नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीबीचको छलफल महत्वपूर्ण : उपप्रधानमन्त्री पोखरेल

Iswor pokharel
लाेकपाटी न्यूज

काठमाडौं, ८ असोज। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीबीचको छलफल महत्वपूर्ण भएको बताएका छन् । केहीले चिनियाँ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) एउटै देशको पार्टी वा त्यसैको शाखा हो कि भनेर चित्रण गरेको प्रसङ्ग जोड्दै नेकपाका केन्द्रीय पार्टी स्कूल विभाग प्रमूखसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले यसको नामले नै प्रस्ट पार्ने भएकाले आफूले केही भनिरहनु नपर्ने बताए ।

काठमाडौंमा सी चिनफिङको विचारधाराबारे चिनियाँ र नेपाल कम्युनिष्ट पार्टीको धारणा तथा नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीबीच विचारधारात्मक छलफलको समापन गर्दै उनले आ–आफ्नो अभ्यास, अनुभव साटासाट गरेर एकअर्काबाट सिक्नका लागि कार्यक्रम गरिएको बताए। नेकपाको केन्द्रीय पार्टी स्कूल विभाग र चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागको संयुक्त आयोजनमा सोमबारदेखि उक्त कार्यक्रम शुरु भएको थियो।

उपप्रधानमन्त्री पोखरेलले पार्टीको योजनाअन्तर्गत रहेर स्कूल विभागले आपसी सम्बन्ध, बन्धुत्वपूर्ण, मित्रता, भाइचारा एवं कूटनीतिसम्बन्ध रहेका मुलुकसँग उपयोगी हुने गरी यस्ता कार्यक्रम आगामी दिनमा पनि गर्नसक्ने बताए। उनले नेपालका कम्युनिष्ट विज्ञहरुलाई पनि अनुभव साटासाट गर्न अर्काे देशमा पठाउन सकिने विचारसमेत व्यक्त गरे।

‘यो दुई दिनमा गरीबी निवारणसम्बन्धी धेरै कुराहरु सिक्ने अवसर मिल्यो, बदलिएको अवस्थामा पार्टीलाई कसरी सुदृढ बनाउने, सुधार र विकासका कामलाई कसरी अगाडि बढाउने भन्ने विषयमा जानकारी लियौँ, चिनियाँ राष्ट्रपति सी जिनपिङले अगाडि बढाएको बेल्ट एण्ड रोड इनिसिएटिभ (विआरआई)ले परिवर्तित अवस्थामा मानव जातिलाई कसरी समृद्धितर्फ लैजान सक्न भनेरसमेत जानकारी प्राप्त भयो, यो महत्वपूर्ण उपलब्धि हो’, उनले भने, ‘यी विषयमा केही जानकारी भएको छ, ठूलो कुरा हामीलाई भोक जगाएको छ, अब थप अध्ययन गरेर जानकारी लिनु जरुरी छ ।’

मुलुकमा लामो समयदेखि लिँदै आएको कार्य्दिशा परिवर्तन भएको र एउटा राजनीतिक कार्य्दिशा पूरा भएर समृद्धिका लागि नयाँ कार्य्दिशाका साथ अगाडि बढिरहेका बेला पार्टीका विचारलाई पुनः व्यवस्थित गर्नका लागि पनि यस्ता छलफल कार्यक्रम आवश्यक भएको उनको भनाइ थियो ।

त्यसैलाई ध्यानमा राखेर नै दुई कम्युनिष्ट पार्टीबीचमा कार्यक्रम गरिएको र यस्ता कार्यक्रमले अझै निरन्तरता पाउने उनको जिकिर थियो। समापनका क्रममा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय स्कूल विभागकी काउ लीले सी जिनपिङको विचारधारा भनेको नयाँ युगको चिनियाँ विशेषतायुक्त विचारधारा भएको उल्लेख गर्दै दुई पार्टीबीचको छलफलले आपसी सम्बन्ध थप प्रगाढ बनाएको बताए। उनले दुई पार्टीबीचको छलफल वैचारिक आदानप्रदानका हिसाबले कोशेढुङ्गा साबित भएको उल्लेख गरे।