अबको विकास गाउँ केन्द्रित हुनुपर्छ : रेनु दाहाल

Renu Dahal
लाेकपाटी न्यूज

चितवन, २२ पुस । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अबको विकास गाउँ केन्द्रित हुनुपर्ने बताएकी छन् ।

पटिहानी आयुर्वेद औषधालय भवन शिलान्यास समारोहलाई आइतबार भरतपुर महानगरपालिका-२२ मधुपुरीमा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, खेल लगायतका क्षेत्रमा विकासलाई प्रथमिकता दिएको बताउँदै महानगर प्रमुख दाहालले विकास हेर्न चाहनेले पश्चिम चितवनलाई हेर्न आग्रह गरिन् । उनले गाउँको विकासलाई लक्षित गरी काम अगाडि बढाइएको र वडाध्यक्षहरु समेत खुशी भएकोमा धन्यवाद व्यक्त गरिन् । उनले आफू पनि गाउँकै भएकोले गाउँको विकासलाई प्राथमिकता दिएको उल्लेख गरिन् ।

साइड इफेक्ट नहुने स्वास्थ्य पद्धती आयुर्वेदको सेवा प्रवाह भरपर्दो भएकोले यसप्रति जनताको विश्वास बढेको उनको भनाइ थियो । ‘भरतपुर मेडिकल हब बनेको छ’ उनले भनिन्, ‘भरतपुर अस्पताल केन्द्रीय अस्पतालमा पर्न सफल भएको छ । क्यान्सर अस्पतालले दक्षिण एसियास्तरीय सेवा दिएको छ । यसलाई प्रतिष्ठान बनाउने प्रक्रिया अघि बढाइने छ ।’ महानगर प्रमुख दाहालले रिङरोड, सडक, महिला महाविद्यालय, इन्जिनियरिङ कलेज, प्रहरी स्कुल, क्रिकेट रङ्गशाला, सिटी हल आदि योजनाले शहरलाई व्यवस्थित र गाउँलाई थप विकसित बनाउँदै लगेको बताइन् ।

भनपा-२२, पटिहानी पदमपोखरीमा पटिहानी आयुर्वेदिक औषधालयको सुविधासम्पन्न आयुर्वेदिक भवन नेपाल सरकारको रु. एक करोड ७८ लाख ७२ हजार लागतमा निर्माण हुने बताइएको छ । आयुर्वेदिक अस्पताल निर्माण कार्य सम्पन्न भएसँगै यस भेगका जनताले प्रभावकारी स्वास्थ्य सेवा पाउने महानगरपालिका प्रमुख दाहालले विश्वास व्यक्त गरिन् । आफूले सिटी हल पश्चिम चितवनमा बनाउन कोशिस गरेको तर सिटीहल गाउँमा दैनिक कार्य सञ्चालनमा नहुने र आयसँग नजोडिने भएकोले शहरमा निर्माण गर्न लागिएको उनले बताइन् ।

भरतपुर महानगरपालिका देशकै केन्द्रीय भागमा भएकोले पनि यहाँ मेडिकल हब र शैक्षिक हब बनाउन लागिएको महानगर प्रमुख दाहालको भनाइ छ । स्मार्ट सिटीका लागि आवश्यक पूर्वाधार तयार गरिँदै लगिएको महानगर प्रमुख दाहालले बताइन् । उनले पश्चिम चितवनमै क्रिकेट रङ्गशाला, महिला प्राविधिक शिक्षालय, प्रहरी विद्यालय निर्माण गर्न लागिएको जानकारी गराइन् ।