Spread the love
  • 45
  •  
  •  
  •  
  •  
    45
    Shares

बहसमा दशैं : ‘मध्ययुगमा स्वर्ग जाने टिकट बिक्री हुन्थ्यो’

0

– शशिधर भण्डारी (प्रगतिशील लेखक)

हिन्दू दर्शन पूर्वीय दर्शन हो। गङ्गा नदीको मैदानमा चार वेद १८ पुराणको विकास भयो। त्यसमध्ये कान्छो गरुडपुराण हो। संस्कृति र संस्कारमा आएका नयाँ विधि र विधानले प्रगतिशील भूमिका खेल्छन्। आर्यहरू जब सिन्धु उपत्यकाबाट तल्लो बाटो लागेर गङ्गा नदीको किनारमा बसेपछि आर्य सभ्यताको विकास भयो।

वैदिक सभ्यताको विकास कसरी भयो भने अन्नको बीउ फालेपछि सिन्धुको मैदानमा थुप्रै अन्न उब्जनी भइहाल्थ्यो। सबैभन्दा पहिला कृषियुग आयो। त्यसपछि पशुपालनको युग आयो। एसियाको विशेषता यस्तो रह्यो। यहाँ पशुपालनको युग आउँदा युरोपेलीहरू जङ्गलमा हिँड्थे। आजभन्दा पहिला पाँच सय वर्षको इतिहास हेर्दा यहाँ कृषि र पशुपालनको युग आयो। एसियाको विशेषता यस्तो रह्यो। यहाँ पशुपालनको युग आउँदा युरोपेलीहरू जङ्गलमै थिए। ५००–७०० वर्षसम्म युरोपको त्यो हालत थियो।

रूढिग्रस्त कुरा हाम्रो पूर्वीय दर्शनमा मात्रै छैन। पश्चिमा दर्शन हेर्यौं भने पुनर्जागरण कालभन्दा अगाडि मध्ययुगमा स्वर्ग जाने टिकट बिक्री हुन्थ्यो। पापमोचनपत्र बिक्री हुन्थ्यो। मार्टिन लुथर किङजस्ता मान्छेले त्यसको विरोध गरे। मार्टिन लुथरको सङ्घर्षपछि युरोपमा एउटा लहर आयो।

पुरातनवादी संस्कृतिका विरुद्ध सङ्घर्ष नगरिकन परिवर्तन नहुँदो रहेछ भन्ने कुरा युरोपको इतिहासबाट थाहा पाउन सकिन्छ। पूर्वीय दर्शनमा त्यसरी पुनर्जागरणको युग आएन। हामी ह्वाङ होलगायतको सभ्यता पढ्छौँ। त्यसलाई अवशेषका रूपमा मात्र हेर्छौं। गङ्गा नदीको मैदानमा हुर्किएको आर्यको वैदिक सभ्यता निरन्तर बगिरहेको छ। यसमा केही वैज्ञानिक कुराहरू पनि छन्।

केही धार्मिक व्यक्तिहरूले व्यक्तिगत स्वार्थ पूरा गर्नका लागि यसलाई विकृत बनाउँदै लगे। त्यही दर्शनका कारण महिलालाई दोस्रो दर्जाका रूपमा हेर्ने चलन चल्यो। तर, पूर्वीय दर्शनको पूरै अस्वीकार गर्ने भन्दा पनि त्यसका खराबीलाई हटाउने कुरा मुख्य हो। त्यसभित्र पनि विज्ञानसम्मत मन्यता छन्। यसको अध्ययन भइरहेको छ। जस्तो, वरपीपल। यसले मानव स्वास्थ्यका लागि अत्यावश्यक अक्सिजन कति फ्याँक्छ, यसको अध्ययन भइरहेको छ। यो वैज्ञानिक कुरा हो।

संस्कृति सरल होइन, बक्ररेखाबाट हिँड्छ। युनानको दर्शन विश्वव्यापी दर्शन थियो। त्यही दर्शनबाट अब हजारौँ दर्शन निर्माण भइरहेको छ। गरुडपुराणले त्यतिबेला प्रगतिशील महत्व राख्थ्यो। त्यतिबेलाका महिला र युवाहरूमा पर्यो, गङ्गा नदीको मैदानमा अनाज फल्थ्यो, उत्पादन हुन्थ्यो। त्यतिबेला सेना, पुलिस, राज्यबिनाको समाज थियो।

