Spread the love
  • 663
  •  
  •  
  •  
  •  
    663
    Shares

‘कम्युनिष्ट हुनु हिन्दू, क्रिश्चियन वा बुद्धिष्ट हुनु होइन’

0

काठमाडौं। कम्युनिष्टहरु भौतिकवादी सिद्धान्त मान्दछन्। उनीहरुका दृष्टिमा अलौकिक शक्ति अर्थात् ईश्वर, प्रभू, अल्लाह कोही पनि हुँदैनन्। किनकि उनीहरुको दर्शनको मुल अन्तरवस्तु विज्ञानमा विश्वास गर्नु हो।

तर, नेपालमा कम्युनिष्ट र भौतिकवादलाई एकअर्कासँग अलग राखेर प्रयोग गर्न थालिएको छ। नेपालमा यस्तो कम्युनिष्ट छन्, जो बिहानै मन्दिर जान्छन्, व्रह्मा, विष्णु, महेश्वरको पूजा गर्छन् र दिउँसो मार्क्सवादी प्रवचनमा जान्छन्। उनीहरुका दृष्टिमा मार्क्सवादी हुन वा कम्युनिष्ट हुन भौतिकवादी भइरहनु पर्दैन, उनीहरुलाई जे ईच्छा लाग्छ, त्यो गर्नु नै कम्युनिष्ट हुनु हो।

अर्कोथरि कम्युनिष्टहरुले कम्युनिष्ट हुनु हिन्दू धर्मको विरोध मात्रै हो भनेर बुझेका छन्। उनीहरु मन्दिर त जाँदैनन्। तर, चर्च जान्छन्। उनीहरु हिन्दू धर्मको विरोधमा सबैभन्दा अघि देखिन्छन्। तर, क्रिश्चियन धर्म र संस्कृतिका लागि मरिहत्ते गर्छन्। उनीहरुका दृष्टिमा कम्युनिष्ट हुन हिन्दू धर्मको विरोध गर्नुपर्छ। क्रिश्चियन धर्मको समर्थन गर्नुपर्छ। यो एकदमै गलत बुझाइ हो।

नेपालमा कम्युनिष्ट पार्टीका ठूलै नेता पनि खुलेआम क्रिश्चियन बनेका कारण जनतामा पनि कम्युनिष्टहरु हिन्दू धर्मका मात्रै विरोधी हुन् भन्ने परेको छ। त्यसैले हिन्दू धर्मका पूराना संस्कार र रुढीवादको कसैले विरोध गरेमा ‘यो क्रिश्चियन पो रहेछ, त्यही भएर विरोध गरेको होला’ भन्ठान्छन्। यसले धर्म, दर्शन र संस्कृतिबारे हुनुपर्ने खास बहसलाई ओझेलमा पारिरहेको छ।

साम्यवादी दर्शनका प्रणेता कार्ल मार्क्सले कम्युनिष्टहरुले धर्मबारे अपनाउनुपर्ने पाँच सिद्धान्त अघि सारेका छन्। कार्ल मार्क्सका दृष्टिमा कम्युनिष्ट हुनु भौतिकवादी हुनु हो, विज्ञानमा विश्वास गर्नु हो, अनुसन्धान र त्यसबाट आउने निष्कर्षमा विश्वास गर्नु हो, इतिहासका वास्तविक तथ्यहरुको उभिएर सत्यको विवेचना गर्नु हो।

मार्क्सका अनुसार कम्युनिष्टहरु कुनै पनि धर्ममा विश्वास गर्दैनन्, चाहे त्यो हिन्दू होस्, चाहे वुद्ध, किश्चियन, इसाई, मुस्लिम वा अरु कुनै। उनीहरु धर्मको विरोधी होइनन्। तर, धर्मबाट अलग रहन्छन्। कुनै पनि धर्मको समर्थन र विरोध नगर्नु मार्क्सवादको सबैभन्दा गुदी कुरा हो।

कम्युनिष्टहरु धर्मका नाममा कसैमाथि विभेद गर्दैनन्। उनीहरु सबै धर्मका अनुयायीहरुलाई समान आँखाले हेर्छन्। जनताको धार्मिक भावनाको सम्मान गर्नु कम्युनिष्टहरुको जिम्मेवारी हो। कम्युनिष्ट पनि कुनै नश्ल वा जातिमा जन्मिन्छ। तर, त्यही जातिको विचार र धर्म लिएर अघि बढेको मान्छे कम्युनिष्ट होइन। जुन जाति, जुन धर्म वा जुन संस्कृतिमा जन्मिए पनि ऊ त्यसभन्दा माथि उठेर भौतिकवादी सिद्धान्तको पक्षमा उभिनुपर्छ।

