Spread the love
  • 3.1K
  •  
  •  
  •  
  •  
    3.1K
    Shares

समाजवादी क्रान्ति प्रचण्डकै नेतृत्वमा हुन्छ

0

– शिवजी तिवारी

पूँजीवादी विकासले सामाजिक विभेद र वर्गीय खाडल झनै गहिरो पारिदियो। सह–अस्तित्वको सिद्धान्त पूँजीवादी अर्थ–राजनीतिक चरणमा असफलसिद्ध हुँदै गयो। सामाजिक विज्ञानका नियमहरुको खोजी गर्ने क्रममा दार्शनिकहरुले नयाँ–नयाँ अध्ययन र अन्वेषण अघि बढाए। वर्गीय विभेद र शोषणको अन्त्य गर्ने आम सिद्धान्तका रुपमा दार्शनिक कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सद्वारा प्रतिपादित वर्गीय मुक्तिको दर्शन एवं विचारधारा नै मार्क्सवाद हो।

पछिल्लो २०० वर्षको इतिहासमा मार्क्सवादी दर्शन नै सर्वहारा क्रान्तिको एक मात्र सार्वभौम सिद्धान्तका रुपमा स्थापित भइसकेको छ। सामन्तवादको अन्त्य र पूँजीवादको विकास समाज विज्ञानको स्वाभाविक र अनिवार्य नियम हो। तर, पूँजीवाद आर्थिक क्रान्ति र मानव मुक्तिको अन्तिम सिद्धान्त भने होइन भन्ने तथ्य विगत २०० वर्षको इतिहासले राम्रैसँग पुष्टि गरेको छ। आज स्वयं पूँजीवादी शासक र चिन्तकहरु पूँजीवादी संकटमोचनका लागि मार्क्सवादी अर्थशास्त्रका सिद्धान्तहरुको प्रयोगको सम्भाव्यतातिर लागेका छन्।

लेनिनका अनुसार पूँजीवादको अन्तिम रुप साम्राज्यवाद हो, त्यसले आफूलाई अस्तित्व रक्षाको निर्णायक चरणमा उभ्याएको हुन्छ। साम्राज्यवाद पूँजीवादको अन्तिम र मरणासन्न रुप भएको लेनिनको संश्लेषणले साम्राज्यवाद विश्व अर्थ–राजनीतिको समाधान होइन, एकपछि अर्को समस्याका रुपमा उपस्थित हुँदै गएको तथ्य नै उजागर गर्दछ। यस तथ्यप्रति स्वयं पूँजीवादी चिन्तकहरुले समेत चिन्ता व्यक्त गर्दै आएका छन्।

मार्क्सवाद सर्वहारा वर्गको विज्ञान हो, मानव जातिको मुक्ति र समानताको युगान्तकारी सिद्धान्त हो। द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त, वर्गसङ्घर्ष, इतिहासमा बल प्रयोगको भूमिका, वैज्ञानिक समाजवाद हुँदै साम्यवादमा पुग्ने लक्ष्यलाई मार्क्सवादको आधारभूत अन्तरवस्तु मानिन्छ। उत्पादन सङ्घर्ष, वर्गसङ्घर्ष र वैज्ञानिक प्रयोगका क्रममा नै समाज तथा मानव जातिको इतिहास निरन्तर अग्रगतिमा अगाडि बढ्दछ। समाजका हर वस्तुहरु गतिशील छन्, यी एक–अर्कासँग अन्योन्याश्रित पनि छन्, त्यसकै आधारमा जीवन र जगत सञ्चालित हुने गर्दछ।

मार्क्सवादका आधारभूत तीन संगठक अंग रहेका छन्, ती हुन्, दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद। द्धन्द्धात्मक तथा ऐतिहासिक भौतिकवाद, वर्गसङ्घर्ष, निरन्तर क्रान्ति र सर्वहारा वर्गको अधिनायकत्वले मात्र वैज्ञानिक समाजवाद हुँदै साम्यवादी समाजमा प्रवेशको ढोका खोल्दछ। यद्यपि, इतिहासमा वर्गसङ्घर्षको स्वरुप र बलप्रयोगको घनत्व समकालीन राजनीतिक परिस्थिति, शक्ति सन्तुलन र सर्वहारा वर्गको आत्मगत अवस्थामा निर्भर रहन्छ। यही मार्क्सवादी मान्यतामा एंगेल्स, लेनिन, स्टालिन, माओत्सेतुङ हुँदै नेपालका कम्युनिष्टहरुले रक्षा, प्रयोग र विकासका आ–आफ्नै मौलिकता स्थापित गर्दै आएका छन्।

