Spread the love
  • 78
  •  
  •  
  •  
  •  
    78
    Shares

बहसमा दशैं : ‘पहिला कम्युनिस्टहरू नै रूपान्तरित हुनुपर्छ’

0

–अमर गिरी (प्रगतिशील लेखक)

२००६ सालमा नेपालमा कम्युनिस्ट पार्टीको स्थापना भएको थियो। पार्टी स्थापना भएको आज धेरै वर्ष बितिसकेका छन्। हामीले निरन्तर सांस्कृतिक रूपान्तरणको कुरा उठाउँदै आएका छौँ। तर, यतिलामो समय बितिसक्दा हामी कहाँनेर छौँ भन्ने कुरा मननीय छ।

नेपाली समाजको सांस्कृतिक रूपान्तरणको कुरा नेपालको कम्युनिस्ट आन्दोलनसँग जोडिएको छ। कम्युनिस्ट आन्दोलनको सांस्कृतिक रूपान्तरण सफल हुँदा नै समाजको रूपान्तरणको काम गर्न सक्छौँ।

हामीले नेपालमा सामन्तवादी संस्कृति र त्यसको मात्रै रूपान्तरणको कुरा गरेर यो आन्दोलनलाई ठीक ठाउँमा पुर्याउन सक्दैनौँ। सामन्तवादी–पुँजीवादी संस्कृति, त्यसले नेपालमा पारेको प्रभाव र त्यसको गठजोडबारे पनि व्यापक छलफल गरेर हामी निष्कर्षमा पुग्नुपर्छ।

संस्कार र संस्कृतिको रूपान्तरणको कुरा गर्दा हिन्दू धर्मसंस्कृतिमाथि बढी आफूलाई केन्द्रित गर्ने गरेका छौँ। यसैले जकडेकाले यसमा केन्द्रित हुनु ठीकै हो। तर, यसका साथै समग्र नेपाली संस्कृतिमाथि नै हामी केन्द्रित हुनु जरुरी छ।

समस्या हिन्दू धर्म र त्यसबाट डोमिनेट भएको संस्कृतिमा मात्र छैन। हामीकहाँ आदिमकालीन प्रकृतिपूजक संस्कृति पनि छ। त्यसका पनि समस्या छन्। संस्कृतिका विभिन्न रूप पनि छन्। जब हामीले समाजको सांस्कृतिक रूपान्तरण तथा वैज्ञानिक र सरल संस्कृतिको कुरा गरिरहेका हुन्छौँ, त्यस बेलामा हामीले नेपालको समग्र संस्कृतिको तस्वीर के हो ? त्यसको पनि मसिनो व्याख्या गर्नुपर्छ र आफ्नो प्रहारको निशाना के हो ? त्यसअनुसारको योजना बनाएर मात्र अगाडि बढ्नुपर्छ।

संस्कृति र संस्कार रूपान्तरणको सन्दर्भमा दुईवटा कुरा रहन्छन्, एउटा, यो क्रमिक रूपमा, बिस्तारै रूपान्तरण हुँदै जान्छ। अर्को, यसको रूपान्तरणका लागि हामीले सचेतन प्रयत्न गर्नुपर्छ, जसको माध्यमबाट हामी यसको रूपान्तरणको प्रक्रिया अगाडि बढाउँछौँ र आफ्नो उद्देश्यअनुसार हामी यसलाई लिएर जान्छौँ। यहाँ हामीले गर्न खोजेको कुरा हस्तक्षेपकै हो।

यदि हो भने हामीले अगाडि सार्नुपर्ने विकल्पहरू के–के होलान्। रूपान्तरणको कुरा गरेर मात्रै पनि हुँदैन। नेपाली कम्युनिस्ट आन्दोलन र यससँगै निरन्तर चलिरहेको सांस्कृतिक धरातल र यसको परिणतिलाई अगाडि राखेर हेर्दा कुरा गरेर मात्र सांस्कृतिक रूपान्तरण हुँदैन। हामीले पक्कै पनि त्यसका विरुद्ध ठोस विकल्प लिएर मात्र अगाडि जानुपर्छ।

संस्कृतिको विधि बनाएर एकाएक लागू गर्न पनि सकिन्न। सांस्कृतिक रूपान्तरणको जटिलतालाई बुझेर मात्र हस्तक्षेप गर्नुपर्छ किनकि यो धेरै जटिल समस्यासँग जकडिएको छ। आत्मिक पक्ष जोडिएका कयौँ पक्षहरू छन्, तिनलाई हस्तक्षेप होइन, रूपान्तरणको दिशामा गएर परिवर्तन गर्न सक्छौँ। अलिकति छलफल र विमर्शको माध्यमबाट हामीले जन्म, मृत्यु र बिहे संस्कारलाई बदल्न सक्छौँ। मानव जीवनका यी तीनवटा महत्वपूर्ण घटना छन्। यसलाई प्रगतिशील विधिमा बाँधेर अगाडि लैजाने प्रयत्न गर्नुपर्छ।

कम्युनिस्ट आन्दोलनको सांस्कृतिक रूपान्तरण कसरी गर्ने ? यो समस्या सबै कम्युनिस्ट पार्टीमा व्याप्त छ। कतै बढी छ, कतै कम छ। एउटा कम्युनिस्ट पार्टी सैद्धान्तिक, वैचारिक र राजनीतिक रूपमा सही ठाउँमा उभिए पनि सर्वहारावादी सांस्कृतिक मान्यता पनि सही ठाउँमा उभिएको हुन्छ भन्न सकिन्न। सिद्धान्त ठीक भएर मात्र हामीले सांस्कृतिक आन्दोलन सही रूपमा अगाडि बढाउन सक्दैनौँ। त्यसैले यो प्रश्नलाई गम्भिर रूपमा लिनुपर्छ।

माओले जो निरन्तर सांस्कृतिक क्रान्तिको कुरा गर्नुभएको छ, यसमा त्यो गम्भिर रूपले जोडिएको छ। संसार बदल्न हिँडेको कम्युनिस्ट पार्टी र त्यसका नायकहरूले त्यस्तो विशिष्ट गुण आर्जन गर्नुपर्छ। त्यस्तो गुण भएको नेतृत्वको अभाव छ। जसको अनुहार हेरेर रातमा निदाउन सकिन्छ। सुख र दुःखको बेलामा भरोसा गर्न सकिन्छ। त्यसकारण कम्युनिस्ट आन्दोलनको सांस्कृतिक रूपान्तरण आजको ज्यादै महत्वपूर्ण एजेण्डा हो।

Spread the love
  • 78
  •  
  •  
  •  
  •  
    78
    Shares
You might also like
Comments
Loading...