आर्थिक समृद्धिबाट नेपालको नयाँ पहिचान बनाऔं : प्रचण्ड

prachanda
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २० भदौ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिवर्तनबाट नयाँ पहिचान बनाएको नेपालले अब आर्थिक क्रान्तिबाट पनि विश्वसामु नयाँ पहिचान बनाउनु पर्ने बताएका छन्। शुक्रबारदेखि काठमाडौँमा सूरु भएको ट्रेकिङ एजेन्सिस एशोसिएशन अफ नेपाल (टान) को ४१ औं साधारण सभाको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन।

मुलुकमा प्राप्त राजनीतिक परिवर्तनलाई जोगाउन पनि तिब्र आर्थिक समृद्धी आवश्यक रहेको उनले बताए। आर्थिक समृद्धिबिना मुलुकले प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र पनि धरापमा पर्ने खतरा औंल्याउँदै उनले आर्थिक समृद्धिको यात्रालाई नयाँ युगतिर लैजानुपर्नेमा जोड दिए। ‘सफलताको अन्तिम परिणाम आर्थिक समृद्धिमा गएर खोज्नुपर्छ। आर्थिक प्रगतिको नयाँ युगतिर डोर्याउन सकिएन भने राजनीतिक परिवर्तन दिगो हुन सक्दैन। त्यो चुनौती र परीक्षा तपाई हामी सबैका अगाडि छ,’ उनले भने।

अध्यक्ष दाहालले आर्थिक समृद्धिको लागि निजी क्षेत्रलाई विश्वासमा लिनु पर्ने बताए। निजी क्षेत्रलाई प्रोत्साहन हुनेगरी नीति र कानुन निर्माण गरेर अघि बढन सरकारलाई पनि सुझाव दिए। ‘आर्थिक लोकतन्त्रको युगतिर जानका लागि नीजी क्षेत्रलाई सहकार्य र विश्वासमा लिएर प्रोत्साहित लिएर राज्य अगाडि बढन सकेन भने समृद्धिको सपना सपनामात्रै हुन्छ,’ उनले भने, ‘यतिबेला राज्यको नेतृत्व र लोकतन्त्रका लागि योगदान दिने नीजि क्षेत्र मिलेर आर्थिक समृद्धिका लागि सकारात्मक वातावरणका लागि नयाँ अभियान बनाउनु जरुरी छ।’

पर्यटन क्षेत्रको प्रचुर सम्भावनालाई सदुपयोग गरेर मुलुकलाई समृद्ध बनाउन सकिने पनि स्मरण गराए। नेपाल भित्रिने पर्यटकहरुसँग जोडिएको ट्रेकिङ क्षेत्रले विदेशीहरुसँग गर्ने व्यवहारले देशको परिचय दिने भएकोले सेवा र कर्मको भावनाले व्यवसाय गर्नुपर्नेमा उनले जोड दिए।

साधारण सभाले टानको आगामी दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ। टानको नेतृत्वका लागि सत्तारुढ नेकपाको समर्थनमा अध्यक्षको उम्मेदवार अञ्जन थापा र महासचिवमा सरिता लामाले उम्मेदवारी घोषणा गरेका छन्। त्यसैगरी प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस निकट रहेका सुवेदी समूहबाट सुवेदीले अध्यक्ष र कर्मा शेर्पाले महासचिवमा उम्मेदवारी घोषणा गरे।

दुवै समूहले आ–आफ्नो समूहको विजयी हुने दाबी गरेका छन। निर्वाचनमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्धितीय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र सदस्यहरुसहित १७ पदका लागि निर्वाचन हुनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्