घरबेटी भर्सेस भाडावाला

Kathmandu01
लाेकपाटी न्यूज

काठमाडौं । काठमाडौंमा लगभग तीन लाख घर छन् । काठमाडौंमा यति नै घर छन् भन्ने एकिन तथ्याङ्क नभएका कारण यो अनुमान मात्र हो । काठमाडौंमा ७७ जिल्लाका मानिसहरु अटेका छन् । यहाँ चिकित्सक, पाइलट, शिक्षक, पत्रकार, इञ्जिनियरलगायतका प्राय: सबै क्षेत्रका मानिसको बसोबास छ । देशको केन्द्रीय राजधानी भएका कारण पछिल्लो समय अध्ययनदेखि जागिर र अन्य सेवा सुविधाका लागि मानिसहरु काठमाडौंमा होमिएका छन् ।

काठमाडौं बसेका सबै मानिसका घर यही खाल्डोमा छैन । तीन लाख घरमध्ये २ लाख पचास हजारभन्दा बढी घर आंशिक रुपमा भाडामा लागेका छन् । यहाँको प्रचलनअनुसार घरबेटी सबैभन्दा माथिल्लो तलामा बस्छन् ।

काठमाडौंको कोठामा बस्ने संख्या विद्यार्थीको बढी छ । घरबेटीले पनि भाडामा बस्रेलाई विभिन्न एंगलबाट हेर्छन् । र, व्यवहार गर्छन् । अफिसमा काम गर्ने डेरावाललाई हेर्ने दृष्टिकोण विद्यार्थीसँग मिल्दैन । विद्यार्थीलाई बढी हेप्न खोज्छन् भने अलिक ठूला ओहोदाका डेरावालसँग डराउँछन् पनि ।

केही समयअघि म बानेश्वरको एउटा साथीको कोठामा राति बस्ने गरी जान खोजेँ । अफिसको काम सकेर ९ बजे त्यहाँ पुग्दा उनीहरुको मेन गेट लागिसकेको थियो । अनेक बहाना गरेर ढोका खोल्न लगाइयो । ढोकाबाट भित्र छिर्दा मैले घरबेटीलाई नियालेँ । मेरो आँखा र उनको आँखा ठोक्कियो । उनले मलाई यसरी हेरे कि मानौं म उनको छोरी अपहरण गर्न आएको छु ।

९ बजे गेट लाउने उनीहरुको दैनिकी हो । घरको सुरक्षा गर्नु घरबेटीको कर्तव्य हो । यसमा दुईमत छैन । तर, यदि कोठामा बस्ने मानिसहरुलाई आपत आइलाग्यो भने लगातार फोन गरेर घरबेटीलाई बोलाउने ? घरबेटी आएर ढोका खोलिसक्दा कुनै अप्रिय घटना घट्यो भने त्यसको जिम्मेवार को ? गल्ती-कोठामा बस्ने मानिसहरुलाई साँचो नदिनु । कोठामा बस्नेहरुको विश्वास नलाग्नु । विश्वास नलाग्नेलाई कोठा भाडामा किन दिए त्यो सोध्न मन थियो । सकिनँ ।

अर्को घटना, दुई तीन महिनाअघि । कम्बाइन्ड स्टडी गर्न साथीकोमा म पुगेँ । भूलबश चप्पल बाहिरै छोडेँ मैले । साथीले भित्र लान बिर्सेछ । कोही साथी आएर चप्पल खोल्ने बितिक्कै हत्त न पत्त चप्पल भित्र लुकाउनु उसको पहिलो काम हुन्थ्यो । अनि मात्र चिया र गफ । एक्कासी लगभग ५० वर्षकी एक महिलाले कोठा ढक्ढकाइन् ।

‘बाबु एकपटक ढोका खोल त’

उसले जुरुक्क उठेर ढोका खोल्यो ।

‘तिमीलाई बस्ने बेलामा पाहुना ल्याउन पाइँदैन भनेको होइन मैले । यसरी त भएन नि । म अन्तिम पटक भनिरहेको छु । अब यस्तो गरेको मैले देख्न नपरोस् ।’

मैले बेक्कारमा उसलाई गाली खुवाएँ । आफैंसँग लाज लाग्यो ।

उ चुप बस्यो तर बुढी फनफनाउँदै उकालो चढिन् ।

‘कैदीलाई जेलमा सुख छ । त्यति गाह्रो छ मलाई यहाँ बस्न,’ उसले बिलौना गर्यो ।

डेरावालले सोच्छन्- मैले यो कोठा हरेक महिना पैसा तिरेर किनेको छु ।
घरबेटी सोच्छन्- घर नभएर मेरोमा शरण लिएको हो यसले ।

