अनमोलले तोडे ‘ब्याच्लर बन्टी’को सम्झौता

anamol-kc
लाेकपाटी न्यूज

काठमाडौं, पौष । युवा पुस्तामाझ निकै लोकप्रिय नायक अनमोल केसीले चलचित्र ‘ब्याच्लर बन्टी’ नगर्ने भएका छन् । मिलन चाम्सले निर्देशन गर्ने चलचित्र ‘ब्याच्लर बन्टी’का लागि अनमोलले ४५ लाख पारिश्रमिक लिएका थिए ।

अनमोलले ४० लाख पारिश्रमिक लिएको कुराले नेपाली सिने जगतमा ठूलै चर्चा पाएको थियो । निर्माण टिमले चलचित्रको प्रदर्शन मितिसमेत घोषणा गरिसकेको थियो । केही दिन अघि मात्र चलचित्रका निर्माताहरुमध्येका एक सुदिप खड्काले सामाजिक सञ्जालमार्फत् अर्को वर्षको भदौ १३ गतेलाई प्रदर्शन मिति घोषणा गरेका थिए ।

तर, हालै मात्र आएर अनमोलले ‘ब्याच्लर बन्टी’ छोडेको बताएका छन् । अनमोलले निर्माण टिमसँग चलचित्र साइन गरिसकेका थिए भने चलचित्रको स्क्रिप्ट पनि प्राप्त गरिसकेका थिए । यतिसम्म कि उनले चलचित्रका लागि उनले १० लाख रुपैया साईनिङ अमाउन्ट समेत लिइसकेका थिए ।

चलचित्रमा उनले काम गर्ने भन्दै सबै प्रक्रिया पूरा भइसकेको अवस्थामा फाइनल ड्राफ्टमा तयार भएको भूमिकामा आफूलाई ढाल्न नसक्ने भन्दै उनले चलचित्रबाट हात झिकेका हुन् ।

यही कुरालाई अनमोलले फिल्म छोड्नुको कारण बताए पनि फिल्मको छोड्नुको कारण यतिमा मात्रै भने सीमित छैन । अनमोल निर्माण टिमले आफूसँग सल्लाह नै नगरी अभिनेत्री छनोट गरेका कारण खुशी थिएनन् । उनले फिल्म छोड्नु पछाडिको कारण यो पनि हुनसक्ने बताइएको छ ।

यस्तै अनमोलले फिल्मको स्क्रिप्ट चेन्ज गर्न निर्माता सुदिप खड्कालाई अनुरोध गरे पनि चेन्ज नभएको कारण उनी असन्तुष्ट रहेका थिए । अनमोलले स्क्रिप्ट चेन्ज गर्न गरेको आग्रह निर्माता खड्काले निर्देशक मिलन चाम्स र लेखक प्रदीप भारद्धाजलाई सुनाएका थिए ।

तर, दुवै जनाले अनमोलको आग्रह अस्वीकार गरेका थिए । अनमोलले यसअघि पनि चाम्सको निर्देशनमा बनेको चलचित्र ‘लिलिबिली’बाट हात झिकेका थिए ।