Spread the love
  • 935
  •  
  •  
  •  
  •  
    935
    Shares

रोजा लक्जेम्बर्ग : विश्वविख्यात क्रान्तिकारी नेतृ (जीवनी)

0

रोजा मध्यम वर्गीय यहूदी परिवारमा पाँच बच्चामध्ये कान्छी छोरीको रुपमा सन् १८७० मा जन्मेकी थिइन्। उनी पोल्याण्डको राजधानी वार्सामा हुर्किन्, जुन त्यस समयमा रुसी साम्राज्यको भूमि थियो। पोल्याण्डमा बहुसङ्ख्यक यहूदी विरोधीहरु थिए। उनीहरु एकतन्त्रीय जारशाहीबाट निर्देशित थिए। र, गरीबी, अज्ञानता र अन्धोराष्ट्रवादबाट निरन्तर अभिप्रेरित थिए। यहूदीहरुको आमनरसंहार त्यस बेला सामान्य कुरा थियो, जुन काम जारशाही प्रहरीहरुद्वारा संगठित रुपले गरिन्थ्यो।

१९ वर्षको उमेरमा रोजा स्वीट्जरल्याण्ड गइन् र प्राकृतिक विज्ञान, अर्थशास्त्र, दर्शनशास्त्र र कानून जुरिच विश्वविद्यालयमा अध्ययन गरिन्। यो शहर बसाइँ सराईबाट आएका मानिस र शरणार्थीहरुले भरिएको थियो, जसले असंख्य क्रान्तिकारी धारहरुको प्रतिनिधित्व गर्दथे। रोजा मार्क्सवादी सिद्धान्तको अनुयायी थिइन्। सन् १८९२ मा उनले जोगिचसँग मिलेर पोल्याण्ड अधिराज्यको सामाजिक प्रजातान्त्रिक (एसडीकेपी) पार्टीको स्थापना गरिन् र पार्टीको मुखपत्र ‘वर्कर’ प्रकाशन गरिन्। उनी उक्त पत्रिकाको सम्पादक पनि थिइन्।

रोजाले सन् १८९७ मा जूरिच विश्वविद्यालयबाट राजनीतिशास्त्र र कानूनकमा विद्यावारिधी उपाधि हासिल गरिन्। र, अर्को वर्ष उनी बर्लिन गइन्। जहाँ उनले श्रमिक आन्दोलनमा कार्यकारी प्रवक्ताको हैसियत प्राप्त गरिन्। र, उनले चाँडै नै जर्मन मार्क्सवादी आन्दोलनका प्रमूख व्यक्तित्वहरुसँग काम गर्न थालिन्। उनले वैचारिक सङ्घर्षको माध्यमबाट अन्तर्राष्ट्रिय प्रतिष्ठा कायम गरिन्। जर्मनीका श्रमिकहरुले उनलाई ‘हाम्री रोजा’ भन्दथे।

रोजाको जीवन अन्तर्राष्ट्रिय स्वरुपको थियो। उनले पोल्याण्डमा एसडीकेपीको स्थापना गरेपछि उनी जर्मन सामाजिक प्रजातान्त्रिक पार्टीमा समावेश भइन्। र, पछि सन् १९०५ को क्रान्तिको समयमा रुस गइन्। सो क्रान्ति सफल नभएता पनि त्यसले उनको क्रान्तिकारी उत्साहलाई उच्च तुल्यायो। तर, जर्मन सामाजिक प्रजातान्त्रिक पार्टी पहिल्यै अवसरवादीहरुको जालमा फँसिसकेको थियो। यसको सदस्य संख्या धेरै थियो र संसदमा कयौं प्रतिनिधिहरु भएता पनि नेतृत्वका कयौं व्यक्तिहरु सङ्घर्षका अन्य रुपहरुलाई त्यागी चुनावमा लागेका थिए। मार्क्स र एङ्गेल्सले उक्त संसदवादी झुकावको आलोचना गरेका थिए।

सन् १९१४ मा पहिलो विश्वयुद्धको शुरुवातले निर्णायक अवस्थाको सिर्जना गर्‍यो। सन् १९१२ मा भएको सामाजिक प्रजातन्त्रिक पार्टीहरुको अन्तर्राष्ट्रिय सम्मेलनले पहिलो विश्वयुद्ध भएमा त्यो साम्राज्यवादी युद्धको विरोध गर्ने र त्यस युद्धलाई आफ्नो देशको सत्तासिन वर्गको विरुद्ध क्रान्तिकारी आन्दोलन बदल्ने कार्य सबै मार्कसवादीहरुको दायित्व हुन आउँछ भन्ने घोषणा गर्‍यो। सो कार्य गर्ने बोल्सेभिक पार्टी एउटा मात्र पार्टी भयो, जबकि जर्मन पार्टीले सरकारको समर्थन गर्‍यो। रोजा लक्जेम्वर्ग र कार्ल लिब्नेच्ट दुई जना मात्र यसको अपवाद थिए। संसदमा भएका प्रायः सबै सांसदहरुले संसदमा युद्धको पक्षमा मतदान गरे।

