व्यस्त हुनुहुन्छ, समय व्यवस्थापन कसरी गर्ने ? (२४ टिप्स्)

Time managing
लाेकपाटी न्यूज

काठमाडौं । दिनमा जम्मा २४ घण्टामात्रै हुन्छ । त्यसमा पनि एक चौथाइ जति समय हामी सुत्नमा खर्च गर्छौं । बाँकी भएको समयको केही हिस्सा खानपिन, पढाइ, यताउता हिड्नेलगायत काममा खर्च हुन्छ । दिनभरिमा हामीले गर्नुपर्ने काम धेरै हुन्छन् । तर, समय भने उत्ति नै हुन्छ, दिनरात गरेर २४ घण्टा ।

कहिलेकाँही त काम पनि यति धेरै हुन्छ कि हामीलाई खाने, बस्ने र आराम गर्ने समेत फुर्सद हुँदैन । तर, थोरै समयकै कारण आफूले गर्नैपर्ने काम गर्न नसकेर पछाडि पर्नु भने हुँदैन । थोरै समयमा थोरै काम गर्न हामीसँग योगजा चाहिन्छ ।

संसारमा सफल भएका व्यक्तिहरूले सङ्घर्षका दिनमा आफ्नो समय कसरी व्यवस्थापन गरेका थिए र सफलता हात पारेपछि पनि समयकोे व्यवस्थापन कसरी गरिरहेका छन् भन्ने थाहा पाउँदा समय व्यवस्थापन गर्न सजिलो हुन्छ । समय व्यवस्थापनबारे हामीले यहाँहरुलाई २४ तरीका सुझाएका छौं ।

१. दिनमा एकपटक मात्रै मेल र इमेल चेक गर्ने । इमेलको उत्तर दिनुपर्नेछ भने पनि तत्कालै उत्तर दिइहाल्नुपर्दछ । पछि रिप्लाई गरौंला भनेर सेभ गर्नुहुँदैन ।

२. समय कम भएको अवस्थामा मोबाइल अफ गरेर पूरै ‘डिस्कनेक्टेड’ भएर बस्नुपर्दछ ।

३. मिटिङ छ भने पनि लगातार एकपछि अर्को मिटिङ राख्नुपर्दछ । तर, अर्को मिटिङमा राख्नुपर्ने केही कुरा छुटेको छ भने त्यसबारे सोच्न र दिमागमा फुरेको कुरा टिप्न केही समय छुट्ट्याउनुपर्दछ ।

४. कहिलेकाँही लगातार धेरै मिटिङमा सहभागी हुनुपर्दछ । धेरै जनालाई भ्याई नभ्याई गरी यसरी मिटिङ बस्नु निकै झर्को लाग्दो र झ्याउ पनि लाग्न सक्छ । तर, जानैपर्छ के गर्नु भनेर मात्रै मिटिङ जानु चाहिँ राम्रो होइन । उपलब्धिमूलक हुन्छ भने मिटिङमा जाँदा हुन्छ । नत्र नगए पनि हुन्छ ।

५. आफ्नो समय कसरी के–के काममा खर्च भइरहेको छ, हामीमध्ये कतिपयलाई पत्तै हुँदैन । त्यसैले बेला–बेलामा समय कसरी बितिरहेको छ भन्ने समीक्षा गर्नुपर्दछ । नचाहिँदा काममा धेरै समय बितिरहेको छ कि भनेर पत्ता लगाउने यो सबैभन्दा उत्तम तरीका हो ।

६. जति बेला पनि काममात्रै गरिरहँदा यसले हाम्रो उत्पादन क्षमतामा मात्रै नभएर र शरीरमा पनि नकारात्मक प्रभाव पारिरहको हुन्छ । त्यसैले कहिलेकाँही कामबाट थोरै फुर्सद निकाल्नुपर्दछ । यसले व्यक्तिलाई प्रभावकारी र थप उत्पादनमूलक बन्न ऊर्जा दिन्छ ।
७. हामीमध्ये कतिपयको बानी हुन्छ, समय कम भए पनि यो काम पनि आफैं गर्छु त्यो काम पनि आफैं गर्छु भन्ने । तर, यस्तो गर्दा भनेको समयमा सबै काम पूरा गर्न सकिँदैन । त्यसैले आपूmले भ्याउने कामका लागि कठोर तर वास्तविक समयसीमा तोक्नुहोस् । हरेक काम हामीले सोचेको समयमै पूरा गर्न सक्दैनौं । कहिलेकाँही काम पूरा गर्न सोचेकोभन्दा अलि बढी समय लाग्दछ । त्यसैले समयसीमा तोक्दा यी सबै कुरालाई पनि ध्यान दिनुपर्दछ ।

८. निद्रा हाम्रो लागि निकै महत्वपूर्ण हुन्छ । दिनभरि थाकेको शरीर र दिमागलाई आराम दिन पनि राति मस्तसँग निदाउनुहोस् । निद्रा बिगारेर अबेरसम्म काम गर्ने वा अन्य गतिविधि गर्नु पनि राम्रो हुँदैन । यसले समय व्यवस्थापनमा मात्रै नभएर उत्पादनशीलतामा पनि हानी पुग्छ ।

