Spread the love
  • 2.2K
  •  
  •  
  •  
  •  
    2.2K
    Shares

आज वासु स्मृति दिवस : को हुन् सुरेश वाग्ले ? (जीवनी)

0

काठमाडौं, २३ भदौ। जनयुद्धको क्रममा उच्च शहादत प्राप्त नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का तत्कालिन वैकल्पिक पोलिटब्यूरो सदस्य कमरेड सुरेश वाग्ले (वासु) को जन्म गोरखाको आँपपीपल गा.वि.स.–५ स्थित रातडाँडा भन्ने गाउँमा वि.सं. २०१० साल भाद्र २४ गते बुधबारका दिनमा स्वर्गीय पिता भोजराज वाग्लेका जेष्ठ सुपुत्रका रुपमा स्वर्गीय माता दुर्गादेवी वाग्लेको कोखबाट भएको थियो।

गरीब किसान परिवारमा जन्मिएका कमरेड सुरेश बाल्यावस्थामा भौतिक रुपमा अत्यन्तै कमजोर तर कुशाग्रबुद्धिका थिए। ६ वर्षको उमेरमा संस्कृत शिक्षा पढ्नका लागि मावली घर गोरखाकै बक्राङ गएका कमरेड वासुले त्यही मामा घरमै बसेर साहिला हजुरबा गणेशप्रसाद अर्याल (काना गुरु) सँग कक्षा ७ बराबरको औपचारिक शिक्षारम्भ हासिल गरेका थिए। कमरेड वासु वि.सं. २०२४ सालमा काठमाडौंमा आएर रानीपोखरीस्थित भानु मा.वि.बाट कक्षा ८ मा द्धितीय श्रेणीमा उत्तीर्ण गरे।

त्यसैगरी रानीपोखरी संस्कृत छात्रवासमा बसेर वि.सं. २०२८ सालमा वाल्मीकी क्याम्पसबाट उत्तर मध्यमा र वि.सं. २०३० सालमा शास्त्री सम्मको अध्ययन पनि नियमित रुपमा पूरा गरेका थिए। त्यसै क्रममा वि. सं. २०२७ सालबाटै उनी नेपाल र नेपालीको मुक्तिका लागि र देशीय सामन्तवादी, संशोधनवादी पूँजीवादी शासकहरु विरुद्ध दृढतापूर्वक उभिए र क्रान्तिको मोर्चामा हाम्फाले।

त्यतिबेलै उनले द्धन्द्धात्मक ऐतिहासिक भौतिकवाद, कम्युनिष्ट घोषणा पत्र, मार्क्सवादी शिक्षा र लेनिनका क्रान्तिकारी ग्रन्थहरुको अध्ययन गर्नुका साथै माओका संकलित रचनाहरुको समेत अध्ययन गरेर आफूलाई पनि समाज परिवर्तनको महान् क्रान्तिकारी बाटोमा अग्रसर गराए। सिर्जनशील क्षमता र सही विश्लेषण गर्नसक्ने तागत भएका क. वासु विद्यार्थी अवस्थादेखि क्रान्तिकारी संगठन (गण्डकी विद्यार्थी परिषद्) मा आवद्ध भई त्यसको सचिवसमेत भएका थिए।

उनले त्यसबेला गण्डकी विद्यार्थी संगठनको मुखपत्र लालुपातेमा म्याक्सिम गोर्कीको बारेमा संश्लेषणात्मक लेख समेत छपाएका थिए। वि.सं. २०३१ सालमा आफ्नै गृह जिल्ला गोरखा फर्किएर वि.सं. २०३२ मा आफ्नै गाउँ आँपपीपलको जनता मा.वि.मा शिक्षण पेशामा आवद्ध भएता पनि क. वासु तत्कालिन ने.क.पा. मसालमा आवद्ध भइसकेका थिए। उनी नै आँपपीपल क्षेत्रमा कम्युनिष्टहरुको बिजारोपण गर्ने पहिलो व्यक्ति पनि थिए।

वि.सं. २०३४ सालमा नेकपा चौमको पार्टी सदस्यता लिएका वाग्ले तत्कालिन शिक्षकहरुको छाता संगठन नेपाल राष्ट्रिय शिक्षक संगठन तदर्थ समिति गोरखाको सचिव पदमा वि.सं. २०३६ सालमा उनी लगभग गोरखामा क्रान्तिकारी शिक्षकको नेता बनिसकेका थिए। वि.सं. २०३५–०३६ सालतिर गोरखाको हंसपुर गाविसको ज्ञान ज्योति मा.वि.मा सरुवा भएका कमरेड सुरेश वाग्लेसँग त्यहाँ टुकनाथ अधिकारी, तुलसी खनाल, विन्देश्री यादव, ऋषि अधिकारी आदि सरहरु कार्यरत थिए।

दिउँसो उनीहरु विद्यालयको शिक्षणलाई अनुशासित ढंगले अगाडि बढाउँदै बिहान र बेलुका स्थानीय जनताहरुलाई अन्याय र अत्याचारको विरुद्ध गोलबन्द गराउँदै गरीब र निमुखाको राज्य ल्याउने मार्क्सवादी शिक्षाले प्रशिक्षित र संगठित गर्दै लान्थे। उनीहरुका यस्ता क्रान्तिकारी गतिविधिहरुलाई पञ्चायती शासकहरुले देखि सहेनन्। अनेक बहाना बनाएर यी संगठित शिक्षकहरुलाई पञ्चायतले ढंगले तितरबितर बनायो। क. वासु पुनः जनता मा.वि. आँपपीपलमै सरुवा भए।

