सरकारको लोकप्रियता देखेर आत्तिए : माधव नेपाल

Madhav kumar nepal
लाेकपाटी न्यूज

धनुषा, २२ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिपक्षी दल तथा विरोधीले वर्तमान सरकारको लोकप्रियता देखेर दुष्प्रचार गर्न लागेको बताएका छन् ।

उनले यस्ता दुष्प्रचारको पछि नलागी कार्यकर्तालाई दृढतासाथ सरकारको बचाउ गर्न आह्वान गरे । नेता नेपालले वर्तमान सरकारको लोकप्रियता देख्न नसकेर प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसमा हतास र निरासाको प्रवृत्ति बढेको भन्दै दुष्प्रचारबाट बच्न कार्यकर्तालाई आग्रह गरे ।

नेकपाले आइतबार जनकपुरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले विरोधीले सरकारको काम नै देख्न नसकेर सरकारले अधिनायकवाद ल्याउन खोजेको आरोप लगाइरहेको बताए । नेता नेपालले भने, “वर्तमान सरकारको काममा केही कमीकमजोरी हुनसक्छ तर सरकारको नियतमा बेइमानी छैन ।”

नेता नेपालले दुई वर्षभित्र पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने तयारी रहेको बताए । पार्टी एकतापछि नेकपा थप शक्तिशाली बन्ने नेपालले दावी गरे ।