Spread the love
  • 272
  •  
  •  
  •  
  •  
    272
    Shares

वौद्धिक अराजकहरुले बिगारेको देश

0

– वि.वि. श्रेष्ठ

विधि प्रक्रिया नै लोकतान्त्रिक गणतन्त्रको सुन्दर पक्ष हो। यही सुन्दर व्यवस्था निर्माणका लागि हजारौंले बलिदानी दिए भने अंगभंग भएर यही व्यवस्था हेर्न हजारौं स्वप्नहरु तड्पिरहेका छन्। राज्यव्यस्था परिवर्तन र सुन्दर समाज निर्माणका आशा र अभिलाषामा जीवन आहुति दिनेहरु स्वर्गमा बसेर जगतको गतिविधि नियाल्दा कस्तो अनुभूति गरे होलान् ?

राजनीतिको ‘र’ पनि नबुझेका चैतेहरु राजनीतिको मसिहा बने। समाज र देश परिवर्तनका लागि जीवन बलिदानी दिनेहरु खाडीमा पसिना चुहाइरहँदा मनमा कति पीडा भयो होला ? समयसँगै परिवर्तन भएको यो राज्यव्यस्थाले जनभावनामा कति मल्हम लगायो होला ? यो विषय परिवर्तित समयसँगै धुमिल हुँदै गएको छ। जुन सपना र उद्देश्यका साथ शुरु गरिएको राजनीतिक आन्दोलन होस् वा जनयुद्ध, त्यसको आवश्यकता र औचित्यले कति शिखर चुम्यो होला ? बहसको विषय बन्नुभन्दा पनि मधुरो बन्दै गइरहेको छ ।

देश र समाजप्रति उत्तरदायी नभएकाहरु र व्यक्तिगत स्वार्थ र कमाउधन्दामा लिप्त बनेर ढाडिएकाहरु अहिले सामाजिक सञ्जालमा बडो क्रान्तिकारी रुपमा देखा परेका छन्। कुनै त्याग र तपस्या विना समाजमा कुनै योगदान नहुनेहरुको भीड देख्दा लाग्दछ, उनीहरु नै समाज परिवर्तनका मुख्य अभियान्ता हुन्।

समाज र समय गतिशील भएता पनि यसको गति भने क्रियाशिलतासँगै यसको मापन हुने गर्दछ। देश र समाजप्रति उत्तरदायी नभएकाहरु र व्यक्तिगत स्वार्थ र कमाउधन्दामा लिप्त बनेर ढाडिएकाहरु अहिले सामाजिक सञ्जालमा बडो क्रान्तिकारी रुपमा देखा परेका छन्। कुनै त्याग र तपस्या विना समाजमा कुनै योगदान नहुनेहरुको भीड देख्दा लाग्दछ, उनीहरु नै समाज परिवर्तनका मुख्य अभियान्ता हुन्।

व्यवहारमा गरिने कर्म र कोठाभित्रको फोस्रो क्रान्तिकारिता अलग अलग हुन् भन्ने समेत बुझ्न नसकेका वौद्धिक दरिद्धताहरु नै समाजमा अराजकता निम्त्याउने धमिराहरु हुन्। जुन वौद्धिकताका नाममा समाज र देशमा अराजकताको स्थिति सिर्जना गरेर आफनो भूमिका खोजिरहेका छन्। स्वार्थतका लागि राष्ट्रियताजस्तो संवेदनशील विषयमा समेत नकारात्मक अभिव्यक्ति दिन तम्सने वौद्धिक अराजकताहरुले समाज र राष्ट्रमा नै अस्थिरता निम्ताइरहेका छन्।

निश्चित विषयमा शैक्षिक प्रमाणपत्रले दिक्षित हुँदैमा समग्रतामा वौद्धिक जगतको पगरी गुथ्नेहरुको भीड ठूलो बनिदियो। जीवन नै व्यक्तिगत स्वार्थका लागि व्यतित गरेकाहरु अवकाशपछि वौद्धिकताको झुण्डमा रमाउने भरपर्दो माध्यम भनेको नै विरोध हो। त्यसले समाजमा कस्तो असर गर्दछ भन्ने समान्य हेक्कासमेत नराखी गरिने विश्लेषण र भनाइले वौद्धिकताको कसी मापन गर्दछ। पर्दाभित्र बसेर मिडियामा कुर्लन जति सजिलो हुन्छ, जनताका बीचमा गएर काम गर्न गाह्रो हुन्छ भन्ने सामान्य ज्ञानसमेत नभएकाहरु विद्धानका कसीमा दर्ज हुनका लागि मरिहत्ते गरेका छन्। जुन उसको विद्वतासँग कदापि मेल खाँदैन।

