‘सार्वजनिक जग्गा मेयरले बेचेर खाए’

3 (1)
लाेकपाटी न्यूज

काठमाडौँ, २२ पुस । इन्जिनियर आलोक यादवले सप्तरीको बोदे बर्साइन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंहले सरकारी जग्गा शक्तिको दुरुपयोग गरी आफ्नो नाममा निजीकरण गर्न खोजेको आरोप लगाएका छन् ।

आइतबार रिपोेर्टर्स क्लब नेपालमा सप्तरी जिल्ला बोदे बर्साइन नगरपालिका नगरस्तरीय संघर्ष समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ई.यादवले यस्तो आरोप लगाएका हुन् ।

उनले नगरप्रमुख आतेश कुमार सिंहको बुवा अनिरुद्धप्रसाद सिंह यादवको नाममा रहेकोे २२ कठ्ठा जमिन हाल वडा कार्यालयले भोगचलन गर्दे आएको तर सो जमिन मेयरका बुवाले मञ्जुरीनामा गर्ने कागज गरेपनि नामसारी नगरेको आरोप लगाए ।

उनले भने, ‘सरकारी २२ कठ्ठा जमिन निजीकरणको प्रयास भइरहेको छ, मेयरका हजुरबुवा स्वर्गीय शत्रुधन प्रसाद सिंह यादवले २०२६ सालमा तीन गुणा बढी पैसा लिएर गा.वि.सलाई बेचेका थिए । तर, जमिन पहिला नै बैँकमा धितो रहेका कारण नामसारी हुन सकेको थिएन ।’

त्यही जमिनको विषयलाई लिएर समितिका सदस्यमाथि सांघातिक आक्रमण र अपहरणको प्रयास भएको भन्दै बोलाइएको पत्रकार सम्मेलनमा पत्रकार दिवाकर शाहले घट्नालाई वास्तविक रुपमा प्रशारण नगरी अलग किसिमबाट मोडेर र पूरा बाइट प्रसारण नगरी आफ्नो चरित्र हत्याको प्रयास गरेको उनले उल्टै आरोप लगाए ।

‘सार्वजनिक जग्गाको विषयमा सत्य–तथ्य सामाचार संकलनको क्रममा पत्रकार दिवाकरले नै बाटो खर्चको माग गरेको तर समाचारमा बाइटलाई काँटछाँट गरेर उल्टै मेरो बद्नामी गर्न खोजेका छन्’ उनले भने ।