जर्मन पार्टीको विश्वासघातपश्चात् रोजाले घोषणा गरिन्, ‘सन् १९१४ को अगस्ट ४ पछि जर्मन सामाजिक प्रजातन्त्र बदनाम पल्टन भइसकेको छ।’ लेनिनले लेखेका थिए, यस भनाइले रोजा लक्जेम्वर्गको नाम अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको इतिहासमा प्रख्यात भयो।

सैद्धान्तिक रुपमा सही रुपले समाजवादी क्रान्तितर्फ लैजाने सही विचारका लागि २० औं शताब्दीको शुरुको दसकमा तीव्र सङ्घर्ष भएको थियो। ती वैचारिक युद्धहरुमा रोजा सक्रिय थिइन्। दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा रोजाले आफूलाई लेनिन र रुसी प्रतिनिधिको पक्षमा उभ्याएकी थिइन्, जसले सम्मेलनमा क्रान्तिकारी वामपन्थी धारको प्रतिनिधित्व गर्दथ्यो।

राष्ट्रिय प्रश्नबारे एउटा सैद्धान्तिक युद्ध भएको थियो। रोजाले राष्ट्रिय प्रश्नबारे शुरुमा एउटा स्थान विकसित गरिन्, जुन पोलिस राष्ट्रको मुक्तिका लागि भएको सङ्घर्षको विरोध पनि एसडीकेपीमा अभिव्यक्त भएको थियो। रोजा पोलिलस स्वतन्त्रतालाई ‘यूटोपिया’ भन्थिन्। राष्ट्रिय प्रश्नमा धेरै वर्षसम्म रोजाको धारणा लेनिन र बोल्सेभिकहरुको भन्दा फरक थियो।

लेनिनले बोल्सेभिकहरुको अवस्थालाई यसरी उल्लेख गरेका थिएः ‘सबै जातिहरुको पूर्ण समानताको अधिकार, जातीय आत्मनिर्णयको अधिकार, सबै जातिहरुको श्रमिकहरुको एकता जस्ता कुराहरु राष्ट्रिय कार्यक्रमहरु हुन्, जुन मार्कसवाद, सारा विश्व र रुसको अनुभवद्वारा श्रमिकहरुलाई सिकाइएको हुन्।’

रोजाको विचार राष्ट्रिय युद्ध स्वभाविक रुपमा साम्राज्यवादी युद्धमा फेरिन्छ भन्ने थियो। तर ‘त्यो विचार गलत छ भन्ने कुरा प्रष्ट छ’ लेनिनले भने, ‘राष्ट्रिय युद्ध साम्राज्यवादी युद्धमा फेरिन पनि सक्छ र यसको विपरीत हुन पनि सक्छ।’ अन्य सबै सवालहरुमा जस्तै राष्ट्रि प्रश्नमा पनि लेनिनले सबै कोणहरुबाट हेरे र प्रत्येक अवस्थालाई त्यसको ऐतिहासिक, सामाजिक र आर्थिक परिप्रेक्ष्यमा जाँचे। यो स्वीकार गर्नु पर्छ कि रोजा यो स्तरमा थिइनन्, जुन कुरा राष्ट्रिय प्रश्नमा प्रष्टिएको थियो।

उनका अरु गल्तीहरु पनि थिए, जस्तैः बोल्सेभिक र मेन्सेभिकहरुलाई मिलाउने लामो प्रयास, जुन कुरा अवसरवादको कारण त्यस्तै विभाजन जर्मन सामाजिक प्रजातान्त्रिक पार्टीमा पनि भएर इतिहासले राम्रोसँग प्रमाणित गर्‍यो। यी कमजोरीहरुका बाबजुत उनी सधैं नै सर्वहारा अन्तर्राष्ट्रियतावादको पक्षमा उभिइन् र उनको मृत्यु हुनुभन्दा अघि उनले आफ्नो अवस्थाको पुनर्मूल्याङ्कन गरिन् र धेरैजसो गल्तीहरु सच्याइन्। पछि रोजा गिरफ्तार भएर जर्मनीमा थुनिन पुगिन्। उनको मृत्युभन्दा एक वर्ष अघि १९१८ को वर्षैभरि उनले हिरासतमा केही सीमित व्यक्तिहरुको पत्र मात्र पाउने गरी आफ्ना दिनहरु बिताइन्।

किल नहरको नाभिक विद्रोहको नेतृत्वमा जर्मनीमा नयाँ क्रान्तिकारी लहर उठिरहेको थियो। उनीहरुले सोभियतहरुको गठन त गरे। तर, उनीहरुमा नेतृत्व र अनुभवको कमी थियो, जुन कुरा अक्टोबर क्रान्तिमा लेनिन र बोल्सेभिकबाट रुसले पाउको थियो। सन् १९१८ को नोभेम्बर ९ मा बर्लिनका लाखौं जनता फ्याक्ट्रीबाट बाहिर निस्केर सडकमा उत्रिए, राजा विलियम दोस्रो देश छाडेर भागे, यसरी जर्मनीमा गणतन्त्र आयो। कारखाना र ब्यारेकहरुमा मजदुरहरु र सेनाहरुको आयोग बन्यो र सरकारी विभागहरु श्रमिकहरुले आफ्नो हातमा लिए। जेलहरु खोलिए र हजारौं बन्दीहरु रिहा भए जसमध्ये रोजा पनि एक थिइन्।

