‘सरकारले राम्रो र नयाँ काम गरेर आर्थिक वृद्धिद्धरमा सुधार भएको होइन’

Dr. Ramsaran Mahat
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २१ भदौ । नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले वर्तमान सरकार हावादारी प्रचारमा केन्द्रीत भएको आरोप लगाएका छन्। शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै डा. महतले वर्तमान सरकारले आकाशे र उडन्ते कुरा गरेर समय व्यतित गरिरहेको आरोप लगाएका हुन्।

उनले भने,‘सरकारले पानीजहाज, रेल ल्याउने लगायतका हावादारी कुरा गरिरहेको छ। कहिले १५ हजार अट्ने सम्मेलन केन्द्र बनाउँछु भन्छ, कहिले के भन्छ ? कहिले प्रधानमन्त्री निवास करोडौं खर्चिएर नयाँ बनाउने कुरा त, कहिले राष्ट्रपति निवासलाई फराकिलो बनाउने कुरा भएका छन्।’ साक्षात्कारमा बोल्दै महतले सरकारले उपभोग्य कुरामा बढि खर्च गरेको बताए। सरकारले वास्तविक आवश्यकत्ता के हो भनेर खुट्याउन नसकेको र कार्यक्रमको प्राथमिकीकरण नै गर्न नसकेको उनको आरोप छ।

महतले अहिलेपनि काठमाडौंबाट धादिङ, नुवाकोट, सिन्धुपाल्चोक जाने सडकहरु अलपत्र अवस्थामा रहेको बताए। उनले भने, ‘ललितपुरका कतिपय सडकका समस्या अहिलेपनि समाधान भएकै छैनन्।’ उनले यातायातमा अहिले भएकै पूर्वाधारलाई स्तरोन्नती गर्नुपर्नेमा जोड दिए। महतले १२ महिनै सुचारु हुने सडक बनाउनुपर्नेतर्फ सरकारको ध्यानाकार्षण गराए।

उनले अहिले विश्वका जुनसुकै मुलकको पनि मूल एजेण्डा आर्थिक विकास र समृद्धि भएको सुनाउँदै नेपालले पनि आर्थिक एजेण्डालाई आत्मसात गर्नु खुशीको कुरा भएको टिप्पणी गरे। तर, समृद्धि हाँसिल गर्न त्यति सजिलो नभएको महतको भनाई छ।

उनले भने, ‘आर्थिक विकास र समृद्धि हाँसिल त कठिन एक्सरसाईजबाट मात्रै सम्भव हुन्छ। आफ्नो साधन र स्रोतलाई सही ढंगले उपयोग गर्नुपर्छ। व्यवस्थापन र प्रशासकीय क्षमता अभिवृद्धि गर्नुपर्छ। पुँजी लगानीमा ध्यान दिनुपर्छ।’ अहिले देशमा भ्रष्टाचार, लुटतन्त्र र विभिन्न स्क्याण्डलका बारेमा कुरा उठेको पनि उनले सुनाए। उनले भने, ‘संसदमा पनि यी विषयहरू उठेका छन्। हाम्रो पार्टी सडकमा उत्रिनुपर्ने आवश्यकत्ता छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्