माधव नेपालमाथि कार्वाही सिफारिस

Madhab kumar nepal
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २९ भदौ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ ले वरिष्ठ नेता माधवकुमार नेपालसहित केही नेताहरुलाई कारवाही लागि माग गरेको छ। जिल्ला कमिटी पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण कार्यक्रममा तोडफोड गराएको भन्दै नेकपा प्रदेश कार्यालयले नेपालसहितका नेताहरुलाई कारवाहीको माग गरेका हुन्।

भाद्र २४ गते बर्दिबासमा ६ वटा जिल्लाको सपथ ग्रहण गराउने तयारी थियो। बर्दिबास सेवा समितीको हलमा हुन लागेको कार्यक्रममा तोडफोड तथा प्रदेश अध्यक्ष प्रभु साह एवं सचिव सुमन प्याकुरेलमाथि हातपातको प्रयास भएको थियो। भोलिपल्ट बसेको प्रदेश कार्यालयको बैठकले उक्त घटना नेता नेपाल तथा स्थायी कमिटी सदस्य मातृका यादवको निर्देशनमा भएको निचोड निकाल्दै नेताद्वयमाथि छानबिन गरी आवश्यक कारवाहीको माग गरेको छ।

एक जना प्रदेश पदाधिकारीले यसको पुष्टि गर्दै भने, पार्टीको केन्द्रीय नेतृत्वको निर्देशनमा सपथ ग्रहण कार्यक्रम राखिएको थियो। विवाद केही होइन, केन्द्रमा भएको असन्तुष्टि तल्लो तहमा पोख्न उहाँहरुले सपथ ग्रहण नै भाँड्न खोज्नुभयो। तर पनि पार्टीका इमान्दार कमरेडहरुले संयमता देखाउनुभयो र दुई जिल्ला सिरहा र सप्तरीको सपथ ग्रहण पनि भयो। नाराबाजी भैरहँदा अध्यक्ष प्रभु साहले वार्ता गरौं आवश्यक परे रोक्न पनि सकिन्छ भनिरहँदा पनि आपराधिक रुपमा जुन व्यवहार देखियो त्यो निन्दनीय छ।

उनले भने, पछि घटनाबारे सूक्ष्म रुपमा बुझ्दा पार्टी वरिष्ठ नेता माधव नेपाल तथा मातृका यादवको निर्देशनमा उक्त कार्य भएको हुनाले पार्टी नेतृत्वसँग दुई जना नेतामाथि छानबिन गरि आवश्यक कारवाहीको माग गर्दै लिखित निर्णय नै गरेका हौँ । सपथ ग्रहण कार्यक्रम भाँड्ने प्रयासस्वरुप भएको तोडफोडको नेतृत्व भने पदभार ग्रहणसमेत गरिनसकेका नवनियुक्त प्रदेश सह-इञ्चार्ज महेन्द्र पासवानले आक्रमणको नेतृत्व गरेको भन्दै केन्द्रीय कमिटीबाट निष्कासन गर्न प्रदेश कार्यालयको माग छ। प्रदेश कार्यालय बैठक बोलाउदासमेत नआएको, कुनै जानकारी नगराएको र पार्टीविरुद्धको गतिविधि गरेको निष्कर्ष प्रदेश कार्यालयले निकालेको हो।

आक्रमणमा संलग्न अर्का केन्द्रीय सदस्य जगत यादवलाई पनि केन्द्रीय कमिटीबाट निकाल्न माग गरिएको छ । त्यस्तै आक्रमणमा संलग्न गंगा पासवान र फुलगेन नायकलाई प्रदेश कमिटीबाट निष्कासन गर्न र पूर्वमन्त्रीसमेत रहेका उमेश यादवको पार्टीको साधारण सदस्यता खारेज गर्न माग गरिएको प्रदेश कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्