Spread the love
  •  
  •  
  •  
  •  
  •  

मेडिकल कलेजका लागि आफ्नै अस्पताल हुनुपर्ने प्रावधान

0

काठमाडौं- नेपाल नर्सिङ काउन्सिलको मापदन्डअनुसार नर्सिङ कलेज सञ्चालनका लागि आफ्नै अस्पताल हुनुपर्छ। नर्सिङ कलेजका शिक्षण अस्पतालमा बेड अकुपेन्सीसमेत न्यूनतम ६० प्रतिशत हुनुपर्छ।

नियमअनुसार नर्सिङ कलेजहरुले २०७४ सालको असोज मसान्तभित्र आफ्नै अस्पताल बनाइसक्नुपर्ने थियो। तर उक्त समय सकिएर दुई वर्ष बित्न लाग्दासमेत ९३ वटा कलेजका आफ्नै अस्पताल छैनन्।

मापदण्ड विपरित चलेका यी कलेजलाई सरकारले थप डेढ वर्ष समयसिमा दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विगतमा दिएको समयसिमामा मापदण्ड पुरा नभएको भन्दै अन्तिम पटकका लागि मापदण्ड पुरा गर्न समय थप्ने निर्णय गरेको हो।

मन्त्रालयले राष्ट्रिय चिकित्सा शिक्षा ऐनमा नै मापदण्ड पुरा गर्न समय दिएपछि थप समय दिने निर्णयमा पुगेको हो। मन्त्रालयले ऐन अनुसार ०७७ फागुन ९ गतेभित्र आफ्नै अस्पताल नभएका नर्सिङ कलेजलाईसय शय्याको अस्पताल निर्माण गरिसक्नुपर्ने निर्णय गरेको छ।

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले चिकित्सा शिक्षा ऐनविपरीत नहुने गरी नर्सिङ कलेजलाई आफ्नै अस्पताल बनाउन निर्देशन दिने निर्णय गरेको उनका निजी सचिव भवनाथ खतिवडाले जानकारी दिए।

उनका अनुसार मन्त्रालयले उक्त अवधिमा अस्पताल नहुने र मापदन्ड पूरा नभएका कलेजको सम्बन्धनसमेत खारेज हुने निर्णयसमेत भएको छ।

‘चिकित्सा शिक्षा ऐनमा ऐन आएको दुई वर्षभित्र आफ्नै अस्पताल बनाइसक्नुपर्ने उल्लेख छ,’ खतिवडाले भने, ‘मन्त्रालयले सोही व्यवस्थाअनुसार ०७७ फागुन ९ भित्र अस्पताल बनाइसक्ने र अस्पताल नहुनेको हकमा कलेजको सम्बन्धन नदिने निर्णय गरेको हो।’

मन्त्रालयको यो निर्णयपछि आफ्नै अस्पताल नभएका ९३ कलेजले अनिवार्य रुपमा एक सय शय्याका अस्पताल मन्त्रालयले तोकेको मापदन्डअनुसार निर्माण गर्नुपर्ने हुन्छ। यसका साथै हाल ५० शय्या भएर पनि ४० जना विद्यार्थी पढाइरहेका कलेजले भने अबको एक वर्षभित्र एक सय शय्याका अस्पताल बनाइसक्नुपर्ने हुन्छ।

काउन्सिलले ५० शय्यामा स्वीकृत भएका सरकारी वा निजी अस्पताल देखाएर ४० जना विद्यार्थी पढाइरहेका नर्सिङ कलेजहरुलाई आफ्नै १०० शय्याभन्दा माथिको अस्पताल व्यवस्था गर्न सूचना जारी गरिसकेको छ।

काउन्सिलको साउन २ गते बसेको बैठकले ५० शय्या भई ४०  जना विद्यार्थी पढाइरहेका अस्पतालाई आगामी आगामी शैक्षिक सत्र ०७७÷८८ सम्म सूचनाअनुसार व्यवस्था नगरे विद्यार्थी सिट संख्या कटौती गर्ने निर्णय गरेको जनाएको छ।

चिकित्सा शिक्षा ऐनको दफा ४४ मा मापदन्ड कायम गर्नुपर्ने सम्बन्धी व्यवस्थाको उपदफा (१) र (२) मा सबै शिक्षण संस्था मापदन्डअनुसार सञ्चालन हुनुपर्ने व्यवस्था छ।

‘ऐन प्रारम्भ हुनुभन्दा अघि आफ्नो अस्पताल सञ्चालन नभए पनि शैक्षिक कार्यक्रम सञ्चालन गरेका शिक्षण संस्थाले यो ऐन प्रारम्भ भएको दुई वर्षभित्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको मापदन्डबमोजिम अस्पताल सञ्चालनमा ल्याउनुपर्ने छ,’ ऐनमा उल्लेख छ। ऐन २०७५ फागुन १० गतेदेखि लागू भएको हो।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
You might also like
Comments
Loading...