उपचुनाव अपडेट : कहाँ कति मत खस्यो ?

upanirbachan
लाेकपाटी न्यूज

काठमाडौं, १४ मंसिर। निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका ५२ पदका लागि जारी मतदान शान्तिपूर्ण रुपमा भइरहेको छ जनाएको छ। आज बिहान साढे ११ बजेसम्म करिव २५ प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। पोखरा र डोटीमा बम विस्फोटका घटना भए पनि मतदान प्रभावित नभएको क्षेष्ठले बताए।

प्रतिनिधिसभा, प्रदेश र स्थानी तहका रिक्त ५२ पदका लागि शनिबार बिहान ७ बजेदेखि मतदान भइरहेको छ।कास्की २ मा हस्ताक्षर नगरिएको मतपत्रले गलफती परेको छ। पोखरा महानगरपालिका ३३ बरपाण्डे थुम मतदानस्थलमा मतदान अधिकृतले हस्ताक्षर नगरिएको एउटा मतपत्र भेटिएपछि विवाद भएको हो। विवादका कारण केहीबेर मतदान स्थगित भए पनि सर्वदलीय बैठकपछि सञ्चालनमा ल्याइएको निर्वाचन कार्यालय, कास्कीका प्रमूख महेन्द्र सुवेदीले जानकारी दिए।

त्यस्तै, डोटीको आदर्श गाउँपालिका २ को कुचेडा र सोही वडाको कानगडा भन्ने स्थानमा बम भेटिएको छ। आदर्श गाउँपालिका २ को निर्वाचनलाई लक्ष्य गरेर राखिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ। बम डिस्पोजपछि अहिले यहाँ शान्तिपूर्ण रूपमा मतदान भइरहेको जिल्ला प्रहरी कार्यालय, डोटीले जनाएको छ।सुनसरीका प्रमूख जिल्ला अधिकारी राजन पौडेलका अनुसार शनिबार बिहानदेखि नै भयरहित वातावरणमा मतदान सुरु भएको छ।

सहायक निर्वाचन अधिकृत अजय मिश्रका अनुसार, ११ बजेसम्म धरानमा २० प्रतिशत मतदाताले मतदान गरिसकेका छन्। कपिलवस्तुको शिवराज नगरपालिका १० का सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय, कपिलवस्तुका प्रमूख अयोध्यप्रसाद भण्डारीले बताएका छन्।