लेखा समितिको ठहर : सुगतरत्न कंसाकार मूख्य दोषी

Sugatratna Kamsakar
लाेकपाटी न्यूज

काठमाडौं, २३ पुस । वाइडबडी खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्दै सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार मूख्य दोषी रहेको ठहर गरेको छ ।

सोमबार समितिले संशोधनसहित पेश गरेको प्रतिवेदनमा निगमका महाप्रबन्धक कंसाकारलाई मूख्य दोषी ठहर गरेको हो । समितिले दोषीलाई कारवाहीका लागि सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।

‘वायुसेवा निगमको सञ्चालक समितिका सदस्य सचिव तथा निगमका महाप्रबन्धक भई वाइडबडी विमान खरिद गर्न निगमको नियमावलीको दफा २३६ (२) अनुसार बदनीयतपूर्वक पुरानो विमान खरिद गर्ने प्रक्रिया अगाडि बढाई यो प्रकरणमा प्रमुख भूमिका खेल्ने निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले बदनीयत राखी जहाज खरिद प्रकरणमा अख्तियारको दुरुपयोग गरी भ्रष्टाचार गरेको देखिन आएकाले निजलाई कानुन बमोजिम तत्काल निलम्बन गरी हदैसम्मको दण्डसजाय गर्न, कानुनी कारवाही अगाडि बढाउन नेपाल सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिने,’ समितिको निर्णयको बुँदा नम्बर ३ मा लेखिएको छ ।

यता संस्कृति तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीले वाइडबडी प्रकरणमा आफ्नो कहिँकतै संलग्नता नरहेको दाबी गरेका छन् । उनले सोमबार मन्त्रालयमै पत्रकार सम्मेलन गरी कसैको पूर्वाग्रह र अनुमानको भरमा आफूलाई वाइडबडी खरिद प्रकरणमा जोडेको बताए ।