Spread the love
  • 62
  •  
  •  
  •  
  •  
    62
    Shares

‘आयातित संस्कारकाे प्रभावले दशैं ‘दशैं’जस्ताे रहेन’

0

काठमाडौं। दशैं नजिकिएसँगै मानिसहरु उत्साहित देखिन्थे। खुसीको माहोल हुन्थ्यो। त्यो बेलाको सम्झना गर्दा अहिले पनि आनन्द महसुुुस हुन्छ। दशैंको माहोलमा परम्परागत रुपमा मनाइँदै आएको दशैंका तौरतरिका विषयमा कुरा गर्दा साहित्यकार मनीराज जोशीले आफ्नो विगत सम्झिए। ‘हामी दशैंको पर्खाइमा हुन्थ्यौं। मिठो खाइन्थ्यो। नयाँ लुगा पाइन्थ्यो। आफन्तजनसँग रमाइलो हुन्थ्यो,’ उनले भने, ‘दशैंमा मान्यजनबाट टीका थाप्दै आशिर्वाद लिन पाइने। यी सबै कराले हर्ष र उत्सवको माहोल हुन्थ्यो।

‘दशैंमा मन्दिरमा पूजाआजा गरिन्थ्यो। नवरात्रि थाप्ने प्रचलन त्यति बेला थियो। नवरात्रिमा बाजा बजाउने, इष्टमित्र आफन्तजनसँग भेटघाट गर्ने भएकाले त्यो बेलाको दशैं माहोल विशेष हुन्थ्यो’, उत्साहित हुँदै उनी युवाअवस्थामा दशैंको रमाइलो बारेमा सुनाइरहेका थिए।

दशैंको समायमा प्रकृतिले पनि खुलेको हुने भएकोले त्यसले पनि थप उर्जा मिल्ने उनी बताउँछन्। ‘दशैंको समयमा प्रकृति पनि सुन्दर हुन्छ। धान पाकेर पहेँलो भएको हुन्छ। पालुवाहरु पलाएका हुन्छन्। फूलहरु फूलेका हुन्छन्। मनमोहक वातावरण हुन्छ। यही समयमा आफन्तजनसँग भएका ती भेटघाट र रमाइला यादहरु…ओहो ! अहिले पनि ती दिन ताजा छन्,’ उनले भने।

सबै बसेर पूजापाठ गर्ने गरिन्थ्यो। दशैंलाई विशेष महत्व दिने गरिन्थ्यो। त्यति बेला मानिसमा भगवान् अथवा धर्मप्रतिको आस्था थियो। पूजापाठ गरेर भाकल गर्ने प्रचलन थियो। दशैंको समयमा पञ्चबली (गाउँमा सबैबाट पैसा उठाएर पशु किनेर बलि दिने) दिने प्रचलन थियो।

चाडपर्वको समयमा हुने मेलाहरुले वर्षभरि नभेटिएका साथीभाइ भेटिन्थे। यसले मानिसहरुमा आत्मियता बढाउँथ्यो। जसले सामाजिक भावनाको विकास हुने गरेको उनी बताउँछन्।

तर अहिले ?
दशैं अहिले पनि मनाउँछन्। पूजापाठ अहिले पनि गर्छन्। तर, मनमा उत्साह छाएको भने उनी देख्दैनन्। मानिसमा दशैंको उत्सव र उत्साह छैन। परम्परादेखि मानिँदै आएका राष्ट्रिय गौरवका चाडपर्वहरु हलुका भएर गएका छन्। केटाकेटी अवस्थाको सम्झना गर्दाको जस्तो अहिलेको दशैंमा आनन्दको अनुभूति उनलाई हुँदैन।

त्यो अनुभूति नहुनुमा उनी केही कारणहरु पनि उल्लेख गर्छन्। ‘सबै आ–आफ्नै काममा व्यस्त छन्। आफन्तजनसँग भेटघाट नै हुन सक्दैन। जसले सामाजिक एकताको भावना विकास हुन सकेको छैन। मानिसहरुबीच दूरी बढिरहेको छ। परम्परागत रुपमा मानिआएका संस्कार र रीतिरिवाजहरु मान्दैनन्। यसले मानिसहरुमा आत्मियताको विकास हुन सकेको छैन। जो राम्रो होइन।’

