सांसदलाई पाले नबनाउनुस् : प्रधानमन्त्री ओली

लाेकपाटी न्यूज

काठमाडौं, ११ पुस । जननिर्वाचित सांसदलाई ढोका बाहिर राखेर कर्मचारीलाई बिना रोकतोक पहुँच दिने शैली बदल्न प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।

बुधवार संसद भवन सिंहदरबारमा बसेको नेकपा संसदीय दलको बैठकमा सांसदहरुबाट आएको गुनासो सुन्दै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् । सांसदहरुले मन्त्रीलाई भेट्नका लागि ढोकाको छेउमा कुरेर बस्नुपर्ने र कर्मचारी जुनसुकै तहको भए पनि बिना रोकतोक भित्र जाने कुरा उठाएसँगै मन्त्रीलाई राखेर जनप्रतिनिधिलाई सम्मान गर्न निर्देशन दिएका हुन् ।

सांसदहरु द्वारपाले होइनन्, मन्त्रीहरु पनि आकाशबाट खसेका अलौकिक मान्छे होइनन् । पहिलो प्राथमिकता जनप्रतिनिधिले पाउनुपर्छ । जनप्रतिनिधिलाई ढोकामा नउभ्याउनुस्’ प्रधानमन्त्री ओलीले भने ।

मन्त्रीहरुले भेट नदिएको र जनताको काम गर्न नसकिएको भन्ने अधिकांश सांसदहरुको गुनासो सुनुवाई गर्दै प्रधानमन्त्रीले दलको बैठकमा सबै मन्त्रीलाई राखेर निर्देशन दिएका हुन् । संसदीय दलको बैठकमा दलका नेता ओली र पार्टी अध्यक्ष प्रचण्डले सांसदहरुलाई सम्बोधन गरेका थिए ।