आँधीखोला गाउँपालिकाको दत्तेलोटेमा आलु पकेट क्षेत्र सञ्चालन

aalu kheti
लोकपाटी न्यूज

स्याङ्जा, २५ वैशाख। आँधीखोला गाउँपालिकाको दत्तेलोटेलाई आलुको पकेट क्षेत्र बनाउने गरी कार्यक्रम सञ्चालन गरिएको छ । कृषि ज्ञान केन्द्रको सहयोग तथा आँधीखोला गाउँपालिकाको समन्वयमा आलुको पकेट क्षेत्र बनाउने गरी कार्यक्रम सञ्चालन गरिएको हो।

गाउँपालिकाले वडा नं. १ त्रिवेणी दत्तेलोटेका किसानहरूलाई आलु खेतीमा आत्मनिर्भर बनाइ व्यवसायिक कृषितर्फ प्रेरित गर्ने उद्देश्यले आलु पकेट क्षेत्रका रूपमा घोषणा गरी सोही अनुसारको कार्यक्रमहरू सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष सुधिर कुमार पौडेलले बताए। अध्यक्ष पौडेलले दत्तेलोटे धेरै वर्ष पहिलेदेखि नै आलुको प्रख्यात रहेको र बीचमा विविध समस्याले आलु लगाउने किसानको संख्यामा कमी भएकोले अझ व्यवसायिक तरिकाले उत्पादन गर्दा धेरै सम्भावना भएको ठाउँ भएकोले पकेट क्षेत्र बनाइ ठूलो क्षेत्रफलमा आलु लगाउन लागिएको बताए।

६ वटै वडाका विभिन्न ठाउँहरू अवलोकन तथा अनुगमन गरी दत्तेलोटेलाई आलुको पाकेट क्षेत्रको रूपमा अगाडि सारिएको गाउँपालिकाले जनाएको छ। यो वर्ष करिब ९० रोपनी जग्गामा आलु लगाएको र अर्को वर्ष २०० रोपनी जग्गामा लगाउने योजना रहेको गाउँपालिकाले जनाएको छ। दत्तेलोटेका विभिन्न ठाउँबाट ५५ वटा माटोको नमूना संकलन गरी जाँच गर्दा अधिकांश माटोमा अम्लीयपन देखिएपछि कृषि चूनको प्रयोग गरी माटोको अवस्था सुधार गरिएको गाउँपालिका कृषि शाखा प्रमूख अर्जुन चापागाँईले बताए।

गाउँपालिकाको ५०५ अनुदान र कृषि ज्ञान केन्द्रको ५०५ अनुदानमा ४५ क्विन्टल कार्डिनल नामको आलुको बीउ कृषकहरूलाई वितरण गरि कृषि प्राविधिकहरूको रोहबरमा आलु रोपिएको हो। कृषकलाई खेतमै पुगेर आलु लगाउने तरिका, आलुमा लाग्ने रोग कीरा, उपचार पद्धति, आलु भण्डारण, बजारी करणका सम्बन्धमा जानकारी दिएको र प्राविधिक पक्षको अनुगमन गर्न हरेक हप्ता प्राविधिक टोली दत्तेलोटे पुगेको कृषि प्राविधिक बिबेक आचार्यले बताए।कृषकले उत्पादन गरेको आलुले बजार नपाएमा गाउँपालिका कार्यालयले व्यवस्थापन गरिदिने भएपछि कृषकहरू थप उत्साहित भएका छन् भने गाउँपालिकाले अरू वडामा पनि पकेट क्षेत्रहरू विस्तार गर्दै जाने जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्