नवनियुक्त आयोजना निर्देशक थापाद्वारा पदभार ग्रहण

लाेकपाटी न्यूज

काठमाडौं। काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयका नवनियुक्त कायम मुकायम आयोजना निर्देशक भोज विक्रम थापाले पदभार ग्रहण गरेका छन्। निर्देशनालयका कर्मचारीहरुले उनको स्वागत कार्यक्रमको समेत आयोजना गरेको थियो।

स्वागत कार्यक्रममा निर्देशनालयका आयोजना उप–निर्देशक मिलन कुमार शाक्यले उपत्यकाभित्र मेलम्ची आयोजनाका संरचनाहरूको निर्माण कार्यमा निर्देशनालयले हासिल गरेको प्रगति विवरण प्रस्तुत गरेका थिए। नवनियुक्त निर्देशक थापाले मेलम्ची बोर्डको उप कार्यकारी निर्देशकको रूपमा कार्य गरेको स्मरण गर्दै शाक्यले उनको कार्यकालमा मेलम्चीको पूर्ण प्रशोधित खानेपानी उपत्यकामा ल्याउन अझ सहज हुने विश्वास व्यक्त गरे।

निर्देशनालयका आयोजना प्रबन्धक सुरत कुमार बमले खानेपानी आपूर्ति तथा फोहर पानी व्यवस्थापन संरचनाहरु मेलम्ची आयोजनाका अभिन्न अंगहरु भएको बताउँदै तिनको निर्माण कार्यलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिए। आयोजना व्यवस्थापन परामर्शदाता ध्रुव राज रेग्मीले घना बस्तीयुक्त काठमाण्डौमा मेलम्ची आयोजनाका संरचनाहरूको निर्माण गर्ने कार्य चुनौतीपूर्ण भए पनि निर्देशनालय अन्तर्गत विभिन्न विषयका विज्ञहरू कार्यरत रहेको हुँदा उहाँहरूको विज्ञताको प्रयोग गरी उक्त कार्य सम्पन्न गर्न सकिने विश्वास व्यक्त गरे।

कार्यक्रममा निर्देशक थापाले मेलम्ची आयोजनाको प्रथम चरणको निर्माण सम्पन्न भइसकेपछि उपत्यकामा प्रतिदिन थप १७ करोड लिटर र दोस्रो चरणको निर्माण भइसकेपछि प्रतिदिन थप ३४ करोड लिटर पूर्ण प्रशोधित खानेपानी उपत्यकामा आपूर्ति हुने तथ्य स्मरण गराए। समग्र आयोजनाको निर्माण सम्पन्न भइसकेपछि प्रतिदिन ५१ करोड लिटर खानेपानी आपूर्ति हुने हुँदा यसै तथ्यलाई ध्यानमा राखी खानेपानी आपूर्ति तथा फोहर पानी व्यवस्थापन संरचनाहरूको निर्माण गर्नु आवश्यक रहेको स्मरण गराउँदै निर्देशक थापाले समग्र समूहको सहयोगले छिट्टै काठमाण्डौ उपत्यकामा मेलम्चीको खानेपानी आपूर्ति गर्न सकिने विश्वास व्यक्त गरे।

सबैको साथ सहयोग लिइ उपत्यकाबासीलाई मेलम्चीको खानेपानी वितरण गर्न एक भएर लाग्नुपर्ने उनले बताए। साथै मेलम्चीको पानी काठमाण्डौ उपत्यका प्रवेश गर्नासाथ उक्त पानी जनताको घरघरमा पुर्याउने गरी यस निर्देशनायले यथाशिघ्र तयारी पूर्ण गर्नुपर्ने बताए।

करिब ३ दशक लामो निजामती सेवाका क्रममा निर्देशक थापाले साना शहरी खानेपानी तथा सरसफाइ आयोजना, मेलम्ची खानेपानी आयोजना र खानेपानी तथा ढल निकास विभाग अन्तर्गत विभिन्न खानेपानी तथा सरसफाइ आयोजनाहरू निर्माण तथा संचालनको लागि उप–आयोजना निर्देशक, उप–कार्यकारी निर्देशक तथा जिल्ला इंजिनियरजस्ता ओहदाहरूमा रही सेवा गरिसकेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्