Spread the love
  • 48
  •  
  •  
  •  
  •  
    48
    Shares

आज विजयादशमी, टीका जमरा ग्रहण गरी ठूलाबडासँग आर्शिवाद थापिँदै

0

काठमाडौं, २१ असोज। यस वर्षको विजयादशमी अर्थात् दशैंको टीका लगाउने दिन (मंगलबार) आज परेको छ। टीकाको उत्तम साइत बिहान १०ः३५ मा रहेको छ। सूर्योदयदेखि सूर्यास्तसम्मको समयावधिमा उत्तम बारबेलालाई सूर्योदय र सूर्यास्तलाई आधार मानेर टीकाको शुभसाइत निर्धारण गरिएको हुन्छ।

सप्तधान्य (जमरा) क्रमशः बढ्दै जति राम्रा हुन्छन् त्यति भगवती प्रशन्न हुनुहुन्छ भन्ने धार्मिक मान्यता रहेको छ। सप्तधान्य अंकुर दुर्गादेवीको प्रिय भएकाले सप्तधान्य रोपण गरी दूर्गा देवीलाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ।

यस सम्बन्धमा श्रीमद्देवीभागवत नवरात्र प्रकरणमा नवरात्र पर्यन्त अहोरात्र व्रत बसी दशमीका दिन शुभसाहितमा भगवान रामचन्द्रले रावण माथि विजय प्राप्त गरेकाले यसलाई विजयादशमी भनिएको हो भन्ने कथन छ। वैदिक ज्योतिष अनुसार चान्द्रवर्षमा ३५४ दिन हुने कुरा बताइएको छ। चान्द्रकला विज्ञानका आधारमा वर्षभरिमा लगभग ६ महिनाको कृष्णपक्षको चतुर्दशी मात्र क्षय भई बाँकी वर्षभरि कुनै पनि तिथि घट्बढ् नहुने सिद्धान्त विश्वकै सर्व प्राचीन वैदिक ज्योतिषको रहेको छ।

यस आधारमा शुक्लप्क्षमा त कुनै पनि तिथि घट्बढ् हुने कुरै भएन, कृष्णपक्षमा पनि केवल १४औं दिन मध्याह्न पछि चन्द्रकला क्षय भयो भने मात्र सो महिनामा चतुर्दशी मात्र टुटी सोही १४औं दिनलाई औंसी मान्ने सिद्धान्त वेदका ज्योतिषको रहेकाले पुराणहरूमा पनि नवरात्रलाई कहीं पनि तिथि घट्यो भनेर अष्टरात्र र कहीं पनि तिथि बढ्यो भनेर दशरात्र हुने कुरा मिल्दैन। आजभोली निरयण अर्वाचीन ज्योतिषका आधारमा गणित गरी वेद–पुराणहरूका सिद्धान्त विपरीत खण्ड तिथि मान्ने सिद्धान्त गणित अघि सारी कहीले आठै दिनमा र कहीले दशौं दिनको दशैं पर्व लेख्ने गर्दछन्, तर पनि यदा कदा सामाजिक समस्या आई पर्दछ।

जस्तै दोलखा भीमेश्वरमा बजार समितिले पञ्चांगको निर्णय विपरीत अष्टमी र नवमी एकैदिनमा परेको छ भन्दा हाम्रो संस्कृति अनुरुप दुई दिनको कार्य खप्ट्याउन मिल्दैन भनेर न मानेको कुरा सर्व विदितै छ।

षोडशोपचारले अर्थात् सोह्र सामग्रीले भगवती दुर्गा र अरू देवीहरू तथा देवताको पूजा गरी, नौ दिनसम्म गरेको पूजाको काममा कुनै त्रुटि भयो कि भनी त्यसलाई पूरा गर्न तामाको थालीमा चन्दनले अष्टदल लेखी त्यसका बीचमा माटाका देवीका तीन प्रतिमा वा राता अक्षताका तीन थुप्रा राखी बीचमा अपराजिता देवी, दाहिनेतिर जया देवी, देब्रेतिर विजया देवीको आवाहन र सोह्र सामग्रीले पूजा गरी यथाशक्ति हवन गरी जमरालाई पूजा गरी अनि भगवती दुर्गा, अन्य देवदेवीहरूलाई चढाई आरती र पुष्पाञ्जली गरिन्छ।

यति गर्नाले कसैले पनि आफूमाथि दमन (विजय) गर्न सक्दैन भन्ने धार्मिक विश्वास छ। त्यसपछि निम्न मन्त्र पढ्दै चन्दन, अक्षता, फूल छर्कँदै माफी माग्दै दुर्गा भगवती र अन्य देवीदेवतालाई विसर्जन गरी उठाएर अन्यत्र राख्नुपर्दछः ‘आवाहनं नजानामि नजानामि विर्जसनम्। पूजां चैव नजानामि क्षम्यतां परमेश्वरी। यसपछि देवीका मूर्तिहरू र नवपत्रिकालाई बाजा, गाजा या वैदिक मन्त्र पढी जलाशयमा लगी सेलाई त्यसपछि घडाका जलले अभिषेक गरी देवीलाई चढाएको रातो अनि सेतो वस्त्रको कपडालाई प्रसादको रूपमा घाँटीमा लगाइन्छ।

अनि घरका मूल मान्छेले भगवतीको प्रसाद स्वरूप अवीर र दहीमा मुछेको चामलका टीका निधारमा, जमरा टाउकोमा लगाई दक्षिणा दिई आशीर्वाद दिन्छन्। अनि सपरिवार नातेदारकहाँ तथा मान्यवरकहाँ दशैंको लागि तयार पारी राखिएको नयाँ लुगा लगाई टीका लगाउन जान्छन्।

टीका लाउँदा दिने आशिषः
आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च र्दुयोधने।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ॥

यसपछि देवीका मूर्तिहरू र नवपत्रिकालाई बाजा, गाजा या वैदिक मन्त्र पढी जलाशयमा लगी सेलाई त्यसपछि घडाका जलले अभिषेक गरी देवीलाई चढाएको रातो अनि सेतो वस्त्रको कपडालाई प्रसादको रूपमा घाँटीमा लगाइन्छ। घरका मूलिद्वारा भगवतीको प्रसाद स्वरूप अवीर र दहीमा मुछेको चामलका टीका निधारमा, जमरा टाउकोमा लगाई दक्षिणा दिई आशीर्वाद ग्रहण गरिन्छ। अनि सपरिवार नातेदारकहाँ तथा मान्यवरकहाँ दशैँको लागि तयार पारी राखिएको लुगाले ठाँटिएर टीका लगाउन जान्छन्।

Spread the love
  • 48
  •  
  •  
  •  
  •  
    48
    Shares
You might also like
Comments
Loading...