९. कहिलेकाँही बस/प्लेनमा एक्लै यात्रा गर्दाको समयमा हड्बडी नगरी गर्न मिल्ने काम गर्न सकिन्छ । यस्तो बेलामा हाम्रो तनाव कम हुन्छ र बढी चिन्तनशील हुन सकिन्छ ।

१०. आफ्नो इ–मेलमा थु्रपिएका अनावश्यक इमेलमात्रै होइन, डेस्क र दराजमा जम्मा भएका अनावश्यक कागजपत्रसमेत हटाउने गर्नुहोस् । यस्तो काम बेला–बेलामा गरिरहनुपर्दछ ।

११. कहिलेकाँही धेरैओटा काम गर्दा दिमागले राम्ररी सोच्न सक्दैन । यस्तो स्थितिमा जुन काम गर्दा आफूलाई सजिलो हुन्छ त्यही काम गर्नुपर्दछ । एउटै काममा अल्झिएर बसिरहँदा त्यो काममा त प्रगति हुँदैन हुँदैन, पछि अरू काम गर्न पनि पर्याप्त समय मिल्दैन ।

१२. हरेक दिन आफूले गर्ने कामलार्ई त्यस्तो विन्दुमा पुगेर छोड्नुहोस् जहाँबाट भोलिपल्ट शुरू गर्न सजिलो होस् । यसले तपाईलाई समय व्यवस्थापन गर्न सजिलो हुन्छ ।

१३. सामानहरु राख्दा सधैं एकै ठाउँमा मात्र राख्नुस्, जुन सामान जहाँबाट निकाल्नुभएको हो, त्यही नै लगेर राख्नुस् । यसले तपाईलाई सामान खोज्न अनावश्यक समय खर्च हुँदैन र हराउने सम्भावना पनि न्यून हुन्छ ।

१४. हरेक औपचारिक कार्यक्रममा बोल्ने कुराको तयारी गर्नुस्, कम समय र पेजमा धेरै कुरा बोल्न सकिने कुरा नोट गर्नुस् । सकभर विषय नदाहोराउनुस् । यसले समयको बचत हुन्छ ।

१५. पूर्वनिर्धारित कार्यक्रमको पूर्वजानकारी दिने गरी मोवाइलमा ‘रिङ बज्ने सिष्टम’ बनाउनुस् । त्यसले तपाईले तोकिएको कार्यक्रम भूलेर अनुपस्थित हुने खतरा रहँदैन । कुनै कार्यक्रममा जानुपूर्व नै सिष्टमले तपाईलाई काम सम्झाउनेछ ।

१६. आफ्नो कामको प्राथमिकता छुट्टाउनुस् । गर्नैपर्ने काम र नगरे पनि हुने कामको भिन्नता नहुँदा समय बर्वाद हुन्छ । जानैपर्ने काममा जानुस्, बाँकी काम दोस्रो व्यक्तिलाई लगाउनुस् ।

१७. काम लिनुस् र काम दिनुस् । यसले तपाईंले भेटेकै मान्छेबाट आधा काम गरिदिने सम्भावना रहन्छ । जब तपाई उसलाई सहयोग गर्नुहुन्छ भने उसले पनि तपाईलाई सहयोग गर्ने सम्भावना हुन्छ ।

१८. कसैसँग कुरा गर्नुछ भने समय तोक्नुस्, बेहिसाब गफिएर नबस्नुस् । कुन कामका लागि कति समय लाग्ला, त्यसको पूर्वानुमान गर्नुस् । एउटा कामबाट अर्को काममा जाँदा बाटोको म्याद र भैपरि आउने समय पनि छुट्टाउनुस् ।

१९. तोकिएको समयभन्दा ज्यादा बढी कसैलाई पनि कुर्नुस् । भेट्न चाहने व्यक्तिलाई समयमै नआएर प्रतीक्षा नगर्ने पूर्वसूचना गर्नुस् । यसले प्रतीक्षामा बित्ने समय बचत हुन्छ ।

२०. औपचारिक कार्यक्रम छोटो, लिखित र ओझपूर्ण बनाउनुस् । औपचारिक कार्यक्रममा गन्थन होइन, छोटो तर गहन विचार प्रस्तुत गर्नुस् ।

२१. एउटै दिशामा गर्नुपर्ने धेरै कामको एकैपटक सूचि बनाउनुस् । कामको सूचि बनाउँदा कामको प्रकृति र दुरी निश्चित गर्नुस्, जसले छोटो समयमा धेरै क मगर्न सकिन्छ ।

२२. कुरा गर्दा टिपोट गर्नुस् । सक्ने काम साँचेर नराख्नुस् । यसले तपाईलाई उही काम दोस्रोपटक गर्नुपर्ने झण्झटबाट मुक्ति मिल्छ ।

२३. कसैको कामका लागि पनि झुलाएर नराख्नुस् । जतिञ्जेलसम्म तपाईले काम हुने नहुने निधो दिनुहुन्नँ, त्यतिञ्जेल काम लिने मानिसले तपाईंको पिछा गरिरहनेछ । यसले तपाईको समय मात्र बर्वाद हुँदैन, मानसिक रुपमा दिक्क पनि बनाउँछ ।

२४. ‘भोलि’ शब्द र ‘भोलि गरौंला’ वाक्य शब्दकोष र आफ्नो दिमागबाट हटाउनुस् । भोलि शब्द यस्तो शब्द हो, जसले तोकिएकै मिति र समयमा काम गर्न बाध्य पार्दैन ।