Spread the love
  • 23
  •  
  •  
  •  
  •  
    23
    Shares

बडादशैं : धार्मिक र ऐतिहासिक महत्व

0

काठमाडौं । दशैं नेपालीहरूको सबैभन्दा विशेष पर्व मानिन्छ। नेपाली हिन्दू पात्रो अनुसार आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन पूजापाठ, व्रत र उत्सवका साथ मनाइने चाड भएको हुनाले यसलाई दशैं वा विजयादशमीका नामले पनि चिनिन्छ।

दशैं आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु हुन्छ र यसको पहिलो दिनलाई घटस्थापना भनिन्छ। दशैं प्रतिपदा घटस्थापनादेखि पूर्णिमा (कोजाग्रत)सम्म १५ दिनको हुने भएता पनि पहिलो ९ दिनलाई नवरात्रि र दशौँ दिनलाई दशमी वा दशैं भनिन्छ। यो तिथिमा माता दुर्गाले महिषासुर नामक दैत्यलाई तथा भगवान् श्री रामचन्द्रले रावणलाई वध गरेर मानव जातिको कल्याण गरेको भन्ने किंवदन्ती छ।

प्रतिपदा (घटस्थापना), सप्तमी (फूलपाती), महाअष्टमी, (कालरात्री), महानवमी, विजयादशमी र पूर्णिमा (कोजाग्रत) दशैंका प्रमूख तिथिहरू हुन्। विजयादशमीको दिन भगवतिले दानवी शक्तिमाथि र रामले रावनमाथि विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टीका र जमरा लगाउने चलन छ। आश्विन (असोज) महिनाको शुक्ल पक्षको दशमी तिथिको दिन यस पर्वको प्रमूख दिन हो। बताइन्छ कि भगवान् रामले यसै दिन रावणको वध गरेका थिए।

यसलाई असत्यमाथि सत्यको विजयको रूपमा लिइन्छ। यसकारण, दशमीलाई विजयादशमी भनिएको हो। वरपरका मानिसलाई समेत सजिलो होस् भन्ने हेतुले यो कार्य पूणिर्मासम्म गरिन्छ। आफ्ना नाता कुटुम्ब ठूलाबडा र मान्यजनबाट टीका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने नयाँ–नयाँ कपडाहरू लगाउने, आफ्नो क्षमता अनुसार मिठो खाना खाने–ख्वाउने, घर आँगन, बाटोघाटो, गाँउ बस्ती सफासुग्गर राख्ने जस्ता काम यस चाडमा विशेष उत्साहका साथ गरिन्छ।

दशैं वर्षका दुई अत्यन्त शुभ तिथिहरूमा पर्छन्ः चैत्र (चैत)को शुक्लको एवं कार्तिक शुक्लको प्रतिपदा तिथि। यी दिनहरूमा हिन्दूहरू नयाँ कार्य सुरु गर्दछन्, शस्त्रको पूजा गर्दछन्। प्राचीन कालमा राजाहरू यस दिन विजयको प्रार्थना गरेर रथ–यात्राको लागि प्रस्थान गर्दथे। यस दिन ठाउँ–ठाउँमा मेलाहरू लाग्थे।

दशैं शुरु हुनै लाग्दा नेपालमा लिङ्गे पिङ्ग बनाएर गाउँघरमा दशैं लागेको संकेत पनि दिन्छ। यो चलन नेपालमा पिता पुर्खाकालदेखि अहिलेसम्म चलिआएको छ। नेपालीहरुले दशैं, तिहारलाई वर्ष दिनको मिलन र खुसियालीका रुपमा पनि लिने गर्दछन्।

नेपाली समाजमा पारिवारिक कलह, मनमुटाव, असमानता भए पनि त्यसलाई चिर्दै बर्षमा एक पटक आउने दशैंलाई सबै आफन्तजन मिली एकअर्कामा मिलेर पर्व मनाउने परम्परा छ। दशैं विशेष गरी नेपालीहरूको महान चाड हो। समयको परिवर्तनसँगै नेपालीहरूमा पनि चेतनाको स्तर बृद्धि हुदै गएको देखिन्छ। जसको फलस्वरुप आफ्ना व्यक्तिगत पीडाका साथसाथै देश दुखेका आवाजहरू र खुशी पनि यत्रतत्र मालश्री गीत मार्फत गुञ्जन थालेका छन्।

नेपालमा दशैंका दिन देवी भगवतीको पूजा आरधना गरी पुराण लगाई पनि मनाइन्छ। देवी भगवतीले सबै दुख हरेर खुसियाली ल्याउने पौराणिक मान्यता भएकाले पनि पुराण लगाएर देवी भगवती को पूजा आरधना गरिन्छ। घटस्थापनादेखि नवरात्रसम्म गरिने नवदुर्गा भवानीको पूजा अति प्राचीन परम्परा हो। देवीपुराणमा ‘रामले आश्विन शुक्लको नवरात्रमा भगवतीको उपासना गरेर विजया दशमीको साइतमा लङ्कामा रावणका विरुद्ध युद्ध गर्न प्रस्थान गरेको’ प्रसङ्ग उल्लेख छ।

अनादिकालमा महिषासुर नामको राक्षसले गरेको अत्याचार र पीडाबाट मुक्त हुन आराधना गर्दा दुर्गा भवानीले महिषासुर राक्षस मारेर खुसीयाली मनाएको विजयादशमीको दिनदेखि शुभदिनका रुपमा मानिँदै आएको हो।

पृथ्वीनारायण शाहबाट विशाल नेपालको एकीकरणको अभियानमा काठमाडौं उपत्यका विजयपछि दशैंमा फूलपाती र जमरा गोर्खाको गोरखकाली मन्दिरबाट काठमाडौं ल्याइन्छ । फूलपाती मगर जातिको पूजारीले मात्र भित्र्याउने चलन छ ।

Spread the love
  • 23
  •  
  •  
  •  
  •  
    23
    Shares
You might also like
Comments
Loading...