अनसन बस्न ठाउँ खोज्दै डा. केसी

Govinda KC
लाेकपाटी न्यूज

काठमाडौं, २५ पुस । चिकित्सा क्षेत्रमा व्यापक सुधारको माग गरिरहेका डा. गोविन्द केसीले अनसन बस्ने तयारी थाल्दा बुधबार संसदको शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक–२०७५ बहुमतले पारित गरेको छ ।

यससँगै सरकारले यसअघि डा. केसीसँग गरेका सहमति तोडिएको छ । उनले यसअघि आफू पुस २५ गते अनसन बस्ने चेतावनी दिएका थिए । अनसनका लागि डा. केसी इलाम पुगिसकेका छन् ।

स्रोतका अनुसार आज दिउँसो ४ बजेसम्ममा डा. केसी अनसन बस्नेछन् । अनसन कहाँ बस्ने भन्ने टुङ्गो लागिसकेको छैन । उनले अहिले ठाउँ खोजिरहेको स्रोतले बतायो ।

आज बहुमतले पारित भएको विधेयकको पक्षमा १४ सांसदले मत दिएका थिए । त्यस्तै विपक्षमा ४ सांसदले मत दिएका थिए । गगन थापा, मानबहादुर विक, उमाकान्त चौधरी, मान बहादुर विक र नमिता चौधरीको फरक मत देखिएको थियो ।

यसअघि सोमबार बसेको संसद्को शिक्षा तथा स्वास्थ्य उपसमिति बैठकमा सोमबार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिवेदनमाथि छलफल भएको थियो । छलफलमा नेकपाका सांसदहरूले डा. गोविन्द केसीसँग भएका सम्झौता सबै समेट्न नसकिने बताएका थिए ।