विश्व पूँजीवाद हुँदै साम्राज्यवादतर्फ उन्मूख भइरहेको परिस्थितिमा नेपाल प्राक् पूँजीवादी चरणमा छ। हामीले भर्खरै सामन्ती व्यवस्थाको अन्त्य गरेर पूँजीवादी गणतन्त्रको अभ्यास गरिरहेका छौं। पूँजीवादी गणतन्त्रलाई प्रगतिशील रुपान्तरण गर्दै समाजवादी क्रान्तिको साँचोमा ढाल्ने अभिभाराका अघिल्तिर नेपालका कम्युनिष्टहरु उभिएका छन्। लोकतान्त्रिक गणतन्त्रको घोषणाले राज्यको उपरिसंरचनामा सामन्ती अवशेषको अन्त्य गरिदिएको छ। भू–दासहरुको उन्मूलन, जमिनको चक्लाबन्दी, औद्योगिकरण, वित्तीय पूँजीको प्रवेश, विप्रेषणजस्ता नयाँ–नयाँ तथ्यले नेपालको अर्थतन्त्र पनि पूँजीवादी अभ्यासकै चरणमा उभिएको छ। यद्यपि, औद्योगिकरणको प्रक्रिया हामीले सोचे र चाहेजस्तो छलाङमा अघि बढ्न सकेको छैन।

इतिहास आफैमा गतिशील छ। ठूलो राजनीतिक क्रान्तिबिना पनि समाज अग्रगमनकै दिशामा अगाडि बढिरहेको हुन्छ। तर, त्यो निकै धीमा र सुशुप्त हुने गर्दछ। जब सामाजिक अन्तरविरोधको वस्तुनिष्ठ अध्ययनसहित सर्वहारा वर्गले क्रान्तिको नेतृत्व गर्दछ, त्यसले इतिहासको गतिलाई हजारौं गुणा बढाइदिन्छ। सफल क्रान्तिले स्वतस्फूर्त हुने परिवर्तनभन्दा हजारौं गुणा र गुणात्मक परिवर्तन ल्याउँछ भन्ने कार्ल मार्क्सको संश्लेषण यही सैद्धान्तिक धरातलमा उभिएको छ। वि.सं २०५२ सालमा माओवादीले सुरु गरेको जनयुद्ध त्यही क्रान्ति थियो, जसले कसैले कल्पना नै नगरेको आर्थिक, राजनीतिक, सामाजिक एवं सांस्कृतिक रुपान्तरण सम्भव तुल्यायो।

गणतन्त्रसँगै हामीले सङ्घीय प्रणालीको अभ्यास गरिरहेका छौं। यो नेपालको सन्दर्भमा नितान्त नयाँ अभ्यास हो। नागरिकहरु धर्मको नाममा कोही कसैको अधिनस्थ हुनुपर्ने बाध्यताको अन्त्य भएको छ, राज्यसत्ताको नीतिका कारण पिँधमा पारिएका वर्ग, जाति, लिङ्ग र समुदाय नीति निर्माणको तहमा अर्थपूर्ण सहभागिताको अभ्यासमा छन्। सामाजिक शोषण र विभेदको पर्दा च्यातिएको छ। समावेशी लोकतन्त्रका जगमा उभिएको नेपाली गणतन्त्र विश्वमै नमूना र बहुआयमिक छ। यद्यपि, राजनीतिक रुपान्तरणको जगमा नागरिकको जीवन बदल्ने अभियानले गुणात्मकता हासिल गर्न सकिरहेको छैन।

यी सारा उपलब्धिका लागि सफल नीति र नेतृत्वको भूमिका निर्णायक रहन्छ। नेपाली क्रान्तिको अध्ययन, चार तयारी, युद्धको थालनी र आर्थिक–राजनीतिक रुपान्तरणमा कमरेड प्रचण्डको निर्णायक योगदान रहेको तथ्य इतिहाससिद्ध भइसकेको छ। पृथ्वीनारायण शाहको राज्य बिस्तार अभियानपछि नेपाली इतिहासमा जनयुद्ध नै यस्तो युगान्तकारी आन्दोलन थियो, जसले समाजमा गुणात्मक परिवर्तन ल्याइदियो। प्रचण्डको कुशल नेतृत्व, बहुआयमिकता, दृढता र लचकताको संयोजन, कुटनीतिक कार्यक्षमता नभएको भए नेपाली समाज आजको विन्दुमा आउन सम्भव थिएन। यस अर्थमा आजको रुपान्तरणको मूख्य श्रेय प्रचण्डलाई नै जान्छ।