यस्तै धारणा छ धेरैजसोमा । सबै घरबेटी उस्तै पनि हुँदैनन् । र, सबै डेरावाल उस्तै पनि हुँदैनन् ।

अर्को कुरा एउटै घरमा लामो समयसम्म बसेकाहरुलाई घरबेटीले दुई तरिकाले हेर्ने रहेछन् ।

एक यिनीहरु इमान्दार छन् । यत्तिका वर्ष भयो यो घरमा बसेका । यो घर छोडेर जाँदैनन् ।

दुई यिनीहरुले अन्त कतै कोठा पाएका छैनन् । र, हत्तपत्त पाउँदैनन् । त्यसैले लामो समयदेखि यहीँ बसिराछन् ।

घरबेटी र कोठामा बस्नेको सम्बन्ध परिवारको जस्तो हुनुपर्छ । दुवैतर्फबाट आपसी सहयोग हुनुपर्छ । एकले अर्काको दुखमा साथ दिने र सुखमा रमाउने अवस्था बनाउनुपर्छ । यस्तो माहोल कतैकतै मात्र देख्न र सुन्न पाइन्छ । अधिकांशका घरबेटी उत्तर कोरियाली शासक किम जोङ जस्तै छन् । मैले धेरै त्यस्तै सुनेको छु । उनीहरुले जे निर्देशन दिन्छन् त्यो मान्नैपर्छ । लाग्छ घरबेटी घरबेटी होइनन् शासक हुन् ।

मैले चिनेका एक जनाले नयाँ घर बनाए । उनी माथि एक तलामा बस्ने भए । अरु सबै भाडामा लाउने उनको तयारी । दुई फ्ल्याट भाडामा गयो । बाँकी रह्यो एउटा । त्यसमा पनि अन्त बुक भएको केही दिनमै आए । उनीहरुले दिउँसो सामान ल्याएछन् । टोलका मान्छेहरुले सामान ल्याएको देखेका थिए ।

उनीहरु आएको भोलिपल्ट टोलका केही मानिसहरुले गाइँगुइँ गरिरहेका थिए । कारण- फ्ल्याटमा उनीहरुले सामान धेरै ल्याएनन् । यसमा उनीहरुको धारणा-सामानै छैन तिनीहरुको कोठामा के भाडा त तिर्लान् ?

सामान र भाडाको अन्तरसम्बन्ध हुन्न । कोही मानिस साधारण रुपमा कुनै तडकभडक नगरी जिउन चाहन्छन् । यस्तो कुरा काठमाडौंका घरबेटीहरुले कहिले बुझ्ने ?

खानेपानी र सरसफाइमा किचकिच गर्ने त घरबेटीको पुरानै रोग हो । घरबेटीहरुले आफूले राम्रो लगाउने राम्रो खाने सफासुग्गर गर्ने तर भाडामा बस्नेहरु फोहोरी हुन्छन् राम्रो खाँदैनन् । लाउँदैनन् । भन्ने सोच्छन् । त्यो गलत हो । सबैलाई आफ्नो स्वास्थ्य र वातावरणको चिन्ता हुन्छ । यस्ता विषयमा घरबेटीले किचकिच नगर्दा दुई पक्षको सम्बन्ध राम्रो हुने थियो कि ।

दुई वर्षअघि मैले बालाजुको आकाशेपुल मुनि एउटा बोर्ड देखेको थिएँ ‘डेरावाल हकहित संघ’ । नाममा म ढुक्क छैन । तर, यस्तै केही थियो । त्यो बोर्ड देख्दा मैले खित्कै छोडेर हाँसेको थिएँ । माइक्रोमा बसेका मानिसहरु म हाँसेको देखेर सबै मतर्फ फर्किएर हेरेका थिए । त्यतिबेला मलाई लागेको थियो- मानिसहरु काम पाउँदैनन् एकएक वटा संघ खोल्छन् । र, नेता बन्छन् ।

त्यो संघले डेरावालको हकहितको काम गर्‍यो या गरेन । गर्छ/गर्दैन । त्यो अर्कै पाटो । तर, बोर्ड देख्दा मैले काठमाडौं बुझेको रहेनछु । बोर्ड झुण्ड्याउनेले बुझेको रहेछ ।

के काठमाडौंमा डेरावालहरुको अधिकारका लागि संघ खुल्नु आवश्यक हो त ? के घरबेटीले डेरावाललाई हेर्ने नजर नफेरिएकै हो त ? यस्ता कुरामा सरकारलाई के गुहार्नु । त्यो आफैंमा लज्जाको विषय हो ।

घरबेटीमा पनि मानवता भरिएको हेर्न चाहन्छन् डेरावाल ।

नोट : सबै घरबेटी उस्तै हुँदैनन् ।