‘संसद् सरकारको खल्तीमा’ : बडु

Dilendra Badu
लाेकपाटी न्यूज

कठमाडौं, २३ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता एवं सांसद दिलेन्द्र प्रसाद बडुले वर्तमान सरकार सञ्चालनमा निरंकुश, स्वेच्छाचारी र अधिनायकवादको लक्षण देखिएको आरोप लगाएका छन् ।

सोमबार रिपोर्टर्स नेपालमा आयोजित साक्षात्कारमा सांसद बडुले भने, ‘यो संविधानले शक्ति पृथकीकरणको सिद्धान्तलाई अंगीकार गरेको छ । तर, यी सबै सिद्धान्तमाथि प्रधानमन्त्रीबाट आक्रमण भइरहेको छ । संसद भनेको सरकारलाई उत्तरदायी बनाउने संस्था हो । तर, हिजो सदनमा सांसदहरुलाई प्रश्न गर्नसमेत दिइएन ।

उनले थपे, ‘हामी सबैले मिलेर बनाएको प्रतिनिधिसभा नियामावली–२०७५ को नियम २१९ उपनियम (१) बमोजिम प्रधानमन्त्रीले बोल्नुभएको हो । नियम २१९ को उपनियम (२) बमोजिम प्रधानमन्त्रीको वक्तव्यमा आधारित भएर प्रश्न सोध्न पाउने व्यवस्था छ । हिजो प्रश्न सोध्न दिइएन ।’

उनले सरकार संसदप्रति जवाफदेही हुनुपर्ने बताउँदै दुई तिहाई भन्दैमा भन्दैमा संविधानको विरुद्धमा गएर काम नहुने उल्लेख गरे । उनले हिजो संसद जुन प्रक्रियामा पुगेर स्थगित भएको हो अब पर्सी बस्ने बैठक त्यही प्रक्रियाबाट अघि बढ्नुपर्ने बताए । उनले भने, ‘सरकारले जवाफ दिनुपर्छ । २५ गतेको संसद चल्छ ।’ सरकार जवाफ दिनबाट भागेको पनि उनले आरोप लगाए । सांसद बडुले संसद्लाई सरकारले खल्तीमा लिएर हिँडेको जस्तो व्यवहार गरेको उल्लेख गरे

उनले अघि भने, ‘२५ गतेको बैठकमा प्रधानमन्त्री तयार भएर जवाफ दिन आउनुपर्छ । हाम्रो स्ट्याण्ड कायमै छ । सार्वभौम अधिकारसम्पन्न संसदको अधिकारमाथि सरकारले प्रहार गरेको छ ।’