व्यक्तिको विद्वता केवल व्यक्तिको स्वार्थ पूर्तिका लागि मात्र केन्द्रित हुनु हुँदैन। यो विद्वता त देश र समाज रुपान्तरणका लागि कडी बन्नुपर्दछ। जब धर्तीमा कोही जन्मिन्छ उसको पहिलो कर्तव्य नै समाज र देश परिवर्तनका लागि हुनुपर्दछ।

राज्यको आफ्नै संयन्त्र रहेको हुन्छ। सबै निकायको आफनो आफनो भूमिका र दायित्य रहेको हुन्छ। त्यही राज्य संयन्त्रमा रहेको कमिकमजोरीलाई आफनो विज्ञताबाट राय सुझाव दिएर परिमार्जन गर्न लाग्नुभन्दा नकारात्मक धारणा राखेर अफवाह फैलाउन तल्लिन हुँदा वौद्धिक वर्गको नै नकारात्मक परिचय बनेको छ। आफू नै न्याय र आफू नै प्रशासनको हुटहुटीमा लाग्दा समाजमा बेरोजगार वर्गको अराजकता ह्वात्तै बढिदियो। परिस्थितिको सही आंकलन र त्यसले निम्ताउने सकारात्मक, नकारात्मक पक्षको सुक्ष्म अन्वेषण गरेर सकारात्मक प्रभावका लागि भूमिका खेल्नेहरु नै राज्यद्रोहीको भूमिकामा मुख्य पात्र बनिदियो। जुन समाजको सचित्र बनिदियो। यही नकारात्मक र अराजकताको खडेरीमा आफनो भूमिका प्रवल देख्नेहरु अब्बलताको दौडका लागि सामेल बनिदियो।

चर्चामा आउनु र यथार्थका लागि लड्नु अलगअलग विषय हो भन्ने नेपालको वौद्धिकहरुले बुझ्न सकेनन् वा बुझ्न चाहेनन्। विषयको जसरी उठान गरेता पनि त्यो सकारात्मक र विधिका शासनका लागि हुनुपर्दछ भन्ने किस्सासमेत नवुझेकाहरु हावी बनिदिए। विज्ञता र राजनीति अलग अलग विषय हो भन्ने समेत भेउ नपाउनेहरु विधि र प्रक्रियालाई अराजकताको भीडले ढाक्न तयार बनिदिए।

देशमा ऐन, नियम कानूनहरु समय सान्र्दभिक नहोलान्। त्यो समय सान्र्दभिकताको वैचारिक विषय उठान गर्नु विद्वताको कर्तव्यभित्र रहनु पर्दछ। तर, त्यसो नभई आफू अनुकूल कानून निर्माणमा लागिदिँदा देशको सिंगो न्याय क्षेत्र होस् वा अन्य क्षेत्र दुर्गन्धित बनिदियो। मिडियामा नकारात्मक प्रभावका लागि कुर्लने विद्वताभन्दा अशिक्षित वर्गको साइलेन्ट अवस्था नै उचित हुन्छ।

बदलिँदो परिस्थितिमा मिडियाको पहुँच यत्रतत्र हुनु सकारात्मक पक्ष हो। तर, त्यसको उचित व्यवस्थापन अहिलेको आवश्यकता हो। पत्रकारिताको नाम भजाएर करोडौं कुम्ल्याउनेको भीडमा आफनो अस्तित्व रक्षाका लागि लड्ने समय आएको सन्र्दभमा वौद्धिक वर्गको मिडियाको मोह र विद्वताको त्यो संगीनभित्र असंगीन पक्षको उठानले समाजमा सकारात्मक परिणाम दिन सक्दैन। केही समयका लागि गरिने हिरोइज्मले समाजसँगै आफनो भविश्य पनि नकारात्मक बनाउने कुरा अब वौद्धिक वर्गले सोच्न ढिला गर्नु हुँदैन।

व्यक्तिको विद्वता केवल व्यक्तिको स्वार्थ पूर्तिका लागि मात्र केन्द्रित हुनु हुँदैन। यो विद्वता त देश र समाज रुपान्तरणका लागि कडी बन्नुपर्दछ। जब धर्तीमा कोही जन्मिन्छ उसको पहिलो कर्तव्य नै समाज र देश परिवर्तनका लागि हुनुपर्दछ। अनि मात्र समृद्ध नेपाल निर्माण गर्न सकिन्छ। वौद्धिकताका नाममा अराजकता निम्ताउन खोज्नेहरु केही दिनका लागि हिरो बने तापनि कालान्तरमा जिरो हुनुको विकल्प छैन।

Spread the love
  • 272
  •  
  •  
  •  
  •  
    272
    Shares
You might also like
Comments
Loading...