क्रान्तिको मार्ग सपाट र सिधा हुँदैन। यसले अनेकौं घुम्तीहरु, ठक्करहरु र उकालीओरालीहरुको सामना गर्नुपर्ने हुन्छ। क्रान्ति र प्रतिक्रान्तिका हजारौं श्रृङ्खलाहरु पार गरेर मात्रै मार्क्सवाद स्वतन्त्रताको संसारमा पुग्छ, वर्गीय विभेदका पर्खालहरु सदाका निम्ति ढल्दछन्। त्यो प्रक्रिया अहिल्यै पूरा भएको छैन, पूरा हुन सक्ने कुरा पनि होइन। आज प्रतिक्रान्तिकारी शक्तिले जुन प्रयत्न गरिरहेका छन्, त्यो पनि क्रान्ति र प्रतिक्रान्तिबीच भीषण सङ्घर्षको अनिवार्य नियमअनुसार नै भइरहेको छ। यसका विरुद्ध निर्मम विचाराधारात्मक, राजनीतिक एवं संगठनात्मक सङ्घर्ष नेकपाको तात्कालीन कार्यभार हुन आएको छ।

सामाजिक सञ्जालमा केही प्रायोजित मानिसहरुले प्रचण्ड र समर्थकहरुप्रति योजनाबद्ध आक्रमण गरिरहेका छन्। त्यसको मूल ध्येय अहिलेको व्यवस्थाप्रति अनास्था सिर्जना गर्ने र प्रतिक्रान्तिको आधारभूमि तयार पार्ने नै हो। तर, त्यो सजिलो छैन। नेकपाको शक्तिशाली सरकार र प्रचण्डको कुशल नेतृत्वले प्रतिक्रान्तिका सबै सपनाहरु चकनाचुर पार्न सकिन्छ र पारिनेछन्। प्रतिक्रान्तिका सम्भावित जोखिमबारे नेतृत्व सचेत मात्र छैन, त्यसलाई निस्तेज पार्ने रणनीतिमा पनि त्यत्तिकै सफल छ। प्रतिक्रान्तिको धरातल तयार पार्न प्रचण्डविरुद्ध नियोजित प्रचार गर्नेहरुले बुझ्नुपर्छ – २५० वर्ष लामो जहाँनिया राजतन्त्रको अन्त्य प्रचण्डको सामान्य कौशलका कारण सम्भव भएको होइन।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र पनि सधैं स्थीर रहँदैन। आज हामी त्यही परिस्थितिमा छौं। गणतन्त्रले समाजवादको बाटो समात्ने कि प्रतिक्रान्तिको ? बहस यहीँनेर आएर अडिएको छ। नेकपाको मुल नेतृत्व अहिलेको परिस्थितिबाटै समाजवादी क्रान्तिको ढोका खोल्न चाहन्छ, प्रतिगमनकारी शक्ति प्रतिक्रान्ति। हिजोको प्रचण्डपथ धक्का, कमभङ्ग, महाविपत्ति र छलाङकै परिणाम थियो। आजको महाविपत्तिले पनि छलाङ्कै बाटो समात्छ, प्रतिक्रान्तिको होइन।

आजको बिकल्प समाजवाद हो, पूँजीवाद होइन। अझ विश्वबाटै पराजित सामन्ती व्यवस्था त हुँदै होइन। हरेक व्यवस्थाका निश्चित खराबी हुन्छन् नै। तर, ती पश्चगामी व्यवस्थाका तुलनामा निकै नगन्य हुन्छन्, ती खराबी पनि समाज विज्ञानका अनिवार्य नियमका रुपमा उपस्थित हुन्छन्, त्यसले नै अग्रगामी रुपान्तरणका लागि नागरिकलाई उद्देलित गर्दछन्। आजको गणतन्त्र प्रयोगका सन्दर्भमा देखिएका खराबी पनि समाजवादी क्रान्तिको अनिवार्यताका लागि हुन्। गणतन्त्रको अभ्यासका क्रममा देखिएको नागरिक असन्तुष्टि पूरातन व्यवस्थातिर फर्कनका लागि होइन, उन्नत समाजवादी व्यवस्थातिर शिघ्र प्रवेशका लागि खबरदारी मात्र हो।

प्रचण्डसामू फेरि एकपटक समाजवादी क्रान्तिको तयारी र नेतृत्व गर्ने अवसर उपस्थित छ। कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने कार्यभार पूरा भए पनि विकास र समृद्धिको राष्ट्रिय कार्यभार पूरा भइसकेको छैन। समृद्धिले मात्रै समानताको आधार तयार पार्दछ, त्यो खुड्किलो पार गरेर मात्र समाजवादी समाजमा पर्दापण गर्न सकिन्छ। अबको नेकपाले प्रचण्डको अगुवाइमा समाजवादी क्रान्तिको बाटो समात्न ढिलो गर्ने छैन। क्रान्ति र परिवर्तनका नायक कमरेड प्रचण्डलाई अग्रिम शुभकामना।

Spread the love
  • 3.1K
  •  
  •  
  •  
  •  
    3.1K
    Shares
You might also like
Comments
Loading...