सार्वजनिक सम्पत्ति संरक्षणमा जनता जुट्नुपर्छ : उपप्रधानमन्त्री पोखरेल

Ishwor_Pokhrel
रासस न्यूज

काठमाडौं, १६ कात्तिक। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले अतिक्रमण गरिएका सार्वजनिक जग्गा फिर्ता ल्याउने बताएका छन्। धुम्बाराहीमा धनवन्तरी पार्कको आज उद्घाटन गर्दै उनले अहिले अतिक्रमण गरिएका सार्वजनिक जग्गामा बगैँचा, खुला ठाउँ र मनोरञ्जन स्थल बनाइने बताए।

उनले सार्वजनिक सम्पत्ति जनताको भएकाले संरक्षणमा जनता जुट्नुपर्नेसमेत बताए।  यसैगरी प्रदेश नं ३ का प्रदेशसभा सदस्य नारायण सिलवालले सार्वजनिक जग्गामा पार्क निर्माण गरेर संरक्षण गर्ने भन्दै धन्वन्तरी पार्क यसैको शुरुआत भएको बताए ।

उनले प्रदेश सरकारले पार्कको स्तरोन्नतिमा सहयोग गर्ने उल्लेख गरे। सङ्घीय संरचनामा जाँदा विकासका काममा केही ढिलाइ भएको भन्दै उनले अहिले विकासका कामले गति लिएको बताए।