‘सङ्घीयताको अभ्यासमा समस्या देखियो’ : मन्त्री ज्ञवाली

लाेकपाटी न्यूज

सुर्खेत, १९ मंसिर । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सङ्घीय सरकार र प्रदेश सरकारबीच देखिएका असमझदारी अन्तरप्रदेश समन्वय परिषद्को बैठकले हल गर्ने बताएका छन् ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री, विभागीय मन्त्री र सचिवहरुसँग बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटघाट कार्यक्रममा बोल्दै परराष्ट्र मन्त्री ज्ञवालीले नेपालको सङ्घीय व्यवस्था अन्य मुलुकभन्दा नयाँ भएकाले सङ्घीयताको अभ्यासमा केही समस्या देखिएको बताए ।

मन्त्री ज्ञवालीले निर्वाचन अघि नै संरचना र कर्मचारीको व्यवस्थापन गर्न नसक्दा पनि प्रदेश सरकारको कार्यसम्पादनमा प्रभावकारिता नदेखिएको बताए । सरकारले भर्खरै जारी गरेको कर्मचारी समायोजन अध्यादेशले कर्मचारी व्यवस्थापनको समस्या हल गर्ने विश्वास व्यक्त गर्दै मन्त्री ज्ञवालीले प्रदेश लोक सेवा आयोग गठनपछि दीर्घकालीन रुपमा समस्या सामाधान हुने बताए ।

विद्यमान संरचनामा २५ हजार कर्मचारी अपुग रहेको तथा अवकासका लागि इच्छुक सङ्ख्या १० हजार रहेको बताउँदै मन्त्री ज्ञवालीले समस्या समाधानका लागि केन्द्र सरकारले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । स्थानीय र प्रदेश सरकारले निश्चित तहसम्मका कर्मचारी भर्ना र खटनपटन गर्न पाउनु पर्ने भन्दै उनले संविधानमा रहेको अस्पष्टता हटाएर भए पनि प्रदेश लोक सेवा आयोग गठनको बाटो खोलिने बताए ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा प्रधानमन्त्रीको मात्र नभएर सिङ्गो नेपालको भएको बताउँदै मन्त्री ज्ञवालीले उक्त नारा कार्यान्वयनका लागि सबै तहका सरकारले अपनत्व लिनुपर्ने बताए । मन्त्री ज्ञवालीले कर्णालीको विकास र समृद्धिबिना नेपालको समृद्धि असम्भव रहेको बताउँदै प्रदेश सरकारको मातहतमा क्रियाशील कर्मचारीलाई दत्तचित्तका साथ काम गर्न आग्रह गरे ।