नीजी क्षेत्रलाई नुन बिक्रि वितरण गर्न दिने सरकारको योजना छैन : मन्त्री यादव

matrika yadav
लाेकपाटी न्यूज

काठमाडौं, २८ भदौ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले नीजी क्षेत्रलाई नुन बिक्रि वितरण गर्न दिने कुरा हावादारी र भ्रामक भएको बताएका छन्। साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ५७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुन्।

मन्त्री यादवले सरकारले कहिल्यै पनि गुणस्तरियतामा सम्झौता नगर्ने बताउदै नुन बिक्रि वितरणको जिम्मेवारी पाएको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको काममा सरकार बाधक नभएको पनि स्पष्ट पारे। मन्त्री यादवले सरकारले नीजी क्षेत्रलाई नुन बिक्रि वितरण गर्न दिने सरकारको योजना नभएको प्रष्ट्याउँदै केहि सञ्चार माध्यमले हावादारी र भ्रामक समाचार सम्प्रेषण गरेको टिप्पणी गरे।

साथै, त्यस्ता भ्रमित र तथ्यहिन समाचार सम्प्रेषण नगर्न र त्यसको पछि नलाग्न सबैलाई आग्रह गरे। तर, कर्पोरेशनलाई समय अनुसार परिवर्तित हुन भने उनले आग्रह गरे । मन्त्री यादवले मुल्यवृद्धि गर्ने सोच नराख्न व्यवसायीलाई चेतावनी दिए । उनले दशै तिहारको समयमा मात्र नभई सधैँ भरी नै सस्तो र सहुलियत मूल्यका पसलहरु सञ्चालन हुनु पर्नेमा जोड दिए। चाडपर्वमा मात्रै सहुलियत पसल सञ्चालन गर्ने परिपाटीलाई अन्त्य गरी उपभोक्ताको हितका लागि बार्हैमास सहुलियत मूल्यका पसल सञ्चालन गर्नुपर्ने बताए।

मन्त्री यादवले साल्ट ट्रेडिङ कर्पोरेशनले स्थापनाकालदेखि नै उपभोक्ताको हक हितका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै आम उपभोक्तालाई सेवा दिने संस्थान मध्येमा उत्कृष्ट रहेको जिकिरसमेत गरे। कार्यक्रममा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड संचालक समितिका अध्यक्ष लक्ष्मी दास मानन्धरले कर्पोरेशनले आम उपभोक्ताको चाहना र सरकारको निर्देशन अनुरुप सेवा विविधिकरणमार्फत् सुपथ एवं सहुलियत दरमा गुणस्तरीय वस्तु बिक्री वितरण गर्दै आएको जनाए। अध्यक्ष मानन्धरले कर्पोरेशन सदैव जनताको हितमा प्रतिबद्ध रहदै लागिरहने प्रण समेत गरे ।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले उपभोक्ताको सामान तथा वस्तु सहजिकरण गर्न सरकार सदैव तयार रहेको बताए। कर्पोरेशनले खेलेको भूमिकालाई प्रशंसा गर्दै बजारमा अस्वभाविक रुपमा बढ्ने मुल्य वृद्धिलाई रोक्न यसले सहयोग पूर्याएको बताए। कर्पोरेशनले कार्यक्षेत्रलाई विविधिकरण गर्दै समय सापेक्ष परिवर्तन गर्दै लैजान पनि उनले आग्रह गरे।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह-सचिव तथा सञ्चालक समितिका सदस्य नवराज ढकालले खाद्यान्न आपूर्तिलाई सुगमदेखि दुर्गम जिल्लासम्म कर्पोरेशनले महत्वपूर्ण भूमिका खेलेको बताए। नीजी क्षेत्रलाई नुन बेच्न नदिएको कुरा उनले दोहोर्याए।

त्यस्तै, वाणिज्य आपूर्ती तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले साल्ट ट्रेडिङ्गले सेवा प्रदायिकताको विशिष्ठिकृत नमुना पेश गर्दै आएको उल्लेख गर्दै बजार मुल्य नियण्त्रण तथा नियमनका निम्ती सहयोगीको भूमिका निर्वाह गर्दै आएको बताए।

कर्पोरेशनका प्रमूख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले सबैको सहयोगबाट संस्थानले गरेको प्रगतिलाई आत्मसाथ गर्दै संस्थानले मानव जीवनमा महत्वपूर्ण परिवर्तन ल्याएको बताइन्। दसै तिहारलाई लक्षित गरी सहुलियतका पसलका साथसाथै विभिन्न सामानमा छु्ट समेत प्रदान गरेको जानकारी दिइन्।

उनले सन् १९८५ को तथ्याङ्क अनुसार नेपालमा ४४.२ प्रतिशत गलगाँड रोगी रहेकोमा त्यो संख्या झरेर हाल ०.४ प्रतिशत कायम भएको तथा संस्थानले सरकारले दिएको जिम्मेवारी र पाएको अधिकारलाई आम उपभोक्तामा पूर्याउन सफल भएको बताइन्।