राजिलका राष्ट्रपति जेयर बोलसोनारोले अमेजनको जंगलमा लागेको आगो नियन्त्रणका लागि कोलम्बियासँग संयुक्त प्रयास थाल्ने जनाएका छन्।

पृथ्वीको फोक्सोको उपमा पाएको अमेजन जंगलको अधिकांश भाग ब्राजिलमा पर्दछ । यो जंगल कोलम्बिया, पेरु, भेनेजुएला, इक्वेडर, बोलिभिया र अरु केही दक्षिण अमेरिकी मुलुकसम्म फैलिएको छ । यही जंगलबाटै संसारभरका जीवात्माका लागि २० प्रतिशत अक्सिजन उत्पादन हुने विश्वास गरिन्छ । विश्वको सबभन्दा ठूलो जैवीक विविधता तथा सबभन्दा ठूलो नदी रहेको यस जंगलका डरलाग्दा र अनौठा तथ्य यस्ता छन्।

विश्वको सबभन्दा ठूलो यो जंगलको अधिकांश क्षेत्रफल ब्राजिलको भूभागमा पर्छ । ७० लाख वर्ग किलोमिटर क्षेत्रफलमध्ये ६० प्रतिशत ब्राजिलको भूभागमा छ । यो दक्षिण अमेरिकाका ९ वटा देशमा फैलिएको छ ।

दक्षिण अमेरिकी मुलुक पेरुमा १३ प्रतिशत, कोलम्बियामा १० प्रतिशत र अरू बाँकी जंगल भेनेजुएला, इक्वेडोर, बोलिभिया, गुयना, सुरिनाम र फ्रेन्च गुयनाको भूभागमा पर्छ । अमेजन जंगलको क्षेत्रफल नेपालजस्ता करिब ४८ वटा देश बराबर हो । यसभित्र कोही प्रवेश गरेमा फर्किन लगभग असम्भव जस्तै मानिन्छ । साहारा मरुभूमिको अधिकांश धुलो ग्रहण गर्ने क्षमता यो जंगलले राख्छ । विश्वको सबभन्दा ठूलो साहारा मरुभूमिको ५६ प्रतिशत धुलो अमेजन जंगलले सोस्ने गरेको छ ।

जंगलले धुलोबाट बिरुवालाई आवश्यक पर्ने फस्फोरस ग्रहण गर्ने गरेको छ । नासाको उपग्रहले गरेको मापनअनुसार हरेक वर्ष १ सय ८२ टन धुलो २ हजार ६ सय किलोमिटर दूरी पार गरी अमेजनले साहाराबाट ग्रहण गर्ने गरेको छ । धुलोले एटलान्टिक सागरको माथि भएर उक्त दूरी पार गर्छ ।

यस जंगलभित्र एक अनौठो नदी छ । ‘बोइलिङ रिभर’ भनेर चिनिने उक्त नदीको तापक्रम ४९ देखि करिब ९४ डिग्री सेल्सियससम्म छ । यसको गहिराई १६ फिटसम्म छ । यस नदीभित्र कुनै पनि जीव जीवित रहन सक्दैन । कुनै जीव पानीभित्र खसेमा केही समयभित्रै त्यसको मृत्यु हुन्छ । साथै यसको किनारको बालुवा पनि अत्यन्तै तातो छ । त्यसैले त्यहाँ हिँड्न मुस्किल हुन्छ ।

यस नदीका बारे तथ्य प्राप्त नहुन्जेलसम्म यो एक मिथकका रूपमा कथा भनिन्थ्यो । भू–वैज्ञानिक आन्द्रेस रुजोले आफ्ना हजुरबुवाबाट यसबारे सुनेका थिए । तर जब उनी १२ वर्षका भए तब यो साँच्चिकै अस्तित्वमा छ भन्ने उनलाई लाग्यो । त्यसपछि उनले सानैमा सुनेको कथाका बारे अनुसन्धान गर्न लागिपरे र अन्ततः विशाल अमेजन जंगलभित्र रहेको तथ्य पत्ता लगाए ।

पानीको बहाबका हिसाबले संसारको सबभन्दा ठूलो अमेजन नदी पनि यहीँ पर्छ । यस नदीको बहाब करिब २ लाख ९ हजार घनमिटर प्रतिसेकेण्ड रहेको छ । यस नदीमा ३ हजारभन्दा बढी माछाका प्रजाति रहने वैज्ञानिकहरूको भनाइ छ । यो नदी पौडिएर पार गर्न करिब ६६ दिन लाग्ने बताइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्