त्यस्तो अवस्थामा समाजलाई कसरी चलाउने र नियन्त्रण गर्ने भन्ने हुँदा गरुडलगायत ऋषिहरूले चिन्तन गरे र नियम बनाए, यो पाप गरे यो फल पाइन्छ। नराम्रो काम गरे नराम्रो फल पाइन्छ भनेर विधानजस्तो बनाए। तर, आज त्यो पुराण पुरातन भयो। समाज नयाँ ठाउँमा आइसक्यो। त्यो पुराणलाई आज शासकवर्गले शोषण गर्ने र शासन गर्ने साधन बनाए। त्यसैले अहिले हामी त्यो गरुडपुराणलाई स्वीकार गर्न सक्दैनौँ।

२०६६ सालमा मेरो बुबा बित्नुभयो। मैले पनि किरिया गरिनँ। यहाँँ पनि त्यस्तै भयो। यस बेला अशोकजीकी आमा बित्नुभयो। अशोकजीले किरिया गर्नुभएन। एकखाले पुरातनपन्थी समाजले उहाँले गरेको विद्रोह स्वीकारेन। त्यो पुरातनलाई बदल्न नचाहने चिन्तन हो। वैदिक परम्पराअनुसार पनि एक भाइले मात्र किरिया गरे पुग्छ। गरुडपुराणका लेखक र पाठक ठूलठूला विद्वान्हरूले किरिया नगरे पनि हुन्छ भनेका छन् भन्ने सुनिएको छ।

नेपालको कम्युनिस्ट इतिहासमा रामेछाप जिल्लाको पनि विशेष भूमिका छ। कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल जन्माएको जिल्ला हो यो। म प्युठानमा जन्मेको हुँ। प्युठान पनि एउटा ऐतिहासिक जिल्ला नै हो। म प्युठानबाट पछि दाङ बसाइँ सरेँ। मेरा बुबा प्युठानमै हुनुहुन्थ्यो। २०४१ सालमा नै त्यहाँ सहभोज कार्यक्रम चल्यो।

त्यतिबेलादेखि नै कम्युनिस्टको प्रभाव परेकाले बाबाको किरिया नगर्दा मलाई त्यति असहज भएन। पहिला केही समयसम्म त दाजुभाइले शव नै उठाउनुभएन। उहाँहरूले कपालसम्म फाल्न आग्रह गर्नुभयो। तर, मैले मेरो विचार, दर्शन र सिद्धान्तले दिँदैन भनेँ, उहाँहरूले भनेजस्तो गरिनँ। विकल्प के दिने त भन्दा फोटो राखेँ र साँझबिहान माल्र्यापण गरेँ। १३ औँ दिनको दिन कार्यक्रम गरियो। काङ्ग्रेसका मान्छेले समेत राम्रो हो भने।

मेरो बुझाइ के छ भने संस्कृति भनेको जडमा रहेर छलफल गर्ने विषय होइन। हामीले त पण्डितलाई पनि आसनग्रहण गराएका थियौँ। तिनीहरूले पनि यो ठीक छ बाबु भनेका थिए। बेठीक भयो भन्ने त एकजना पनि निस्किएन। कार्यक्रम भयो। वक्ताहरूले भाषण गरे। सकारात्मक सन्देश गयो।

नयाँ संस्कार त खासगरी नयाँ पुस्ताले प्रयोग गर्छ। पुरानो संस्कृति छोड्दै जाँदा नयाँ निर्माण हुँदै जान्छ। संस्कार कर्मकाण्डीय हुँदैन। बुद्धले भगवान् छैन, छ भने पूर्वमा छ भनेका थिए। उनलाई अहिले भगवान् मानिएको छ। तिनकै नाममा ठूलठूला मन्दिर, गुम्बा र चैत्य बनेका छन्।

वामपन्थी आन्दोलन कमजोर भयो भने मार्क्स र एङ्गेल्सहरूलाई पनि पूजा गर्नेतिर जान्छ। यो खतराबाट बचाउनुपर्छ। अहिले उत्तर कोरियामा किम इल सुङलाई पूजा गरिन्छ। बन हरियाली भएको पनि सुङकै कारण मानिन्छ। अहिले चीनमा माओको लाइन छोडियो। चीन उपभोक्तावादी संस्कृतितिर गयो। प्रतिक्रान्ति भयो। नयाँ पुँजीवादको अभ्यास भएको छ। त्यहाँ माओलाई ईश्वरका रूपमा मानिन्छ। तर, नीति मानिन्न। हामी पनि त्यो दिशातिर जाने खतरा रहन्छ। हाम्रा संस्कार र संस्कृतिलाई हामीले बदल्नु जरुरी छ।

