कहिले खुल्छ नेपाली कामदारलाई मलेसिया ?

Malesiya-Minister-1
लाेकपाटी न्यूज

काठमाडौं, २४ पुस । नेपाली कामदारका लागि मलेसियाको रोजगारी खुल्न अझैँ २ महिना लाग्ने भएको छ । मलेसियाले नेपाली कामदार आपूर्तिको समस्या समाधान हुन दुई महिना समय लाग्ने बताएको हो ।

विदेशी कामदार आपूर्तिबारे तयार गर्न लागिएको नयाँ प्रतिवेदन नआएसम्म नेपाली कामदार आपूर्ति गर्न नसकिने भएको छ ।

विदेशी कामदार लिने सम्बन्धी नीति तय गर्न मलेसिया सरकारले गठन गरेको कार्यदलले अहिले काम गरिरहेको र सो प्रतिवेदन आएपछि नेपाली कामदार आपूर्ति सुरु हुने मानव संशाधन राज्यमन्त्री महफुज ओमारले बताएका छन् ।

उनले सो प्रतिवेदन छलफलकै चरणमा रहेको भन्दै वैदेशिक कामदार र सम्बन्धी नीति सोही कार्यदलको सुझाव अनुसार तय हुने बताए । उनले कामदार अभावको समस्या सुल्झिनेमा आफुहरु विश्वस्त रहेको समेत बताए ।
गत जेठदेखि नेपालबाट मलेसियमा कामदार आपूर्ति बन्द भएको छ । मलेसियासँग श्रम समझदारी भएपनि त्यसअुसार कामदार लैजाने प्रक्रियाबारे सहमति जुटेको छैन । मलेसियाले पुरानै संयन्त्रमार्फत कामदार लैजान अनुरोध गरेपनि नेपाल सरकारले त्यसलाई अस्वीकार गरको थियो ।

कामदारमाथि बिचौलिया संयनन्त्र खडा गरेरेर ठगी गर्ने कम्पनीविरुद्ध अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा रहेकाले सोही अनुरुप कामदार मलेसिया पठाउन नसकिने श्रम मन्त्रालयले जनाएको छ ।