शान्ति वार्ता रद्द गर्दा बढी नोक्सानी अमेरिकाकैः तालिबान

Afghan-peace-deal
लाेकपाटी न्यूज
0 Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूसँग हुँदै आएको वार्ता तथा भएको सहमति रद्द गरेपछि तालिबान आक्रोशित भएको छ। तालिबान लडाकु समूहले शान्ति वार्ता रद्द गर्ने निर्णयका कारण सबैभन्दा बढी अमेरिकीहरूले गुमाउने बताएको छ।

अफगानिस्तानमा हिंसात्मक गतिविधि गर्दै आएको तालिबानले अमेरिकालाई चेतावनी दिँदै भनेको छ, ‘वार्ता रद्द गर्दा अमेरिकालाई नै घाटा हो, उसले धेरै कुरा गुमाउन पर्ने छ।’ अफगानिस्तानमा १८ वर्षदेखि जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप दुई पक्षबीच वार्ता भइरहेको थियो।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आइतवारका लागि क्याम्प डेविडमा तालिबान नेताहरूसँग बोलाइएको बैठक रद्द गरिएको कुरा शनिवार राति शृङ्खलाबद्ध ट्वीटमार्फत् जनाएका थिए। तालिबानले प्रतिक्रिया स्वरुप जारी गरेको वक्तव्यमा अन्तिमसम्म वार्ता राम्रो रुपमा अघि बढिरहेको र अचानक ट्रम्पले रद्द गरेको उल्लेख छ।

एकजना अमेरिकी सैनिकको ज्यान जाने गरी हालै गरिएको एउटा हमलाको तालिबान समूहले जिम्मेवारी लिएपछि आफूले वार्ता रद्द गर्ने निर्णय गरेको ट्रम्पको भनाइ छ। अफगानिस्तानको राजधानी काबुलमा भएको आक्रमणको जिम्मा तालिबानले लिएको थिए। सो आक्रमणमा एक अमेरिकी सैनिकको निधन भएको थियो ।

एउटा अनपेक्षित कदम चाल्दै ट्रम्पले मेरील्याण्ड रिट्रीटमा तालिबानका शीर्षस्थ नेता र अफगान राष्ट्रपति अशरफ गनीसहितको बैठकको चाँजोपाँजो मिलाएका थिए। तालिबान समूहले अफगान सरकारलाई अमेरिकी कठपुतली भन्दै ऊसँग वार्ता नगर्ने बताउँदै आएकोले ट्रम्पले बोलाएको बैठकलाई गोप्य राखिएको जस्तो देखिएको थियो।

सन् २००१ मा अमेरिकाले अफगानिस्तानमा अतिक्रमण गर्दै तालिबान सरकारलाई सत्ताबाट च्युत गरेको थियो। सेप्टेम्बर ११ को हमलाका लागि योजना बनाउन तत्कालीन तालिबान सरकारले अल-कायदा समूहलाई सुरक्षित आश्रयस्थल दिएको भन्दै अमेरिकाले अफगानिस्तानमा अतिक्रमण गरेको थियो।

आइतवार फोक्स न्यूजसँगको कुराकानीका क्रममा अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिकी भूमिमा तालिबान समूहसँग वार्ता आयोजना गर्ने निर्णयको बचाउ गरेका थिए। खाडी मुलुक कतारको राजधानी दोहामा तालिबान समूह र अमेरिकाबीच नौ चरणको वार्ता भइसकेको छ।

गत सोमवार अमेरिकी प्रमुख वार्ताकारले तालिबानसँग ‘सैद्धान्तिक रूपमा’ शान्ति सम्झौता भएको घोषणा गरेका थिए। त्यसको एउटा हिस्साको रूपमा २० हप्ताभित्र ५,४०० अमेरिकी सेना फिर्ता लग्ने र तालिबानले अफगानिस्तानलाई फेरि आतङ्कवादका लागि प्रयोग हुन नदिने कुराको सुनिश्चितता गर्नुपर्ने सहमति भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्