‘अब सबै नेपालीसँग जग्गा र लालपूर्जा हुन्छ’ : मन्त्री अर्याल

padama-kumari aryal
लाेकपाटी न्यूज

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले अब सबै नेपालीसँग जग्गा र लालपूर्जा हुने बताएकी छिन् ।

एक सञ्चार माध्यमसँगको अन्तर्वार्तामा मन्त्री अर्यालले सबै नेपालीसँग जग्गा र लालपूर्जा हुने बताएकी हुन् । संविधानले नै आवासको हकको व्यवस्था गरेकाले सुकुम्बासी समस्या सदाका लागि अन्त्य हुने मन्त्री अर्यालले बताइन् ।

मन्त्री अर्यालले भनिन्, ‘हामीले नेपालको इतिहासमा नै पहिलोपटक भू–उपयोग ऐन र नीति ल्याउँदैछौं । यो करिब–करिब अन्तिम चरणमा पुगेको छ । भू–उपयोग ऐन र नीति नबन्दासम्म त भूमिको उचित व्यवस्थापन हुन सक्ने अवस्था नै थिएन । भूमि व्यवस्था गर्ने उद्देश्यले यो ल्याउन लागिएको हो । यो सरकारको ऐतिहासिक काम हो ।’

अर्यालले थपिन्, ‘अहिले देखिएका भूमि व्यवस्थापनका समस्या ऐन र नीति आएपछि समाधान हुन्छ । हामी हिँड्ने बाटो नीतिमा छ र व्यवस्थापनका उपाय ऐनमा आउँछ । त्यसपछि हामी त्यसको कार्यान्वयनमार्फत् फटाफट काम थाल्छौं ।’

जमिनको वर्गीकरण सरकारको प्राथमिकतामा रहेको उनले बताइन् । अर्यालले भनिन्, ‘भू–उपयोग ऐनभित्र जमिनको वर्गीकरण समेटिनेछ । अनि त्यसका साथमा वर्गीकरणका आधारमा भू–उपयोग नक्सा तयार गरिनेछ । सो नक्सा स्थानीय तहलाई हस्तान्तरण गरिनेछ । जमिन बाँझो राख्न पाइनेछैन ।’

‘अब सबै जनताले आफूसँग जग्गाजमिन छ भन्ने अनुभूति गर्न पाउँछन्, पाउनुपर्छ’ अर्यालले भनिन्, ‘हामीले त्यसका लागि नियमित रूपमा कार्यक्रम सञ्चालन गर्न सक्नुपर्छ । सधै जमिन बाँडेर हुँदैन । सबैलाई जमिनको मालिक बनाएर सुकुम्बासीलाई जग्गा बाँड्ने काम दीर्घकालीन रूपमा नै अन्त गर्न सक्नुपर्छ । भूमि ऐन संशोधन गरेर सुकुम्बासी समस्या समाधान गर्नुपर्छ ।’

‘अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्ने र मोहियानी हकलाई स्थापित गर्ने कार्यक्रम ल्याइने छ । मोहीको समस्या समाधान गरिनेछ’ मन्त्री अर्यालले भनिन्, ‘गुठी ऐन पनि संशोधन प्रक्रियामा छौं । अव्यवस्थित गुठीलाई व्यवस्थित गरिने छ र एउटै प्राधिकरणभित्र ल्याउने योजना बनाएका छौं । गुठीसँग जोडिएका मोहीहरूलाई जहाँ बसेका छन्, त्यही नै पूर्जा दिने गरी योजना बनाएका छौं ।’