Spread the love
  • 25
  •  
  •  
  •  
  •  
    25
    Shares

दशैंको आर्थिक पक्ष के हो ?

0

– सुरेश ढकाल, मानवशास्त्री

चाडपर्वहरुलाई बजारले अधिक नाफा कमाउने अवसरका रुपमा लिन्छ। त्यसैले आक्रामक हिसाबले यसलाई बिस्तार गर्ने भरपुर प्रयास गर्छ।

बजारको चरित्र नै मुनाफा अभिवृद्धिका लागि कुनै पनि अवसर र अवस्थामा यसको प्रयोग गर्ने हो। बजारको सबैभन्दा ठूलो चरित्र नै यही हो। बजारको कोणबाट विवेकी बजार पनि त्यही हो। बजारले सधैं उपभोगको संस्कृतिलाई प्रोत्साहित गर्छ। दशैं त झन् मुख्य भयो ।

दशैं लगायत चाडको अवसरमा मात्र दुई हजारभन्दा बढी सवारी साधन बुकिङ वा बिक्री भएका थिए। अरबौं रकम बराबरको कारोबार थियो त्यो। दशैंमा नयाँ सामान जोड्नुपर्छ भन्ने मान्यता पनि उत्तकै प्रचलनमा छ।

राज्यकै तर्फबाट पनि दशैंमा बिदा, अतिरिक्त रकमका रुपमा बोनसको व्यवस्था दिने गरिएको छ। बिदा र थप पैसा दिने कुराले यसको आर्थिक अर्थ र महत्व पनि झल्काउँछ।

तर, अहिले कस्तो खाने, कस्तो लाउने भन्ने कुराले सबै मान्छेलाई एकदमै प्रभाव पार्ने भएकाले यो प्रदर्शनमुखी चाडका रुपमा स्थापित भइसकेको छ। भए पनि नभए पनि देखाउनुपर्ने। पहिला दशैं भनेको पारिवारिक गतिविधिको चाड हुन्थ्यो, अहिले बजारको चाडजस्तो भएको छ।

घरहरु शून्य, बजार चकाचक। खासमा घरमा गतिविधि बढ्नुपर्ने, घरमा चकाचक हुनुपर्ने तर उल्टो भइरहेको छ। पहिला घर माटोले लिपपोत गर्ने ठाउँमा अहिले रङ त लगाइएला। तर, दशैं घरभित्र भन्दा बजारमा बढी लाग्छ। एकातिर वर्तमानको आर्थिक पाटो यस्तो छ भने अर्कोतर्फ दशैं प्रचलनको शुरुवात नै पनि आर्थिक गतिविधिसँग गाँसिएर आएको देखिन्छ।

दशैंको उद्भवको कुरा गर्दा यो शरदबाली भित्राएपछिको ‘पोस्ट हार्भेस्ट’ उत्सव हो। यो विशेषगरी मुख्य बाली भित्राइसकेपछिको फुर्सद र खुसीको अभिव्यक्ति, अनाज उत्पादन गर्न सहयोग गर्ने आफन्त र सबै मान्छेहरुलाई धन्यवाद दिने अवसर पनि हो। आफ्नो खालको नातागोता, सम्बन्धहरुलाई पुनस्र्थापित, पुनर्उत्पादन एवं पुनर्परिभाषित गर्ने कामहरु पनि यसैबेला हुन्छ। यो हिसाबले नै दशैं जस्ता चाडबाड सुरु हुनु हो। यस्तोखालको चाँडपर्व नाम फरक होलान्। तर सबै ठाउँमा, सबै समुदायमा हुन्छ।

त्यसलाई विभिन्न मिथकहरुसँग जोडिन्छ। जस्तै, रामले रावणलाई मार्ने कथा, देवीले दैत्यहरुलाई बिनास गरेको कथा। धेरैलाई के भ्रम हुन सक्छ भने तिनै मिथकहरुमा लेखिएकै कारण दशैं मनाउन थालिएको हो। तर, खासमा दशैं पहिला र अनि मात्र कथा पछि जोडिएको हो भन्ने कुरा नै पनि पर्याप्त रुपमा बोध गर्न सकिएको छैन। ढुक्कसँगै भन्न सकिने कुरा के हो भने, कथापछि दशैं आएको त होइन। दशैंको महत्वलाई र स्थायित्वका लागि त्यस्ता कथाहरु भनिने हुन। र तिनलाई संस्थागत गरिने हो।

मूख्य बाली उत्पादन वा बाली भित्राउनु नै सबैभन्दा ठूलो आर्थिक गतिविधि हुने गर्दछ। मुख्य बाली भित्राइसकेपछिको समय भएकाले आर्थिक रुपमा पनि खर्चिलो हुन्छ।

मेरो स्मृतिमा दशैंको आगमनसँगै जोडिएर आउने गतिविधि भनेको परम्परागत बाजा बजाउँदै बस्ती परिक्रमा गर्ने स्थानीय नेवारहरुको सांगीतिक परम्परा, मन्दिर जाने, चंगा उडाउने, पिङ खेल्ने जस्ता गतिविधि नै हुन्। तर अहिले बजार केन्द्रित, ठूला सपिङमलहरुमा केन्द्रित र नाफाआर्जनको ध्येयसँग जोडियो।

गाउँ र सहरको दशैंमा केही फरक अवस्य छ। तर, कतिपय कुरामा गाउँ र सहरको चरित्रको भेद छुट्याउन गाह्रो छ। ‘आयो दशैं ढोल बजाई, गयो दशैं ऋण बोकाई’ भन्ने त हाम्रो ग्रामीण उखान नै छ। आर्थिक गतिविधि दशैंमा बढी हुन्छ भन्ने कुरा त यही उखानले पनि पुष्टि गर्छ। गाउँमा आफ्नै खसीबोकाहरु बेच्ने, चिउरा कुट्ने आदि गतिविधि हुन्थ्यो। साउन–भदौ धेरै दूध उत्पादनको बेला भएकाले घ्यु पनि त्यतिबेला देखि नै दशैंका लागि भनेर जतन गरिन्थ्यो।

सहर अरु बेला अत्यन्तै चलायमान हुन्छ भने दशैंमा भीड गाउँतिर सर्छ। दशैंसँगै गाउँमा बाहिर बसिरहेका मान्छे आउन थाल्छन्। विदेशबाट फर्कनेहरु पनि आउँछन्। यसबेला गाउँमा अर्कै खालको रौनक र गति देखिन्छ। दशैं आयो भन्ने कुरा गाउँमा मान्छेहरुको चहलपहबाट बढी झल्किन्छ। सहरमा हुने भीड त्यति अस्वभाविक लाग्दैन।

Spread the love
  • 25
  •  
  •  
  •  
  •  
    25
    Shares
You might also like
Comments
Loading...