दशैंलाई पहिले जुन महत्व दिइन्थ्यो। आज त्यति महत्व नदिइएको उनको बुझाइ छ । परम्परागत रुपमा चलिआएका रीतिरिवाज, संस्कार, परम्पराहरुलाई आजका मानिसहरुले सामान्य ढंगले लिने गरेको छन्। उनी भन्दछन्, ‘उहिले कति आनन्द आउँथ्यो आउँथ्यो। सानोमा दशैं आयो भन्दा हुरुक्कै हुन्थ्यौं। आजभोलि दशैंलाई मानिसहरुले त्यति महत्व दिँदैनन्। पहिलेको दशैं र अहिलेको दशैंमा धेरै अन्तराल देख्छु म।’

उनलाई मानिसहरुले आफ्नो रीतिरिवाज र संस्कारहरुलाई हलुका रुपमा लिएका कारण दशैं पनि हलुका बन्दै गएको जस्तो लाग्छ। आयातित संस्कारकाे प्रभावले दशैं दशैंजस्तै लाग्न छाेडिसकेकाे बताउँछन् उनी। ‘हामीले हाम्रा माैलिक संस्कृति र संस्कारलाई भुल्नु चाहिँ हुन्न। आयातित संस्कारहरुले हामीलाई प्रभाव पारेको छ। परिवर्तनका नाममा धर्मलाई हामीले दोस्रो दर्जामा राख्यौं। संस्कृति र संस्कारलाई महत्व दिएनौं।’

हिन्दूहरुका चाडपर्वहरुको महत्व घट्नुमा पछिल्लो राजनीतिक परिर्वतन र आधुनिकीकरण पनि कारक रहेको उनी ठान्दछन्। उनी भन्छन्, ‘जातिवाद, धर्म सम्प्रदायका नाममा राजनीतिक हस्तक्षेप बढ्यो। धर्मविरुद्ध नारा लगाए। सामूहिक एकता र सामाजिक भावनामा बाँध्ने धर्म माथिको आस्था कम गर्ने काम भयो। यी परिवर्तनले हाम्रा चाडपर्वको गरीमा घटेको हो कि जस्तो नि लाग्छ।’

उनी आफूलाई परिवर्तका विरोधी नभएको पनि बताउँछन्। ‘समय अनुसार परिवर्तन हुनु स्वभाविक हो, त्यो हुन्छ। तर, परिवर्तनको नाममा उपद्रव र अतिवाद भएको महसुस हुन्छ। परिवर्तनको नाममा हाम्रा राम्रा संस्कारहरु छोड्नु हुँदैन,’ उनले भने।

संसार पनि आफ्नो धर्ममा टिकेकोले मानिसहरुले पनि धर्म छोड्न नहुने तर्क उनी गर्छन्। तर अहिले मानिसहरुले धर्ममा अतिक्रमण गरेको प्रति पनि उनको चिन्ता छ। आजको समाज अधर्मतिर गइरहेकोले दुःख लागेको भन्दै साहित्यकार मनीराज जोशीले व्यक्तिगत स्वार्थको निम्ति धर्मलाई बङ्ग्याउन नहुने तर्क गरे। धर्मले नै मानिसहरुलाई सामाजिक भावना र एकतामा बाँधेर राख्नेमा उनी विश्वस्त छन्।

सदियौंदेखि चलिआएका हाम्रा परम्परा, रीतिरिवाज र हाम्रा संस्कारहरु हाम्रा विरासत हुन्,’ उनले सुझाव दिँदै भने, ‘यी हाम्रा धरोहर हुन्, हाम्रा अमूल्य निधी हुन्। यी ढल्नु हुँदैन। किनकी यी हाम्रा पहिचान हुन्। यी संस्कार र मान्यता नरहे हाम्रो पहिचान पनि रहँदैन।’ प्राचीन कूरीति र कूसंस्कारलाई त्याग्दै सकारात्मक सभ्यता र संस्कृतिको जगेर्ना गर्नुपर्नेमा उनको जोड छ।

Spread the love
  • 62
  •  
  •  
  •  
  •  
    62
    Shares
You might also like
Comments
Loading...