कम्युनिष्टहरु धार्मिक मतभेदमा कुनै पनि कित्तामा उभिनु हुँदैन। यदि क्रिश्चियन र हिन्दूको, क्रिश्चियन र वुद्धिष्टको झगडा भइरहेको अवस्थामा कुनै कम्युनिष्ट पुग्यो भने उसले एउटा धर्मको समर्थन लिएर अर्को धर्मको समर्थन गर्ने मान्छेमाथि दवाव सिर्जना गर्नु हुँदैन, चाहे त्यो झगडामा उसको आफ्नै नजिकको मानिस सामेल भएको किन नहोस्। हिन्दू धर्म कि क्रिश्चियन धर्म ठीक, हिन्दू कि वुद्ध ठीक ? यो बहसमा कम्युनिष्टहरु कहिल्यै फस्दैनन्।

मार्क्सका अनुसार राज्यका दृष्टिमा सबै धर्म बराबर छ। राज्यले कुनै धर्मको प्रवद्र्धन र कुनै धर्मको निषेध गर्ने नीति लिनु हुँदैन। उनले कुनै पनि धार्मिक कार्यमा राज्यको तर्फबाट लगानी गर्नु हुँदैन। धार्मिक समुदायले गर्ने स्वतन्त्र गतिविधिमा राज्यले हस्तक्षेप गर्नु हुँदैन। राज्यका लागि सबै धर्म समान छन्। तर, राज्य सबै धर्मबाट तटस्थ बस्नुपर्छ।

कम्युनिष्टको आफ्नो कुनै धर्म हुँदैन। उसको त समानताको, न्यायको, स्वतन्त्रताको, श्रमको आफ्नै नैतिकता हुन्छ, आफ्नै मूल्य हुन्छ, आफ्नै आदर्श हुन्छ। उनीहरु अदृश्य शक्तिमाथि विश्वास गर्दैनन्। तर, जनतालाई बलप्रयोग गरेर धर्म नमान्न दवाव दिँदैनन्। बरु, धर्मका खराबीहरु बुझाएर भौतिकवादी बाटोमा हिंडाउन कोशिस गर्दछन्। विज्ञानको बाटोमा अग्रसर गराउन जागरण र सचेतना जगाउँछन्।

कार्ल मार्क्सले धर्मलाई अफिमसँग तुलना गरे। जसरी अफिमले मानिसलाई लठ्याउँछ, त्यसैगरि धर्मले पनि जनतालाई अन्धो बनाउँछ। उसले विज्ञानको कष्टसाध्य अनुसन्धान, इतिहासको कष्टसाध्य ज्ञान र नयाँ–नयाँ तथ्यको खोजी गर्ने कठीन बाटो हिड्न सक्दैन। जबसम्म मानिस अन्धविश्वास वा अलौकिक शक्तिको सामर्थ्यको मिथ्या कल्पनाबाट माथि उठेर वस्तुगत जगतका तथ्यमा उभिँदैन, तबसम्म ऊ कम्युनिष्ट हुँदैन।

हामीकहाँ मूख्यतः तीन थरि कम्युनिष्ट छन्। एकथरि कम्युनिष्ट विज्ञानमा विज्ञान गर्छन्, कुनै पनि धर्मको समर्थन र विरोधमा कहिल्यै उभिँदैनन्। उनीहरु ऐतिहासिक भौतिकवादी विश्व दृष्टिकोण चल्छन्। दोस्रो थरि कम्युनिष्टहरु कट्टर हिन्दूवादी छन्, उनीहरु अरु धर्मको चर्को विरोध गर्छन्। आफू खाटी कम्युनिष्ट भएको मान्छन्। तर, भौतिकवाद मान्दैनन्। तेस्रोथरि चाहिँ हिन्दू धर्मको विरोध गर्ने नाममा प्रभूको शरणमा परेका छन्। उनीहरु हिन्दू धर्मको विरोध गर्छन्। तर, भौतिकवाद मान्दैनन्। यिनीहरु पनि कम्युनिष्ट होइनन्।

धर्म र संस्कृति एउटै हुन भन्ने गहिरो भ्रम छ। उनीहरु हिन्दू, वुद्ध र क्रिश्चियन धर्मको अन्धतालाई आफ्नै वैदिक, परम्परागत संस्कृति ठान्छन्। तर, धर्म र संस्कृति अलग कुरा हुन्। धर्म अलौकिक शक्ति र चेतनाप्रतिको विश्वास हो। तर, संस्कृति आर्थिक सामाजिक धरातलको उत्तरदेन। संस्कृति प्रगतिशील पनि हुन्छ। तर, धर्म कहिल्यै प्रगतिशील हुँदैन। तर, नेपालमा यसबारे पर्याप्त छलफल, बहस हुन सकेको छैन।

Spread the love
  • 663
  •  
  •  
  •  
  •  
    663
    Shares
You might also like
Comments
Loading...