ट्रम्पको अडान- पर्खाल लगाउन नपाए बजेट पारित हुँदैन

Donald Trump
लाेकपाटी न्यूज

वासिङ्टन, २५ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा पर्खाल लगाउने बताइरहँदा संसदले भने त्यसका लागि माग गरिएको बजेट पारित गरने । राष्ट्रपति ट्रम्पले पर्खाल लगाउन ६ अर्ब अमेरिकी डलर माग गरेका थिए । उनले पर्खाल लगाउनका लागि माग गरिएको बजेट उपलब्ध नभए बजेट नै पारित नगर्ने अडान लिएका छन् ।

ट्रम्पले यसबारे आफ्नो धारणा राख्न राष्ट्रका नाममा सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले दक्षिणी सीमाबाट अमेरिका प्रवेश गर्ने आप्रवासीका कारण अमेरिकी समाजमा विकृति र विसंगति निम्तिएको, हत्याहिंसा बढेको, लागूऔषध भित्रिएको, अमेरिकी नागरिकको रोजगारी खोसिएको लगायतका समस्या देखिएको बताएका छन् ।

राष्ट्रपति ट्रम्पले मङ्गलबार राष्ट्रपतिको कार्यालय ओभल अफिसबाट देशवासीको नाममा दिएको सम्बोधनमा भने, ‘यो सङ्कट हृदयको अनुभव हो, त्यसैले समाधानका लागि उचित उपायको विकल्प छैन, यो सबैको सङ्कट हो ।’

विगतको तुलनामा केही नरम देखिएका राष्ट्रपति ट्रम्पले भने, ‘मैले संसदका नेताहरुलाई छलफलका लागि भोलि नै ह्वाइट हाउसमा आमन्त्रण गरेको छु । आशा गर्दछु, राष्ट्रिय सुरक्षाका सन्दर्भमा हामी राजनीतिक स्वार्थभन्दा माथि उठ्न सक्षम हुनेछौं । यो परिस्थितिको अन्त्य ४५ मिनेटको छलफलबाटै हुन सक्दछ ।’

मेक्सिकोसँगको सीमामा पर्खाल लगाउनु नै उत्तम हुने कुरामा जोड दिँदै राष्ट्रपति ट्रम्पले यस पर्खालको निर्माणबाट मात्रै अमेरिकी सीमाको सुरक्षा हुने दाबी गरे । उनले मेक्सिकोको सीमानामा पर्खाल लगाउनुपर्नेमा पटकपटक जोड दिएका थिए ।