वाइडबडी प्रकरण : रवीन्द्र अधिकारी नैतिक जिम्मेवार, प्रेम राईलाई ‘क्लिन चिट’

Rabindra-adhikari-5
लाेकपाटी न्यूज

काठमाडौं, २३ पुस । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद प्रकरण संलग्न रहेको भनिएका तत्कालीन पर्यटन तथा हालका गृहसचिव प्रेम राईलाई क्लिन चिट दिएको छ ।

सोमबार उपसमितिको प्रतिवेदन संशोधन गरेर बसेको बैठकले विमान खरिदमा भ्रष्टाचार भएको भन्दै दुई पूर्वसहित बहालवाला पर्यटनमन्त्रीलाई कारबाही गर्न सिफारिस गर्दा सचिव राईले भने ‘क्लिन चिट’ पाएका हुन् ।

‘राईको समयमा वाइडबडी विमान खरिद प्रक्रियाको सुरुवात भएको विवरण निगमले दिएको र सोही आधारमा उपसमितिले निजलाई कारबाही सिफारिस गरेएकोमा राईको अध्यक्षतामा बसेको बैठकले निगमको विनियमावलीको दफा २३६(१) (ख) अनुसार विमान खरिदकार्य अघि बढाउन उपसमिति मात्र बनाएको, उक्त उपसमितिले तयार गरेको बोलपत्र तयार हुँदा निज उक्त पदमा बहाल नगरेको र बोलपत्रका सर्तहरुबाट भएका अनियमितता संलग्न नभएको देखिएको अवस्थामा निजको हकमा दोषी मान्ने स्पष्ट आधार खुलेन,’ समितिको निर्णयमा भनिएको छ ।

त्यस्तै समितिले हालका सचिव कृष्ण प्रसाद देवकोटालाई पनि दोषी ठहर गरेको छ भने निगमका हालका महाप्रबन्धक सुगतरत्न कंशाकारलाई मुख्य अभियुक्त ठहर गरेको छ । कंसाकारलाई तत्काल निलम्बन गरी कानूनी कारबाही अघि बढाउन समितिले अख्तियारलाई निर्देशन दिएको छ ।

त्यस्तै समितिले वाइडबडी प्रकरणमा मुछिएका तत्कालीन पूर्वमन्त्रीद्वय जीवनबहादुर शाही, जीतेन्द्र देव तथा हालका मन्त्री रवीन्द्र अधिकारीले नैतिक जिम्मेवारी लिनुपर्ने ठहर गरेको छ ।

उपसमितिले वाइडबडी विमान खरिद प्रक्रियामा रु. ४ अर्ब ३५ करोड ५६ लाख अनियमितता भएको ठहर गरेको थियो ।