Spread the love
  • 4.6K
  •  
  •  
  •  
  •  
    4.6K
    Shares

‘सिन्दुर र पोते लगाएर राजनीति नगर्नुस्, सांस्कृतिक क्रान्ति गर्नुस्’

0

काठमाडौं। दक्षिण एसियाली महिला अधिकारवादी नेतृ कमला भासिनले महिलाहरुलाई चन्दन र सिन्दुर लगाएर राजनीति नगर्न सुझाव दिएकी छिन्। एक सञ्चार माध्यमलाई अन्तर्वार्ता दिँदै भासिनले सांस्कृतिक क्रान्तिको नेतृत्व पनि महिलाहरुले नै लिनुपर्ने बताएकी छिन्।

उनले भनेकी छिन्, ‘दक्षिण एसियामा लैङ्गिक समानताका पक्षमा सर्वाधिक परिवर्तन भएको छ। पछिल्लो ३० वर्षलाई हेर्दा नेपालमा जुन परिवर्तन देखियो त्यो अन्य मुलुकमा छैन। यहाँ राजतन्त्र थियो, ढल्यो। तपाईंहरू संघीयतामा हुनुहुन्छ, समावेशिताका लागि नीतिहरू बनेका छन्। यो सबै समानता हो, लैङ्गिक समानताको विषय हो।’

उनले नेपालको संसदमा ३३ प्रतिशत महिला पुग्नु ठूलो कुरा भएको बताएकी छिन्। भासिनले भनेकी छिन्, ‘नेपाल राजतन्त्रबाट प्रजातन्त्रमा गयो, यसकै परिणाम हो लैङ्गिक समानता, हिन्दू मुलुक धर्म निरपेक्ष बन्यो, लोकतान्त्रिक मुलुक बन्यो। यो नै पहिलो मुलुक हो जहाँ ३३ प्रतिशत महिला संसद्मा पुगे। नेपालमा लैङ्गिक समानताका लागि माओवादीको ठूलो भूमिका रह्यो। माओवादीको सिद्धान्त प्रोग्रेसिभ थियो। दक्षिण एसियामा नेपाल पहिलो देश हो जसले समलिङ्गीहरूलाई पनि संसद्मा समेट्यो।’

उनले सांस्कृतिक र आर्थिक क्रान्तिमा जोड दिँदै भनेकी छिन्, ‘सांस्कृतिक क्रान्ति मात्र होइन, आर्थिक क्रान्ति पनि हुनुपर्छ। जहाँ जे गरिन्छ राज्यको आधा हिस्साको प्रतिनिधित्व हुनुपर्छ। त्यहाँ ब्राह्मण, क्षेत्री, दलित, जनजाति, धनी, गरिब, भाषण गर्नसक्ने नसक्ने, यी सबै कुरालाई शक्तिमा बदल्ने एउटै माध्यम आर्थिक हो।’

‘ठाडो चन्दन लगाएर र गेरु वस्त्र धारण गरेर भोट माग्न जाने वा संसद्मा बस्ने गर्नु धर्मनिरपेक्षता होइन। राजनीतिलाई धर्मबाट भिन्न गराउनु आवश्यक छ’ उनले भनेकी छिन्, ‘सबै धर्मको इज्जत गर्नुपर्छ तर राजनीतिमा कहिल्यै धर्मको प्रभाव ल्याउनुहुन्न। हाम्रा सब नेता भोट माग्न जान्छन्। भोट माग्नु पहिला मठ, मन्दिर, मस्जिदमा गएर मैले सबै भोट ल्याउन सकौं भनेर आशीर्वाद माग्छन्। शक्तिपीठमा धाउँछन्। जनताको भोट लिनका लागि काम गर्नुपर्छ धर्मको कुरा होइन।’

उनले भनेकी छिन्, ‘बंगलादेशका नेताहरूले पनि त्यस्तै गरे। महिला नेतृहरू शेख हसिना भन्नुस् वा खालिदा जिया, विदेशमा बसेर पढ्दा आम महिलाको पहिरनमा थिए, धार्मिक प्रभाव देखाउन घुम्टो ओढेर भोट माग्न गए, सरकारको नेतृत्व गरे। भोट माग्नका लागि धार्मिक खोल ओढ्नुपर्छ भनेर कुन कानुनमा लेखेको छ ?’

‘महिलाले मात्र किन सिन्दुर, पोते, मंगलसूत्र लगाएर आउँछन् ? महिला आफैले पनि समानता र परिवर्तनका लागि त्याग गर्नुपर्छ।परिवर्तनका लागि हामी सबैको दायित्व हुन्छ। यसका लागि विद्यालय, विश्वविद्यालय, हरेक क्षेत्रमा छलफल हुनुपर्छ। जनतालाई यो बुझाउनुपर्यो कि हामीले प्रजातान्त्रिक आन्दोलन गर्यौं’ उनले भनेकी छिन्।

Spread the love
  • 4.6K
  •  
  •  
  •  
  •  
    4.6K
    Shares
You might also like
Comments
Loading...