चार अर्ब बढिको ट्रेजरी जारी गर्दै राष्ट्र बैंक

central Bank
लाेकपाटी न्यूज

काठमाडौं, २३ पुस । नेपाल राष्ट्र बैंकले सोमबार ४ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोलमा बिक्री गर्ने भएको छ ।

बैंकले सूचनामार्फत २८ दिने अवधिका लागि तीन अर्ब २५ करोड र ९१ दिने अवधिको एक अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिक्री गर्न लागेको जनाएको छ । बैंकले यसअघि रु. ६ अर्ब १२ करोडको ९१ दिने र रु. ८ अर्ब २९ करोड बराबरको ३ सय ६४ दिने ट्रेजरी बिक्री गरेको थियो ।

ट्रेजरी बिल खरीद गर्न चाहनेलाई बैंक तथा वित्तीय संस्थाले सोमबार दिउँसो ३ बजेभित्रमा अनलाईन विडिङ्ग प्रणालीद्धारा ३ बजेसम्म बोलपत्र पेश गरिसक्न आह्वान गरिएको छ । ती ट्रेजरी बिल पुस २४ गते मंगलबार जारी गरिने छन् । २८ दिन अवधिको ट्रेजरी बिल २०७५ माघ २२ गते र ९१ दिने अवधिको ट्रेजरी बिल २०७५ चैत २६ गते परिपक्व हुनेछ ।

के हो ट्रेजरी बिल ?

ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।

निष्कासन र बोलकबोलमा प्रयोग गरिने विधि ट्रेजरी बिल बोलकबोलको माध्यमबाट निष्काशन हुने गर्दछ । नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ‘क’, ‘ख’र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, संगठित संस्थाका साथै सर्वसाधारण नेपाल नागरिक ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्दछन् ।

बोलकबोलमा सबैभन्दा बढी मूल्य उल्लेख गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड गरिन्छ । भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र रिपो, सोझै खरिद, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तरबैंक कारोबारमा प्रयोग गर्न सकिन्छ ।