हिन्दू संस्कारमा पहिला सतीप्रथा थियो। प्रताप मल्लका मात्रै ३३ वटी रानी सती गएका थिए। भारतको इतिहास हेर्दा महिलाहरूलाई पति मर्दा सती जान्नँ भन्ने पत्नीलाई लखेटीलखेटी आगोमा हालेर मारिन्थ्यो। पर्खाल नाघ्दै भागेर अङ्ग्रेजको घरमा गएर ज्यान जोगाएको इतिहास छ। हाम्रो हिन्दू दर्शनमा नरबलिको परम्परा थियो। यो पूर्वीय दर्शनमा भएको कुरा हो। हामीले यो छोड्न जरुरी छ।

अहिले पहिचानको कुरा आएको छ। यस विषयमा मेरो फरक मत छ। १९९० मा सोभियत युनियनको विघटनपछि जातीय पहिचानको नारा युरोपियनहरूले लिएका हुन्। जातीय मुद्दा वर्गसङ्घर्षलाई तुहाउन ल्याइएको हो। एसियालाई विभाजित गर्न ल्याइएको हो। यो आधुनिक नश्लवादी चिन्तन हो। भारतको एउटा कार्यक्रममा हामी गएका थियौँ। त्यहाँ जातीय पहिचानका बारेमा धेरै छलफल भयो।

नेपालबाट माओवादी, एमाले र हामी थियौँ। जातीय नारा हाम्रो नारा होइन भन्नेमा हामी पुगेका थियौँ। वर्गसङ्घर्षलाई धुमिल पार्न आएको नारा हो भन्ने थियो। पहिचानको राजनीति त बिगार्न आएको हो भन्ने शङ्का गरियो। यो उत्तरआधुनिकवादी संस्कृति हो भन्ने मलाई लाग्छ।

संस्कार, संस्कृतिलाई नउठाउने भन्ने होइन। हाम्रा विभिन्न भाषाभाषी र धर्मसंस्कृति छन्। यो नेपालीको सम्पत्ति हो। यसलाई वैज्ञानिक बनाएर जानुपर्छ। परिमार्जित गरी नयाँ बनाउनुपर्छ। नबदलिने भए सतीप्रथा रहिरहन्थ्यो। किरिया गर्ने समय १३ वर्षबाट १३ दिनमा झर्यो।

प्युठानमा अङ्ग्रेजी पढ्न खोज्दा मोहनविक्रमले गाई खाने विद्या लियो भन्थे रे। २०३८ सालमा म र एकजना मगरले सँगै भात खाँदा बहिष्कार गर्नुपर्छ भन्थे। आज समाज यहाँ आयो। समाज बदलिँदै जान्छ। तर, यसलाई गुणात्मक रूप दिनुपर्छ। हामीजस्ता अभियन्ताको आवश्यकता पर्छ। यताबाट अशोकजीले यसको अगुवाइ गर्नुभएको छ। यो धेरै राम्रो छ। हामी बदलिँदै जाँदा नयाँ संस्कृति पनि निर्माण हुँदै जान्छ। मार्क्सवादी ढङ्गले त्यसलाई बुझ्नुपर्छ।

तर, संस्कृति निर्माणका लागि हामी पाखण्डी हुनु हुँदैन। सम्झाउँदै बुझाउँदै जानुपर्छ। यसैगरी बौद्धिक बहस जारी राख्नुपर्छ। संस्कार र संस्कृति अवश्य बदलिन्छ। अशोक सुवेदीजीको पहलमा हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठानले यसरी रामेछापसम्म ल्याएर सांस्कृतिक रूपान्तरणमा सचेततापूवर्क बहस आरम्भ गराएको छ, यो अत्यन्त महत्वपूर्ण, सराहनीय र अनुकरणीय काम हो।

Spread the love
  • 45
  •  
  •  
  •  
  •  
    45
    Shares
You might also like
Comments
Loading...