त्यसपछि विद्यार्थीका कलिला दिमागमा ज्ञानको ज्योतिको सट्टा दमन, पक्षपात, पीडा र यातना दिइयो। कांग्रेसको भर्तीकेन्द्र बनेर विरोधी (अखिल) विद्यार्थीहरुलाई झुट्टा आरोप लगाउने, यातना दिने, २–३ वर्ष नियोजित ढंगले फेल गरिदिने गुण्डा लगाएर पिटाउने, खेद्नेजस्ता अत्यन्तै बर्बर दमन गरियो। पीडा सहेर ज्ञान ज्योतिमा अखिलका विद्यार्थीहरुले आफ्नो अध्ययनलाई अगाडि बढाए।

धेरै प्रतिकार गरेमा आफ्नो भविष्य नै खत्तम हुने डरले धेरै विद्यार्थीहरु त्राहीत्राहीमा पढ्न विवश भए। वि.सं. २०३७ सालमा नेपाल राष्ट्रिय शिक्षक संगठन गोरखाको पहिलो जिल्ला अधिवेशनमा सचिव पदमा क. वासु निर्वाचित भए। त्यसपछि उनी गोरखाबाट केन्द्रीय प्रतिनिधि बने। उनी सधैंजसो शैक्षिक विकास र राजनीतिक परिवर्तनका निम्ति क्रियाशील भइरहन्थे। राजनीतिक पूर्वाग्रहकै कारण उनलाई अस्थायी शिक्षकमै राखियो, २०४६ सालको जनआन्दोलनपछि मात्र वाग्ले स्थायी शिक्षक भए।

१७ वर्षसम्म शिक्षण पेशामा अविच्छिन्न सेवा गरेका वाग्लेलाई पञ्चायती शासकहरुले उग्रवादीको बिल्ला भिराए। उग्रवादी आरोपकै कारण वि.सं. २०३६ सालमा प्रहरी खोरमा परेका कारण उनी स्थायी सेवाका लागि बञ्चित गरिए। वि.सं. २०४७ सालको प्रतिनिधि सभाको चुनावमा एकता केन्द्र मसालले चुनाव उपयोग गर्ने उद्देश्यले डा. बाबुराम भट्टराईको संयोजकत्वको संयुक्त जनमोर्चा नेपालले उनलाई गोरखा क्षेत्र नं.­२ को उम्मेदवारमा बनायो।

चुनावी कलाको अभावमा उनी उक्त चुनावमा १३,६७८ मत ल्याई झिनो मतले तत्कालिन नेपाली काँग्रेसकी उम्मेदवार मैयादेवी श्रेष्ठबाट पारजित भए। चुनावमा पराजित भएपछि उनी तत्कालिन नेपाल कम्युनिष्ट पार्टी मशालको पूर्णकालिन कार्यकर्ता बने। त्यसै वर्ष उनी जिल्ला पार्टी सचिवमा चुनिए। वि.सं. २०४८ सालबाट २०५२ सालसम्म कमरेड वासु नेकपा (माओवादी) गोरखाको जिल्लाको नेतृत्व तहमा थिए। मार्क्सवादको गहिरो अध्ययन र सरल जीवन व्यवहारले उनको राजनीतिक उचाइ चुलिँदै गयो।

२०५२ सालमा माओवादीले जनयुद्ध घोषणा गरेकै दिन उनी भूमिगत भए। उनी गोरखा, रोल्पा, सिन्धुली, रामेछापलगायताका जिल्लाबाट सुरु भएको जनयुद्धको झिल्कोलाई देशव्यापी विस्तार गर्दै पार्टीको महत्वपूर्ण जिम्मेवारी बहन गर्ने, नेपालको इतिहासमा पुरानो निरङ्कुश सामन्ती राजतन्त्रात्मक राज्यसत्ता ध्वंस गर्दै नयाँ जनवादी राज्य व्यवस्थाको स्थापना गर्ने, योजनाकारमध्येका एक थिए। वि.सं. २०५५ मा उनी नेकपा (माओवादी) को बैकल्पिक पोलिट्व्युरो सदस्यमा चयन भए।

वि.सं. २०५६ भदौमा माओवादीको केन्द्रीय समितिको पूर्ण बैठकपछि पार्टीकै कामको सिलसिलामा प्लाटुन कमाण्डर भीमसेन पोखरेल र एक महिला प्लाटुन सदस्य बीनासँग गोरखा जाने क्रममा भाद्र २३ गते छोप्राकका नेपाल प्रहरीको स्पेशल कमाण्डो फोर्ससँग जम्काभेट भयो। त्यसपछि घेरा तोड्न खोज्दा उनीसँगै रहेका प्लाटुन कमाण्डर भीमसेन पोखरेलको गोली लागेर मृत्यु भयो।

प्लाटुन सदस्य बीना घाइते भए पनि भाग्न सफल भएकी थिइन्। क. वासु उपल्लो गाँखुमा प्रहरीको कब्जामा परे। उनलाई आत्मसमर्पण गर्नका लागि दवाव दिइयो। आत्मसमर्पण अस्वीकार गरेपछि कमरेड सुरेश वाग्ले ‘वासु’लाई २०५६ भदौ २३ गते प्रहरी नियन्त्रणमै निर्ममतापूर्वक हत्या गरियो।

Spread the love
  • 2.2K
  •  
  •  
  •  
  •  
    2.2K
    Shares
You might also like
Comments
Loading...