‘बिपन्नले पनि गुणस्तरीय र निशूल्क सेवा पाउन्’ : मन्त्री अर्याल

Padma aryal
लाेकपाटी न्यूज

काठमाडौं, २३ पुस । नेपाल आँखा अस्पतालमा आधुनिक प्रविधिसहितको ओपिडी हल निर्माण भएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सोमबार नेपाल आँखा अस्पतालमा आधुनिक प्रविधिसहितको ओपिडि हलको उद्घाटन गरेकी हुन् । उनले आफू स्वास्थ्य राज्यमन्त्री भएको बेला छड्के अनुगमन गर्दा अस्पतालमा केही कमी कमजोरी देखेकोमा हाल त्यसमा सुधार भएको बताइन् ।

मन्त्री अर्यालले नेपाल आँखा अस्पतालले मात्र नभई अन्य अस्पतालले पनि दुरदराजका जनतालाई उच्चस्तीय सेवा दिनुपर्ने आवश्यकता औल्याइन् । ‘आर्थिक अवस्था कमजोर भएका बिरामीलाई पनि निशूल्क र गुणस्तरीय सेवा दिन सक्नुपर्छ’ अर्यालले भनिन् ।

निरीक्षणपछि मन्त्री अर्यालले आँखा परीक्षण पनि गराएकी थिइन् । सो अवसरमा अस्पताल प्रशासनले खर्च अभावमा कोही पनि आँखाका बिरामी बिना उपचार घर फर्किनु नपर्ने बताउँदै विपन्न बिरामीलाई निःशुल्क उपचार व्यवस्था गरिएको जानकारी दिएको थियो ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमन घलेले अस्पतालले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार सेवा दिइरहेको बताए । अस्पतालका अध्यक्ष विश्वकान्त मैनालीले आँखाको पर्दा सम्बन्धि शल्यक्रिया, कन्ट्याक्ट लेन्स सेवा, जलविन्दु, मोतिविन्दु सल्यक्रियालगायत आधुनिक प्रविधिसहित स्वास्थ्य सेवा प्रदान गरिएको बताए ।