नेकपा झापाद्वारा जनसभाको तयारी

iswar
लाेकपाटी न्यूज
0 Shares

झापा, २ असोज। नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) झापाको जिल्ला कमिटीले संविधान दिवसको अवसरमा जनसभाको आयोजना गर्ने भएको छ। नेकपा झापाको प्रचार विभागले आज पत्रकार सम्मेलन गरेर असोज ३ गते जनसभाको आयोजना गर्न लागेको जानकारी गराएको हो।

जनसभालाई नेकपा स्कुल विभागका प्रमुख तथा सचिवालय सदस्य ईश्वर पोखरेल सहित केही केन्द्रीय नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। नेता पोखरेलका साथै स्थायी कमिटी सदस्य तथा प्रदेश १ का पार्टी इन्चार्ज भीम आचार्य, केन्द्रीय कमिटी सदस्य प्रदेश १ का अध्यक्ष देवराज घिमिरे, केन्द्रीय सदस्य राम कार्की लगायतका नेताहरूले जनसभालाई सम्बोधन गर्ने नेकपा झापाका पार्टी अध्यक्ष चिन्तन पाठकले जानकारी दिए।

संविधान दिवस आम नेपालीको उत्सव भएकोले नेकपाले आयोजना गरेको जनसभामा उपस्थित हुन उनले सबैमा आव्हान पनि गरे। सडकमा संविधान विरोधी गतिविधि बढ्दै गएकोले त्यसको खबरदारीका लागि पनि यो कार्यक्रमको आयोजना गरिएको उनको भनाइ छ।

संविधान कार्यान्वयन र रक्षाको दायित्व पनि संविधान निर्माणको नेतृत्व कर्ता दलको हैसियतले यस्तो कार्यक्रमको आयोजना गर्न लागिएको उनले बताए। उनले सोही दिनलाई स्थानीय चोक-चोकमा दीपावली मनाउन निर्देशन दिए। कार्यक्रम तालिका अनुसार ११ बजे बिर्तामोड प्रवेश गरिसक्ने, ११ :३० बजेबाट र्‍याली सुरु गरी कार्यक्रम स्थल पुरानो इलाम स्टेसनमा जाने बताइएको छ।

झापामा सबै तहमा नेकपाको एकीकरणका सबै कामहरू सम्पन्न भइसकेका छन्। नेकपाले सोही अवसरमा प्रशिक्षणका कार्यक्रम गर्ने तयारी रहेको समेत जानकारी गराइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्