उनले आफ्नो सबै शक्ति क्रान्तिकारी आन्दोलनमा तत्काल लगाइन्। दुई वर्ष अघि मात्र उनी र कार्ल लिब्नेच्टले ‘विद्रोही’ नामक संगठन खोलेका थिए, जुन जर्मनीको एक मात्र क्रान्तिकारी संगठन थियो। सामाजिक प्रजातान्त्रिक पार्टीमा भ्रष्ट नेताहरुको सहभागितामा जनवरी १९१९ मा प्रतिक्रान्तिले चरम रुप लियो र क्रान्ति पराजित भयो।

१५ जनवरी, १९१९ मा कार्ल लिब्नेच्ट र रोजा लक्जेम्वर्ग गिरफ्तारीमा परी मारिए। उनीहरुको हत्यामा जर्मन सामाजिक प्रजातान्त्रिक पार्टीको संलग्नताले संसारभरिका क्रान्तिकारी श्रमिक वर्गलाई क्रुद्ध तुल्यायो। न्यूजिल्याण्डमा, श्रमिक वर्गका प्रसिद्ध नेता अलेक्स ग्याल्ब्रेथ जो त्यहाँको श्रमिक पार्टीको सदस्य पनि थिए, ‘श्रमिक पार्टीको राष्ट्रिय प्रतिनिधिकहाँ गए र जर्मन सामाजिक प्रजातान्त्रिक पार्टीले गरेको सो अपराधिक कार्यको भर्त्सना गर्दै टेलिग्राम पठाउन भने।

तर, त्यहाँका प्रतिनिधिले त्यसो गर्न अस्वीकार गरे। अलेक्स ग्याल्ब्रेथलाई जर्मनीको सामाजिक प्रजातान्त्रिक पार्टी र आफ्नो देशको लेबर पार्टी दुवै पूँजीवादी वर्गका साधनहरु हुन् भन्ने कुरा थाहा थियो। उनले सो पार्टी तत्काल छाडे र न्यूजिल्याण्ड कम्युनिष्ट पार्टीको स्थापना गर्ने कार्यमा सहभागी भई संस्थापक सदस्य भने। प्रतिक्रान्तिकारीहरुलाई कार्ल र रोजाको हत्या विजयोत्सव भयो किनकि यी दुई जर्मन क्रान्तिका प्रमूख नेताहरु थिए।

रोजा लक्जेम्वर्ग सुप्रसिद्ध र सर्वश्रेष्ठ क्रान्तिकारी महिलाको रुपमा चर्चित थिइन्। सामाजिक प्रजातान्त्रिक सरकार प्रमूख फ्रेडरिक अल्बर्ट, जो सामाजिक प्रजातान्त्रिक पार्टीको अध्यक्ष पनि थिए, को आदेशमा सैनिकहरुको समूहले रोजा र कार्ल लिब्नेच्टलाई सन् १९१९ मा गिरफ्तार गरेपश्चात् ४५ वर्षको उमेरमा उनको अन्त भयो। रोजा र कार्ल लिब्नेच्टलाई प्रहरी हिरासतमा नै हत्या गरियो। उनीलाई सैनिक टुकडीले बर्बर यातनापश्चात् टाउकोमा गोली हानी हत्या ग¥यो र शररिलाई नहरमा फालिदियो।

रोजा विश्व कम्युनिष्ट आन्दोलनकी एक दार्शनिक नेतृ थिइन्। उनी लेनिनसँग वैचारिक टक्कर लिने नेतृ मात्र थिइनन्, कम्युनिष्ट आन्दोलनभित्र सर्वहारा जनवादको अभ्यासका सन्दर्भमा निकै महत्वपूर्ण विचार प्रस्तुत गरेकी थिइन्। कम्युनिष्ट पार्टी र समाजवादी सत्ताभित्र सर्वहारा जनवादको प्रश्नलाई रोजा उन्नत स्तरमा उठाउन चाहन्थिन्, ताकि प्रतिक्रियावादी कित्ताबाट कम्युनिष्टहरुमाथि लाग्ने गरेको तानाशाहको अभियोग पूर्णत: निस्तेज पार्न सकियोस्।

रोजा लक्जेम्वर्गको जीवनीबारे निष्कर्ष निकाल्दै लेनिनले भनेका थिए, ‘चील कुखुराभन्दा तलबाट पनि उड्न सक्छ। तर, कुखुरा कहिल्यै चीलभन्दा माथिबाट उड्न सक्दैन।’ लेनिनले विचारधारात्मक प्रश्नमा रोजालाई चीलसँग तुलना गरेका थिए। आज विश्वभरिका कम्युनिष्टहरुले रोजालाई एक विख्यात कम्युनिष्ट योद्धा र दार्शनिक महिलाका रुपमा चिन्दछन्।

Spread the love
  • 935
  •  
  •  
  •  
  •  
    935
    Shares
You might also like
Comments
Loading...